सरकार आन्दोलन दमन गर्न उद्धत : मोर्चा

190
  •  
  •  
  •  

madhesi morchaकाठमाडौँ, १६ कात्तिक(ओएनएस) : संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले सरकार दमन गरेर तराइ मधेस आन्दोलनलाई समाप्त पार्ने उदेश्यका साथ अगाडि बढेको आरोप लगाएको छ ।

प्रहरीले सोमबार बिहानै वीरगञ्ज नाका खोलाएपछि उत्पन्न परिस्थितिको आकलन गर्न सोमबार बसेको मोर्चाको वार्ता टोलीको बैठकले यस्तो आरोप लगाएको हो । बैठकपछि पत्रकार सम्मेलन गर्दै मोर्चाले सरकारसँगको वार्ताको औचित्य समाप्त भएको बताएको छ ।

तपलोपा पार्टी कार्यालय बिजुलीबजारमा बसेको बैठकपछि भएको पत्रकार सम्मेलनमा मोर्चाले सरकारसँग वार्ता सकारात्मक भइरहेको बेला राज्यले शान्ति पुर्ण धर्नामा रहेका नागरिकलाई बिहानै बल प्रयोग गरी हटाएको र आन्दोलनका क्रममा निहथ्या नागरिकलाई गोली हानेको भन्दै सम्पुर्ण घटनाको जिम्मेवारी सरकारले लिनुपर्ने माग गरेको छ ।

बैठकपछि जारी प्रेस विज्ञप्तिमा समेत मोर्चाले सोमबार बिहानै वीरगञ्ज सीमाका सरकारद्वारा गरिएको दमनप्रति मोर्चाको ध्यानाकर्षण भएको उल्लेख गरिएको छ। विज्ञप्तिमा सरकार केही दिनदेखी नै दमन गरेर आन्दोलन समाप्त पार्ने आन्तरिक तयारीमा लागेको आरोप समेत लगाइएको छ । विज्ञप्तिमा भनिएको छ, ‘एकतर्फ सेनालाई परिचालन गर्ने, सशस्त्र प्रहरीलाई क्रियाशील बनाउने विस्तार गर्ने काम हुँदै थियो भने अर्कोतिर वार्ताको नाटक पनि गर्दै थियो ।’

मोर्चाले सरकारले वार्तालाई रणनीतिक रुपमा प्रयोग गरेर आन्दोलन दमनको निति लिएको आरोप लगाएको छ । मोर्चाले सरकारलाई जिम्मेवार ढंगले वार्ताको वातावरण सहज बनाउन पनि आग्रह गरेको छ ।

morcha press release


  •  
  •  
  •