गरिबीसँग पराजित भयो मातृत्व

359
  •  
  •  
  •  

काठमाडौं १३ माघ ।
जस्तै अप्ठ्यारो र संकटमा पनि सन्तानप्रति आमाको प्रेम कम हुँदैन। सन्तानलाई अलिकतिमात्र घाउचोट लाग्यो भने आमाको मुटु काटिन्छ। आफ्नो मुटुभन्दा बढी प्रेम हुन्छ एउटी आमाको सन्तानसँग। त्यस्ती आमाले गरिबीको पीडामा आफ्नै सन्तानको हत्या गर्लिन् भन्ने सोच्न सम्‍म सकिँदैन।
सप्तरीका केही घटनामा गरिबीसँग मातृत्व पराजित भएको छ।  गरिबीकै कारण सप्तरीमा एक महिलाले तीन सन्तानको हत्या गरेको घटना पुरानो नहुँदै शनिबार अर्की एक महिलाले छोरीको हत्या प्रयास गरेकी छन्। आर्थिक रूपमा निकै कमजोर राजविराज-१० की २३ वर्षीया गीतादेवी रजकले पालनपोषण गर्न नसक्ने भएपछि पाँच दिनकी छोरीलाई शनिबार बिहान ६ बजे नहरको डिलमा फालेकी थिइन्।

पाँच वर्षीया र दुई वर्षीया छोरीकी आमा गीताले गत मंगलबार राजविराजस्थित अञ्चल अस्पतालमा फेरि छोरी जन्माएकी थिइन्। उनले तीनै नवजात शिशुलाई नहरको डिलमा फालेकी थिइन्।
स्थानीयवासीको सूचनाका आधारमा प्रहरीले शिशुको उद्धार गरी चार घन्टाभित्रै गीतालाई नियन्त्रणमा लियो। शिशुसहित अस्पताल भर्ना भएकी उनले गरिबीले खान पनि धौधौ भएपछि नवजात छोरीलाई नहरको डिलमा फाल्न बाध्य भएको बताएकी छन्।
घरजग्गा नभएको गीताको परिवार सप्तरीको बनौलाबाट पाँच वर्षअघि राजविराज बसाइँ सरेको थियो। गीताका पति भैयालाल रजक गरिबी भगाउने पैसा कमाउन ६ महिनाअघि विदेश गएका थिए। मलेसियाबाट भैयालालले अहिलेसम्म सात हजारमात्र पठाएको गीताले बताइन्।
गीताकी आमा कुमारीदेवीले गरिबीले मन विचलित हुँदा छोरीले यस्तो कदम उठाएको तर अहिले पश्चात्ताप गरिरहेको बताइन्। आमाको बयानका आधारमा शिशु फाल्नुको कारण गरिबी देखिए पनि घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक केदार ढकालले बताए।
गरिबीसँग लड्ने सबै विकल्पबाट हार खाएपछि गत पुस १९ गते तेरहौता-३ का अशोक सदाकी पत्नी २६ वर्षीया कुडी भनिने सजनदेवीले ६ वर्षीय छोरा, तीन वर्षीया र ६ महिनाकी छोरीको हत्या गरेकी थिइन्।
पति जीविकाको उपाय खोज्न काठमाडौंमा रोजगारी गर्न गएका बेला उनले छोराछोरीको हत्या गरेकी थिइन्। ससुराको शोषण र गरिबीबाट आजित उनी पुस १५ गते बैरवा-२ स्थित माइतघर पुगेकी थिइन्।
माइतीले पनि घर पठाएपछि उनले छोराछोरी मारेर आफूले आत्महत्या गर्ने योजना बनाइन्। योजनाअनुसार उनले छोराछोरीको हत्या गरी वैरबा-३ स्थित कोसीनदीको पश्चिम तटबन्धको जमेको पानीमा मिल्काइन्। तर आफू भने हामफाल्न सकिनन्।
विक्षिप्त अवस्थामा रहेकी सजनदेवीलाई प्रहरीले सुनसरी हरिपुरस्थित कोसी बाँधबाट माघ २ गते पक्राउ गरेको थियो। इलाका प्रहरी कार्यालय कञ्चनपुरले सजनदेवीविरुद्ध कर्तव्य ज्यान र ससुरामाथि सार्वजनिक अपराध मुद्दा दर्ता गरी अनुसन्धान थालेको प्रहरी निरीक्षक उमेश लम्सालले बताए।
यो घटनापछि सदा परिवार घर न घाटको भएको छ। प्रहरी निरीक्षक लम्सालका अनुसार सबै विकल्पबाट हार खाएपछि यस्तो कदम चाल्नुपरेको बयान दिएकी सजनदेवीको स्वास्थ्य अवस्था सामान्य बन्दै गएको छ।
राष्ट्रिय दलित केन्द्रका रन्जित पासवानले भने यो हत्यामा आमासँगै अन्यको पनि संलग्नता हुनसक्ने भन्दै सूक्ष्म अनुसन्धान गर्न प्रहरीलाई सुझाएका छन्।
यी दुई घटनाको प्रारम्भिक अनुसन्धानले घरपरिवारको यातनासँगै गरिबीको भार थेग्न नसकेर सन्तानको हत्या र आत्महत्याजस्तो निर्मम र कठोर कदम रोज्न आमा बाध्य भएको देखिएको छ।
सबैभन्दा बढी सुरक्षित घर र आमाको काख नै असुरक्षित बन्न थालेकोप्रति दु:ख व्यक्त गर्दै महिला अधिकारकर्मी विष्णु कोइरालाले गरिबीका कारण समाजमा हुने यस्ता अकल्पनीय यस्ता घटना हुन नदिन राज्यले गरिबीविरुद्ध लड्न लगानी बढाउनुपर्ने बताइन्।
गत भदौ ८ गते पनि भारदह-५ स्थित कोसी ब्यारेजछेउ झाडीमा नवजात बालिका फेला परेकी थिइन्। ती बालिका पनि निर्दयी आमाले फालेकी थिइन् तर कारण भने पुष्टि भएको छैन।
ती बालिकालाई कञ्चनपुर-८ का बुद्धिबहादुर कार्की र हीरादेवी कार्कीले धर्मपुत्री बनाएर लगेका छन्। यस्तै सप्तरीकै फर्सेठस्थित चन्द्र नहरछेउमा एक वर्षअघि कपडामा बेरेर फालिएकी नवजात बालिकालाई बकधुवा-७ की निसन्तान विष्णुमाया खत्रीले धर्मपुत्री बनाएर पालेकी छन्।

अन्नपूर्णपोष्टबाट


  •  
  •  
  •