संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा विभाजनतिर

212
  •  
  •  
  •  

काठमाडौं १९ पुस ।

काठमाडौं, १९ पुस आन्तरिक विवादले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा विभाजन हुन लागेको छ । सद्भावना पार्टीले शनिबार एक्लै एकहप्ते आन्दोलनको कार्यक्रम घोषणा गरेको छ । तर, मोर्चामा आवद्ध अन्य दलले छलफल गरेर आइतबारपछि आन्दोलनको कार्यक्रम घोषणा गर्ने तयारी गरेका थिए । राजेन्द्र महतो नेतृत्वको सद्भावना र अन्य दलबीच आन्दोलन र वार्ताका विषयमा मोर्चाभित्र विवाद छ ।

मोर्चाको आधिकारिक धारणाविपरीत महतो मधेस आन्दोलनका गतिविधिमा संलग्न हुन थालेको र स्थितिलाई भड्काउने गतिविधिमा संलग्न रहेको मोर्चाका अन्य नेताहरूको आरोप छ । शनिबार सद्भावना पार्टीले एक्लै एकहप्ते आन्दोलनको कार्यक्रम घोषणा गरेको छ । सद्भावना महामन्त्री सुमनले १९ देखि २७ पुससम्मका लागि आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका छन् ।

पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरी सुमनले छुट्टै आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका हुन् । मोर्चाका संयोजक तथा तमलोपा अध्यक्ष महन्थ ठाकुरले सद्भावनाले घोषणा गरेको कार्यक्रमबारे जानकारी नभएको बताए । ‘अहिलेसम्म त्यस्तो आन्दोलनबारे जानकारी छैन र त्यसलाई मोर्चाभित्र विवाद र फुटका रूपमा नलिँदा राम्रो हुन्छ,’ ठाकुरले नयाँ पत्रिकासँग भने । पार्टी अध्यक्ष राजेन्द्र महतो थप उपचारका लागि भारतको दिल्ली गएको भोलिपल्टै सद्भावनाले आन्दोलनका नयाँ कार्यक्रम घोषणा गरेको हो । मोर्चाको अर्को घटक संघीय समाजवादी फोरमले पनि आइतबार सुन्धारामा एक्लै विरोध कार्यक्रम गर्दै छ । ६ असोजमा सप्तरीको राजविराजमा बसेको मोर्चा बैठकबाटै सुरु भएको विवाद २७ मंसिरको सरकारसँगको वार्तापछि भने सतहमै आएको छ । गत आइतबार बसेको मोर्चाको बैठकले आन्दोलनका कार्यक्रमलाई फेरबदल गर्ने अनौपचारिक निर्णय गरेपछि महतो मोर्चाबाट बाहिरिन खोजेको मोर्चाका एक नेताले बताए ।

महतोले जयप्रकाशप्रसाद गुप्ता, शरत्सिंह भण्डारी र राजकिशोर यादवको गठबन्धनसँग सहकार्य गर्न खोजेको मोर्चाका नेताहरूको आशंका छ । मोर्चाका नेताहरू तत्काल महतोलाई मोर्चाबाट अलग्याउने पक्षमा छैनन् । त्यसैकारण उनका विषयमा सार्वजनिक टिप्पणी गर्न मानेका छैनन् । सद्भावना महासचिव सुमन भने आफ्नो पार्टीले छुट्टै कार्यक्रम र पत्रकार सम्मेलन गर्दा मोर्चा फुटिहाल्ने अवस्थामा नपुग्ने दाबी गर्छन् । तर, उनी मोर्चाभित्र विवाद उत्कर्षमा पुगेको कुरा भने स्वीकार गर्छन् ।

विवाद बढ्दै गएपछि सामाजिक सञ्जालमा समेत आरोप–प्रत्यारोप हुन थालेको छ । सद्भावनाका महामन्त्री मनीष सुमनले ‘राजेन्द्र महतोको बढ्दो लोकप्रियताबाट स्वदुखित हुनेहरूप्रति हार्दिक समवेदना’ भन्दै टिप्पणी गरेपछि मोर्चाको विवाद सतहमै प्रकट भएको हो । महतोको विवादित गतिविधिलाई लिएर संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवका प्रेस संयोजक महेश चौरसिया र राजेन्द्र महतोका भतिजा उपेन्द्र महतोबीच फेसबुकमा दोहोरी नै चलेको छ । उनीहरू एकले अर्कोलाई खुइल्याउने अभियान चलाएका छन् ।

किन बढ्यो विवाद ?

मधेसी मोर्चामा आबद्ध पााचमध्ये चार दल वार्ताबाटै समस्या समाधान गर्ने र आन्दोलनका स्वरूप परिवर्तन गर्ने पक्षमा छन् । तर, राजेन्द्र महतो नेतृत्वको सद्भावना कडा आन्दोलनको पक्षमा छ । नाकामा धर्नासहित तराईं–मधेसमा आन्दोलन गर्दै आएको मोर्चाले आइतबारपछि थप छलफल गरेर आन्दोलनको स्वरूप परिमार्जनको तयारी गरेको थियो । तर, सद्भावना पार्टीले शनिबार एक्लै एकहप्ते आन्दोलनको कार्यक्रम घोषणा गरेको छ । महतो पक्षले वार्ताभन्दा आन्दोलनमै जोड दिएकाले मोर्चालाई विभाजनतर्फ धकेलेको छ ।

नयाँपत्रिकाबाट


  •  
  •  
  •