काठमाडौं ९ माघ (ओएनएस) : एकबर्ष कार्यतालिका सकिएको भन्दै नयाँ बाटोमा जानुपर्ने निस्कर्ष निकालेको विपक्षी मोर्चाले आज थप रणनीति बनाउने भएको छ । संविधानका विवादित अन्र्तबस्तु र सत्तापक्षले लिन खोजेको प्रक्रियाका विषयमा छलफल गर्न बिहानै बैठक बोलाइएको छ । बैठकबाट नयाँ रणनीति तय गर्ने दलहरुले जनाएका छन् ।
बिहान सिंहदरबारमा बोलाइएको बैठकमा हिजो अन्तिमसमयमा भएको छलफल र आजको संविधानसभा बैठकमा अपनाउने रणनीतिका विषयमा छलफल हुनेछ । सयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका अध्यक्ष विजयकुमार गच्छदारले हिजो राखेको प्रस्तावका विषयमा पनि छलफल हुनेछ ।
गच्छदारले गरेको प्रस्तावमा सत्तासिन दल सहमत थिए । उनले शासकीय स्वरुपमा पनि आलोचनात्मक समर्थन गर्दै कांग्रेस–एमालेको प्रस्तावलाई स्वीकार गर्ने प्रस्ताव गरेका थिए । प्रदेश संख्या ६ देखि ९ बनाउँदै भूगोल, सिमांकन र नामाङ्कनका लागि दुई महिना समय थप गर्ने प्रस्तावमा आज थप छलफल हुनेछ । मोर्चाका प्रवक्ता प्रेमबहादुर सिंहले आजको संविधानसभा बैठक र नयाँ रणनीतिका विषयमा छलफल हुने बताए । उनले पुरानो कार्यतालिका सकिएकाले अब पुरानो सबै खेल सकिएको बताए ।