२२ दलीय मोर्चाले प्रक्रियामा जाने बाटो बन्द गर्ने

372
  •  
  •  
  •  

काठमाडौं, १६ कात्तिक (ओएनएस) : एकीकृत माओवादीको नेतृत्वमा रहेको २२ दलीय मोर्चाले सहमति वाहेकका कुनै पनि प्रस्ताव संविधानसभामा पठाउन अवरोध गर्ने निणर्य गरेको छ ।

सबै दलका असहमति सहितको अल्पमत र बहुमतका दुईवटा प्रस्ताव पठाउन प्रक्रियाका लागि ढोका खुला हुने निस्कर्ष सहित उनीहरुले त्यस्तो निणर्य गरेका हुन् । आइतबार सिंहदरबारमा बसेको बैठकले प्रक्रियाका लागि सबै किसिमका अवरोध गर्ने निणर्य गरेको सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले जानकारी दिए ।

उनले प्रक्रियामा जाने अवस्था आए २२ दलीय मोर्चा संविधानसभा छाडेर जनताका बिचमा जाने पनि बताए । शनिबारसम्म विवादित विषयमा सहमति जुटाउन नसकेपछि संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिले संविधानसभाका ३१ वटै दललाई आफ्ना आफ्ना लिखित धारणा पेस गर्न निर्देशन दिने तयारी गरेको थियो ।

एमाओवादी नेता तथा संम्वाद समितिका सभापति बाबुराम भट्टराईले तयारी विपरित २२ दलीय मोर्चाले लिखित धारणा पेश गर्न नमान्ने निणर्य गरेको हो । महतोका अनुसार अघिल्लो संविधानसभामा जेठ २ गते भएको सहमति अनुसार गए मात्रै प्रक्रियामा जाने दिनेगरि २२ दल सहमत हुनेछन् । बैठकमा एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले आफुलेपनि तीनदलीय बैठकमा मोर्चाको अडान राख्ने बताएका छन् ।

मोर्चाको बैठकमा मधेसवादी दल दुईतिर

२२ दलीय मोर्चाको बैठकमा मधेसी दलहरुबीच नै फरक फरक धारणा सुनिएका थिए । स्रोतका अनुसार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले भने सहमतिका नाममा सबै हलो हड्काउनु कति उचित हुन्छ भनेर प्रश्न गरेका थिए । गच्छदारको भनाई राजेन्द्र महतो लगायतका मधेसी दलका नेताहरुले नै आपत्ति जनाए ।

मधेसी नेताहरुबीच नै राय बाझाएपछि तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले यो विषयमा मधेसवादी दलहरुले छलफल गरेर सामूहिक धारणा बनाउनु पर्ने प्रस्ताव गरेका थिए । ठाकूरको प्रस्तावपछि फेरि बस्ने गरि मोर्चाको बैठक सकिएको एक नेताले जानकारी दिए ।


  •  
  •  
  •  

Comments are closed.