काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार तुलबहादुर श्रेष्ठसहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ ।
अख्तियारले रजिष्ट्रार श्रेष्ठसहित आर्थिक प्रशासन प्रमुख रुपा सिंघाची अग्रवाल, सिनियर कलर्कद्वय चन्द कुमार मगर र रमेश कुमार खतिवडाविरुद्ध ५ लाख ५० हजार रुपैयाँ बिगो दाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
अख्तियारले गरेको छानबिनका क्रममा रजिष्ट्रार श्रेष्ठसहित आर्थिक प्रशासन प्रमुख रुपा सिंघाची अग्रवाल, सिनियर कलर्कद्वय चन्द कुमार मगर र रमेश कुमार खतिवडाले बिना कुनै बिल र भर्पाइ लिइ जीबन पौडेलको नाममा चेक जारी गरी ५ लाख ५० हजार रुपैयाँ बराबरको सरकारी रकम हिनामिना गरेको देखिएको छ ।
अख्तियारले चारै जनाविरुद्ध ५ लाख ५० हजार रुपैयाँ बिगो कायम गरी बिगो अनुसार जरिवाना र २ वर्ष ६ महिनासम्म कैद सजाय मागदाबी गरेको छ ।