काठमाडौं २६ भदौ ।
साउन दोस्रो साता संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिद्वारा गठित प्रारम्भिक वार्ता उपसमितिको टोली इलाम पुगेर किरात जनवादी वर्कस पार्टीसँग वार्तामा बस्यो। सभासद आनन्दप्रसाद ढुंगानासहितको टोली नयाँ संविधानमा सहमति जुटाउन वर्कसका वार्ता टोली संयोजक सुमन बान्तवासँग प्रारम्भिक सहमति गरी फर्कियो।
ऐतिहासिक संविधानसभामार्फत जनताले बनाइरहेको नयाँ संविधानबारे संसदीय समितिसँग सहमति गर्ने सुमन कुन हैसियतका व्यक्ति हुन्, त्यो भने समितिले ख्यालै गरेन।
प्रहरीका अनुसार सुमन हातहतियार तथा खरखजाना र विष्फोटक पदार्थ मुद्दाका अभियुक्त हुन्। सरकारी सुरक्षा घेराबीच सभासद टोलीसँग वार्तामा बसेका उनको नाम प्रहरीकै खोजी सूचीमा ‘फरार’ छ।
गृह मन्त्रालयले तयार पारेको पछिल्लो प्रतिवेदनअनुसार बान्तवाविरुद्ध २०६७ जेठ ८ मा जिल्ला प्रशासन कार्यालय, खोटाङमा हातहतियार खरखजाना मुद्दा दर्ता छ।
सुमनसँगै वार्ता टोली सदस्यका रूपमा सहभागी वर्कसका सदस्य गंगालाल दाहाल (गंगालाल तुफान) पनि हातहतियार र विष्फोटक पदार्थ प्रयोग अभियोगमा सुरक्षा निकायको खोजी सूचीमा छन्। जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुको सूचीमा उनीविरुद्ध हातहतियार खरखजाना र विष्फोटक पदार्थको मुद्दा दर्ता छ। प्रहरी रेकर्डमा उनको अवस्था पनि फरार छ। उनी अपहरण मुद्दामा दोषी ठहर भई जेल परेर २०७१ असार ९ मा मात्र कैदभुक्तान गरी रिहा भएका थिए।
नयाँ संविधानका अन्तर्वस्तुमा सहमति जुटाउन संविधानसभाभित्र र बाहिरका राजनीतिक दल तथा सरोकारवाला पक्षसँग वार्ता गर्न बनेको उपसमितिका सभासद इलाम, जनकपुर र नेपालगन्ज गएर १७ समूहसँग वार्ता गरेको थियो।संसदीय टोलीसँग संविधान वार्तामा बसेकामध्ये ६ जना त हत्या अभियोगमा ‘फरार’ हुन्।
वार्ता गरिएका समूहमा पछिल्ला दिन निष्त्रि्कय सशस्त्र गतिविधिमा संलग्न समूहको बाहुल्य छ। संसदीय टोलीले २०७१ साउन ११ र १२ गते इलाममा जनवादी किरात वर्कस पार्टी (अनन्त) संयुक्त जातीय मुक्ति मोर्चा, स्टेटस फोर्स लिम्बुवान, जनवादी वर्कस पार्टी (विद्रोही समूह), संघीय लिम्बुवान राज्यपरिषद (कुमार लिङदेन समूह), संयुक्त जातीय मुक्ति मोर्चा (देवराज लामा), संघीय लिम्बुवान राज्यपरिषद (सञ्जुहाङ पालुवाङ) सँग वार्ता गरेको थियो। नागरिकबाट