बाबुराम भट्टराई पनि त यो पार्टीमा मेहेनत गरेको, पार्टी बनाउन जिन्दगी हालेको मान्छे हो नि त । अनि उहाँको कुरा यो पार्टीमा किन सुनुवाई नहुने ? यो पार्टी बनाउन हामीले बीसौँ, तीसौँ वर्ष खर्चेका छौँ । अनि हामीले भनेको कुरा पनि त सुन्नुपर्यो ।
विवाद सल्टाउन भनेर आयोजना भएको एमाओवादी राष्ट्रिय सम्मेलन झन् विवाद चुल्याएर सकियो । केन्द्रीय समिति चयनको विषयमा मतभेद भएपनि नेता डा. बाबुराम भट्टराई पक्षले आफ्नो पक्षका कोही पनि केन्द्रीय समितिमा राखेन । अब के होला एमाओवादीमा ? भट्टराई पक्षीय नेता देवेन्द्र पौडेल सुनिलसँग गरिएको कुराकानी ।
राष्ट्रिय सम्मेलन सुरु हुनु भन्दा एक दिन अगाडिको कुराकानीमा तपाइँले ‘राष्ट्रिय सम्मेलन’बाट विवादहरु सल्टिन्छन् र पार्टी एक ढिक्का हुन्छ भन्नु भएको थियो । तर त्यसो भएन नि ?
हाम्रो चाहना त्यो थियो । त्यस्तै हुन्छ भन्ने सोचेको थिएँ र बोलेको हुँ । हामीले अन्तिमसम्म पनि एउटा उत्साहसहित यो सम्मेलन सकौँ भन्ने प्रयत्न गर्यौँ । सहमति कायम गरेर, सबै पक्षलाई समेटेर, पुराना साथीहरुको टिम बनाएर जाउँ भन्ने प्रयत्न गर्यौँ । तर अर्कै भयो ।
किन सल्टिएन विवाद ?
संस्थागत रुपमा काम गर्न चाहिएन । खासगरी नेतृत्वका कतिपय साथीहरुले पार्टीलाई बनाउने गरी सोच्नुभन्दा पनि आफ्नो पकडमा अनुकुलका मान्छे मात्रै राख्ने र उनीहरुको प्रभावमा पार्टीलाई राख्ने गलत प्रकारको सोचका कारणले विवाद सल्टिएन ।
भन्न खोजेको नयाँ केन्द्रीय समितिमा रहेका व्यक्तिहरु पार्टीका नभई गुटका हुन् ?
हो । धेरैजसो पार्टीका भन्दा पनि गुटका हुन् ।
तपाइँहरुको विमति कहाँनेर ? कसलाई राखेर चित्त दुखाई भो तपाइँहरुको ?
हाम्रो मुख्य चासो भनेको पार्टीलाई गुटले होइन संस्थागत रुपमा चलाउनुपर्छ भन्ने हो । पार्टी कसैको पेवा बनाउनुहुन्न । यो वर्गको पार्टी हो । दुःख, मेहेनत गरेका सबैले अपनत्व महसुस गर्ने गरी पार्टीलाई अगाडि बढाउन सक्नुपर्छ । त्यो हुन सकेन ।
केन्द्रीय समितिमै बसेर संघर्ष गरेको भए हुँदैनथ्यो । बाबुराम भट्टराई, तपाइँ लगायतले किन बस्न अस्वीकार गर्नुभएको ?
हाम्रा थुप्रै साथीहरुलाई छोडियो । संस्थागत निर्णय गर्नुको सट्टा यहि मान्ने भए मान नत्र हुँदैन भनेपछि हामीले विभिन्न विकल्प राख्यौँ । तै पनि कुनै विकल्प मानिएन । त्यसपछि हामीले बस्न उपयुक्त ठानेनौँ ।
अब कसरी अगाडि बढ्नुहुन्छ ?
केन्द्रीय समितिले कसरी सम्बोधन गर्छ हेरौँ । हाम्रो मात्र कुरा होइन । नेकपा–माओवादी, नेकपा एमालेसँग पनि कतिपय प्रसङ्गमा एकताको कुरा त्यहाँ उठाइएको छ । आफ्नै भित्रकालाई नसमेटिकन बाहिर एकता कसरी हुन्छ ? त्यसकारण, अब नयाँ केन्द्रीय समितिले कसरी कार्यसम्पादन गर्छ, त्यसमा हाम्रो सहभागिताको कुरा निर्भर गर्छ ।
केन्द्रीय समितिमा जाने सम्भावना छ ?
सम्भावना छ । केन्द्रीय समितिमा बस्दै नबस्ने हामीले भनेका होइनौँ । उहाँहरुले आवश्यकता बोध गर्नुभयो । यिनीहरुको पनि इतिहासमा भूमिका थियो । भविष्यमा पनि आवश्यकता पर्छ भन्ने बोध गरेर छुटेका साथीहरुलाई समेट्ने गरी सबै मिलेर पार्टी बनाउँ भन्ने परिपक्क सोचसहित अपिल गर्नुभयो भने पुर्नविचार गर्न सकिन्छ ।
तपाइँहरुले भनेजस्तो भएन भने ?
भएन भने त देश र जनताको लागि काम गर्ने थुप्रै बाटाहरु छन् । हामीले मात्र क्रान्ति गर्छौँ, हामीले मात्र समाजवाद ल्याउँछौँ भनेर साथीहरुले सोच्नुभयो भने थुप्रैबाटाहरु छन् ।
केन्द्रीय समितिमा कसलाई राख्नुपथ्र्यो ? कसलाई राख्नु हुँदैनथ्यो ?
यो उ भन्ने सहायक कुरा हो । संस्थागत रुपमा कार्यालयबाट निर्णय भएर अगाडि बढोस् भन्ने हाम्रो चाहना हो । उहाँहरुले कसैसँग सल्लाह नगरी बनाउनुभयो । अनि यहि मान भन्दा कुरा नमिलेको हो ।
तपाइँहरुलाई थाहा थिएन नामावली क–कसको छ ?
मलाई त के । बाबुराम (भट्टराई)जीलाई पनि थाहा नभएको बुझिन्छ ।
पछिल्ला केही वर्षहरुमा सरकारमा को जाने ?, पार्टीका र संविधानसभाका विभिन्न समितिमा को बस्ने ?, जस्ता पदीय कुराहरुमा निक्कै किचलो हुन गरेको छ नि ?
योगदानको सही मुल्याङकन हुनुपर्यो भन्नेमा हाम्रो जोड हो ।
अनि अहिले बाबुराम भट्टराई पक्षका डेढ दर्जन व्यक्तिले केन्द्रीय समितिमा बस्नै मानेनन् । भट्टराई त ‘पदत्याग’ भन्दै पद भन्दा काम ठूलो हो भन्ने मान्छे हुन् । अनि किन पद नपाउँदा यस्तो बबण्डर ?
बाबुराम भट्टराई पनि त यो पार्टीमा मेहेनत गरेको, पार्टी बनाउन जिन्दगी हालेको मान्छे हो नि त । अनि उहाँको कुरा यो पार्टीमा किन सुनुवाई नहुने ? यो पार्टी बनाउन हामीले बीसौँ, तीसौँ वर्ष खर्चेका छौँ । अनि हामीले भनेको कुरा पनि त सुन्नुपर्यो । कार्ल माक्सले स्वर्गबाट पठाएका मान्छे त कोही होइनन् । यो धर्तीमा, यहिँ वर्ग संघर्षमा थुप्रै उकाली ओरालीमा सहभागी भएर आएका साथीहरुमो साझा पार्टी हुनुको नाताले हाम्रा पनि त कुरा सुन्नुपर्यो ।
‘जनयुद्ध’को बेला पार्टी नेतृत्व कडा थियो ? एकात्मक थियो भन्ने कुरा गर्नुहुन्थ्यो । अहिले पनि त्यस्तै भएको हो ?
जनयुद्ध भन्दा पनि अल्ली फरक प्रकारको भयो । जनयुद्धमा पनि कहिले कारवाही हुँदा, कहिले निकालिँदा यहि पार्टी भनेर हामी बसेका हौँ । अहिले पनि त्यस्तै व्यवहार गर्न खोज्नु सही कुरा थिएन ।
एमाओवादीभित्र आन्तरिक लोकतन्त्र नै हराएको हो ?
पार्टी भित्रको लोकतन्त्र भनेको हामीले एउटै वर्गको, एउटै लक्ष्य, एउटै उद्देश्यको निम्ती लाग्ने व्यक्तिहरुको मैत्रीपूर्ण प्रतिस्पर्धाको रुपमा बुझ्छौँ । पार्टीमित्र बुर्जुवा लोकतन्त्र लागु गर्न सकिँदैन । मैत्रीपूर्ण लोकतन्त्र लागु गर्ने सन्दर्भमा एकले अर्कोलाई सम्मान गर्ने, भिन्न मतको पनि कदर गर्ने र पार्टीको आधिकारिक निर्णयलाई लागु गर्ने प्रणालीको रुपमा पार्टीको विकास हुनुपर्दथ्यो । त्यो नभएको महसुस हामीले गरेका छौँ ।
वर्षौँदेखि प्रचण्ड नेतृत्वमै छन् । त्यसैले तपाइँहरु हच्किनुभएको हो कि कसो ?
हामीले कोही समान्तर नेताको रुमा अरुलाई उभ्याएका छैनौँ । बाबुरामजीले जहिले पनि ‘नेताको पनि नेता’ भनेर उहाँलाई भन्दै आउनुभएको छ । सामूहिक नेतृत्वको टिम बनाएर नयाँ सार्थीहरुलाई पनि समेट्ने वातावरण बनाउनुपर्छ भन्ने कुरा अध्यक्षले सोच्नुपर्छ ।