जीएमआरसँग पीडीएमा हस्ताक्षर

111
  •  
  •  
  •  

काठमाडौं ३ असोज (ओएनएस) :  माथिल्लो कर्णाली जलविद्युत आयोजनाको प्रवद्र्वक कम्पनी जीएमआरसँग शुक्रवार आयोजना विकास सम्झौता (पीडीए) भएको छ । शुक्रवार सिंहदरबारमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री सुशील कोइराला र भारतीय गृह मन्त्री राजनाथ सिंहको उपस्थितिमा पीडीएमा हस्ताक्षर भएको हो ।पीडीएमा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत राधेश पन्त र जीएमआरका ऊर्जा अध्यक्ष आरबी शेसनले हस्तक्षर गरे ।

हस्ताक्षर पश्चात उपप्रधामन्त्री तथा गृहमन्त्री बामदेव गौतमले माथिल्लो कर्णाली परियोजना बन्दा मुलुकको समग्र आर्थिक विकासमा योगदान पुग्ने बताए । त्यस्तै भारतीय गृहमन्त्री राजनाथ सिंहले जीएमआरले पीडीएमा तोकेको समयमा काम सम्पन्न गर्नेमा आफु विश्वस्त रहेको बताए । ‘यसमा भारतको पनि विश्वसनियताको सवाल जोडिएको छ’ उनले भने ।

पीडीएमा उल्लेख भएअनुसार आगामी २ वर्षभित्रैमा जीएमआरले माथिल्लो कर्णालीका लागि लगानी जुटाउनुपर्ने छ । परियोजनामा जीएमआरले २५ प्रतिशत लगानी गर्ने छ भने बाँकी लगानी विभिन्न अन्तरराष्ट्रिय वित्तीय संस्थाबाट जुटाउने जीएमआरका ऊर्जा अध्यक्ष शेसनले जानकारी दिए । लगानी जुटाएको ५ वर्षभित्र परियोजना सम्पन्न गर्नुपर्ने शर्त पीडीएमा छ । त्यसअनुसार आगामी सन् २०२१ सम्ममा परियोजना सम्पन्न हुनेछ ।

जीएमआरले विद्युत आयोजनाको अतिरिक्त १ सय किलोमिटर प्रसारण लाइन पनि निर्माण गर्ने छ । साथै कम्पनीले उत्पादन गरेको विजुली भारतलाई बेच्न पाउने छ । परियोजना सञ्चालन भएको २५ बर्ष पछी कम्पनीले नेपाललाई परियोजना हस्तान्तरण गर्नुपर्ने छ ।

२ बर्षको निरन्तर छलफलपछि लगानी बोर्डले माथिल्लो कर्णाली जलविद्युत आयोजनाको परियोजना विकास सम्झौताको मस्यौदा बुधवार तयार गरेको थियो ।


  •  
  •  
  •