नाकामा धर्ना नदिने, आमहड्ताल रोक्ने मोर्चाको निर्णय

132
  •  
  •  
  •  

काठमाडौँ, २५ माघ(ओएनएस) : संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आमहड्ताल, नाकाबन्दीसहितका विरोध कार्यक्रम स्थगित गर्ने भएको छ ।

मोर्चाको काठमाडौँमा बसेको बैठकले सीमा नाकामा भएका धर्ना, आमहड्ताल, सरकारी कार्यालय बन्दलाई तत्कालका लागि स्थगित गर्ने निर्णय गरेको हो । मोर्चाले अन्य आन्दोलनका कार्यक्रमहरूलाई भने कायमै राख्ने निर्णय गरेको छ ।

बैठकपछि विज्ञप्ती जारी गर्दै मोर्चाले अन्य दवावमूलक आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ । आन्दोलनका कार्यक्रमअनुसार फागुन ५ गते तराई मधेसका जिल्ला सदरमुकामहरूमा लाठी जुलुस प्रदर्शन गर्ने, फागुन ७ गते विरोध सभा गरेर आफ्नो ११ बुँदे मागबारे हस्ताक्षर संकलन गर्ने लगायतका छन् ।

मधेसी मोर्चाले गत असोज ७ गतेदेखी सीमांकन हेरफेर लगायतका माग राख्दै आन्दोलनमा रहेको थियो । आन्दोलनका क्रममा नेपाल भारतका सीमा नाकाहरूमा धर्ना दिँदै आएको थियो । मोर्चाले आधिकारिक निर्णय गर्नुअघि नै वीरगञ्ज बाहेकका नाकाहरू केही समय पहिले देखीनै सुचारू भइरहेका थिए भने वीरगञ्ज नाका पनि शूक्रबारदेखि खुलेको छ ।

स्थानीयबासी र व्यापारीको बलमा वीरगञ्ज नाका खुलेपछि मधेसी मोर्चाका कार्यकर्ताले फेरि बन्द गराउने प्रयास समेत गरेका थिए । तर, असफल भएपछि मधेसी मोर्चाले अब तत्काल नाका अवरुद्ध नगर्ने नीति लिएको छ ।


  •  
  •  
  •