ह्युमन राइट्स वाचले भन्यो, ‘मोतीपुर घटनाको स्वतन्त्र अनुसन्धान गर’

96
  •  
  •  
  •  

काठमाडौं । ह्युमन राइट्स वाचले रुपन्देहीको मोतीपुरस्थित औद्योगिक क्षेत्रमा प्रहरीको गोलीबाट चार जनाको मृत्यु तथा दर्जनौं घाइते भएको घटनाको स्वतन्त्र रुपमा अनुसन्धान गर्न नेपाल सरकारलाई आग्रह गरेको छ।
वाचको न्यूयोर्कस्थित मुख्यालयले सोमबार एक विज्ञप्ति जारी गर्दै भूमिहीनमाथी प्रहरीले अत्यधिक बल प्रयोग गर्दा घटना भएको भन्ने आरोपको निष्पक्ष छानबिन माग गरेको हो ।
त्यसैगरी नेपालगंजकी महिला अधिकारकर्मी रुवी खानलाई बहुविवाहको आरोप लगाएर माइतीघरस्थित धर्नास्थलबाट नियन्त्रणमा लिएर पछी रिहा गरिएको घटनाको समेत वाचले बिरोध गरेको छ। रुवीलाई हिरासतमा लिंदा आन्दोलन छोड्न दबाब दिंदै प्रहरीले बार्गेनिङको प्रयास गरेको रुवीले वाचलाई बताएको विज्ञप्तिमा भनिएको छ ।
२०७२ मा नेपालमा नयाँ संबिधान जारी हुँदै गर्दा मधेशी आन्दोलनकारीमाथी भएको प्रहरी दमनको बिरोध गर्दै वाचले ति घटनामा जिम्मेवार प्रहरी अधिकारीमाथी कुनै कार्वाही नगरिएको उल्लेख गरेको छ। साथै मधेश आन्दोलनमा प्रहरीले गरेका ज्यादतीमाथी भएका अनुसन्धानको सत्यतथ्य बाहिर नल्याइएको समेत विज्ञप्तिमा स्मरण गराइएको छ। गतबर्ष रौतहटका बिजय महराको प्रहरी हिरासतमा मृत्यु भएको प्रकरणमा दोषी प्रहरी अधिकारीमाथी कार्वाही नभएको प्रसंग पनि वाचले उल्लेख गरेको छ।


  •  
  •  
  •