मोदीले भेट नदिएपछि दुई नेता फर्किए, दुई उतै

164
  •  
  •  
  •  

काठमाडौं २४ मंसिर ।
नयाँ दिल्ली भ्रमणमा रहेका संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका शीर्ष नेताले लामो प्रयास गर्दा पनि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भेट दिन इन्कार गरिदिएका छन्।

नेपालको नयाँ संविधानमा विमति जनाउँदै जारी मधेस आन्दोलन र मोर्चाको स्थिति प्रस्ट पार्न तथा विचार आदानप्रदान गर्न भन्दै मोर्चाका शीर्ष नेताले मोदीसँग भेट्ने प्रयास गरेका थिए। मोर्चा नेताहरू भारत सरकारको निमन्त्रणामा आइतबार नयाँ दिल्ली पुगेका हुन्।

मोर्चा नेताले भारतीय विदेशमन्त्री सुषमा स्वराज, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल र विदेश सचिव एस जयशंकरसँग सामूहिक भेटघाट गरेका थिए। तर, प्रधानमन्त्री मोदीसँग भेट्ने उनीहरूको योजना भने सफल हुन सकेन।

भारत सरकारले मोर्चाका शीर्ष नेतालाई प्रमुख दलले अघि सारेको संविधान संशोधन प्रस्तावको स्वामित्व लिएर अघि बढ्न र नाकाबाट आपूर्ति सहज गराउनका लागि सीमामा धर्ना नबस्न सुझाव दिइसकेको छ। तर, भारत सरकार र त्यहाँका विपक्षी दलका नेताले दिएको उक्त सुझावमा मोर्चाका शीर्ष नेतालाई भने त्यति चित्त बुझेको देखिँदैन।

नयाँ दिल्लीमा तराई–मधेस अध्ययन समूहले गरेको एक कार्यक्रममा संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले ‘भारतले साथ देओस् वा नदेओस्, हाम्रो आन्दोलन अधिकार प्राप्ति नहुन्जेल जारी रहनेछ’ भन्ने अभिव्यक्ति दिएर भारतीय सुझावलाई अस्वीकार गरेको संकेत दिएका छन्।

नयाँ दिल्ली स्रोतका अनुसार सीमामा अवरोध नगर्नका लागि भारत सरकारले स्पष्ट रूपमा मोर्चालाई सुझाव दिएको छ। नयाँ संविधानप्रति विमतिका नाममा मोर्चा र भारत सरकारबाट भएको उक्त नाकाबन्दीबाट भारतीय पक्षले हात झिक्ने संकेत दिएपछि आन्दोलनरत मोर्चा भने संकटमा परेको छ।

तराई–मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले भने संविधान निर्माणका नेतृत्वकर्ता तीन दलले अघि सारेको साझा अवधारणामा टेकेर छलफल गर्न सकिने जनाइसकेका छन्। ‘प्रमुख दलले अघि सारेको साझा धारणाका विषयमा काठमाडौं गएर छलफल गर्छाैं, सहमति हुने वा नहुने भन्ने कुरा प्रमुख दलले कति लचकता अपनाउने भन्नेमा भर पर्छ,’ नयाँ दिल्लीमा सञ्चारकर्मीमाझ ठाकुरले भनेका छन्।

मुख्य गरी सीमांकनको विवाद राजनीतिक समिति गठन गरी ३ महिनाभित्र टुंग्याउने प्रमुख दलको अवधारणामा मोर्चाले सहमति जनाउन आनाकानी गरिरहेको छ। स्रोतका अनुसार प्रमुख दलले अघि सारेको ३ बुँदे अवधारणामा पछिल्लो समय भारत पनि ‘सहमत’ नै देखिएको छ।

राज्यसभा बैठकमा मधेस आन्दोलनलाई लिएर ‘समावेशी संविधान, भारतीय चाहना’ भन्दै भारतका तर्फवाट लगाइएको नाकाबन्दीलाई विपक्षी दलका नेताले चर्को आलोचना गरे पछि भारत सरकार स्वयं दबाबमा पर्दै आएको छ। जसका कारण भारत सरकारले नेपालको समस्या शीघ्र समाधानको पक्षमा रहेको जनाइसकेको छ।

यसैबीच, मोर्चाका शीर्ष ४ ध्ये दुई नेता संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र तराई–मधेस सद्भावना पार्टीका अध्यक्ष महन्थ ठाकुर बुधबार स्वदेश फर्केका छन्। मोर्चाआबद्ध घटकका दुई नेता राजेन्द्र महतो र महेन्द्रराय यादव भने दिल्लीमै बसेका छन्। उनीहरू केही दिन दिल्लीमै बसी स्वास्थ्य उपचारमा व्यस्त रहनेछन्। दुवै नेता पटना हुँदै गत आइतबार दिल्ली प्रस्थान गरेका थिए भने उपेन्द्र र महन्थ भने काठमाडौंबाट दिल्ली गएका थिए।
नागरिकबाट


  •  
  •  
  •