घोषित आन्दोलनबारे विपक्षी मोर्चाभित्रै बिबाद

113
  •  
  •  
  •  

काठमडौं ५ चैत ।  सर्वसाधारणले अत्यधिक सास्ती भोग्नुपर्ने आमहड्तालजस्तो विरोध कार्यक्रम घोषणापछि एकीकृत नेकपा माओवादी नेतृत्वको ३० दलीय विपक्षी मोचाभित्र विवाद चुलिएको छ। आन्दोलनमा जाने विषयमा एकमत रहे पनि विपक्षी मोर्चाका कतिपय नेताले ‘विरोधका नाममा आमहडताल गरेर जनतालाई सास्ती दिन हुन्न’ भन्दै फरक मत राखेपछि मोर्चामा विवाद बढेको हो।

तीनदिने आमहडताल ‘आत्मघाती’ हुने भन्दै मोर्चाका केही नेताले घोषणा फिर्ता गराउन नेतृत्वलाई दबाब दिइरहेको स्रोत बताउँछ। मोर्चाभित्रका अनुदारवादी नेताको उक्साहटमा यस्तो कार्यक्रम घोषणा भएको उनीहरूको ठहर छ। यसले ‘सहमतिमा संविधान ल्याउनुपर्छ’ भन्ने विपक्षी मोर्चाको मूल एजेन्डाप्रति नै सर्वसाधारणमा नकारात्मक धारणा पैदा गर्ने उनीहरूले तर्क गरेका छन्।
‘आन्दोलनका जाने विषयमा विमति होइन,’ मोर्चाका एक नेताले बुधबार नागरिकसँग भने, ‘तर, जसरी आन्दोलन कार्यक्रम घोषणा गरियो, त्यसको पक्षमा हामी छैनौं।’

व्यवस्थापिका–संसद अन्तर्गतका संसदीय समिति बहिष्कार गर्दै आएको एमाओवादीले फागुन ३० गते समिति बैठकहरुमा सहभागिता जनाउने निर्णय गरेको थियो। तर त्यसको भोलिपल्ट बसेको ३० दलीय मोर्चाको बैठकमा उसको प्रस्तुति अघिल्लो दिनको जस्तो देखिएन। मोर्चाका नेताहरु उपेन्द्र यादव, राजेन्द्र महतो, पासाङ शेर्पा लगायत जातीय पृष्ठभूमिका दलहरुले अनिश्चितकालसम्म आमहड्ताल र सम्झौताहीन आन्दोलनको प्रस्ताव गरेका थिए। सो खाका जस्ताको तस्तै पारित हुन नसके पनि मोर्चाको सचिवालयले पहिलै तयार पारेको तीन दिने आमहड्ताल सहितको आन्दोलन कार्यक्रम चैत १ गतेको मोर्चाको बैठकले अनुमोदन गरेको थियो।

अनिश्चितकालीन आमहड्ताल जनताको समर्थन नहुने भन्दै मोर्चाभित्रैका नेताले तीन दिनसम्मको आमहड्तालमा अनुदारवादी पक्षलाई सहमत गराएका थिए। विवादकै बीचमा घोषणा भएको आमहड्तालका कारण अहिले मोर्चामा झन् विवाद चुलिएको हो।

मोर्चाभित्रकै आन्दोलन असफल पार्ने तत्वले तीन दिन आम हड्ताल घोषणा गराएको निष्कर्ष निकालेका केही नेताले आम हड्ताल घोषणा फिर्ता लिन पहल थाहेका हुन्। ‘माधव नेपाल नेतृत्वको सरकारविरुद्ध एमाओवादीले गरेको अनिश्चितकालीन आमहड्तालमा जस्तै असफल हुनु परे भोलिको भविष्य के हुन्छ?’, नागरिकसँग कुरा गर्दै एक नेताले भने,  ‘हाम्रो हड्ताललाई जनताले प्रतिकार गरे भने जनस्तरबाटै हाम्रा एजेन्डा अस्वीकृत भएको अर्थनेछ।’ बढी क्रान्तिकारी देखिने नाममा मोर्चालाई  असफल पार्ने खेल हुन थालेको ती नेताले बताए।
खासगरी एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ आमहड्ताल कार्यक्रम फिर्ता लिनुपर्छ भन्ने अडानमा छन्। विरोध कार्यक्रमलाई आमहड्तालसम्म पुग्न नदिन आफूले प्रयास गरिरहेको पुष्टि गर्दै उनले नागरिकसँग भने, ‘म व्यक्तिगत रूपमा पनि दलहरूसँग निरन्तर छलफलमा छु, सकेसम्म आमहड्तालसम्म जानुपर्ने अवस्था आउन दिनुहुन्न।’
‘विरोधकै बीचमा पनि सहमति हुन सक्छ,’ उनले भने, ‘त्यसका लागि म सत्तारुढ दलसँग निरन्तर सम्पर्कमा छु।’
विपक्षी मोर्चाकै एक घटक खुम्बुवान राष्ट्रिय मोर्चाका नेता आरके खुम्बु पनि आमहड्तालको पक्षमा छैनन्। ‘अहिले क्रियात्मक आन्दोलन गर्ने बेला भएकै छैन,’ उनले भने, ‘साथीहरूले हतार गरेर आन्दोलन घोषणा गर्नुभयो। सफल भएन भने मोर्चाको भविष्य खतरामा पर्छ।’
आन्दोलनको लक्ष्य ‘सहमतिबाट संधिवान जारी गर्न दबाब दिनु’ रहेको भन्दै सम्झौताहिन आन्दोलनमा जाँदा मुलुक, जनता र विपक्षी मोर्चालाई घाटा हुने उनले बताए।
मोर्चामा आबद्ध तराई मधेस लोकतान्त्रिक पार्टीका नेता बृजेशकुमार गुप्ता पनि आमहड्तालको पक्षमा देखिँदैनन्। आन्दोलन घोषणा गर्दा जनताको मनोविज्ञान बुझ्नुपर्ने भए पनि मोर्चाले त्यसो गर्न नसकेको उनको ठम्याइ छ। ‘जनताको इच्छा आन्दोलनमा जाने छ कि छैन भनेर पर्याप्त छलफल गरिनुपर्थ्यो,’ गुप्ताले नागरिकसँग भने,’त्यो विषयमा मोर्चा चुकेको छ। यस विषयमा म पार्टीभित्र पनि कुरा राख्छु।’ आन्दोलनले जनताको मन जित्न नसकिने उनको बुझाइ छ।
सहमति गर्ने विषयलाई लिए मोर्चाका नेताहरु प्रधानमन्त्री सुशील कोइराला एवं एमाले अध्यक्ष केपी शर्मा ओलीसँग निरन्तर सम्पर्कमा छन्। मोर्चाका केही नेताले वार्ताको वातावरण बनाउन आज बिहीबार प्रधानमन्त्री सुशील कोइराला र शुक्रबार एमाले अध्यक्ष केपी ओलीसँग भेट गर्दैछन्। छुट्टछुट्टै हुने भेटमा वार्तालाई अघि बढाउन आग्रह गर्ने तथा वार्ताको वातावरण बने मोर्चाले घोषित आन्दोलनका कार्यक्रम फिर्ता लिने स्रोतले जनायो। ३० दलीय मोर्चाले वार्ता र सहमतिका पहल गर्ने जिम्मा एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र मधेसी मोर्चाका नेता विजयकुमार गच्छदारलाई दिएको छ।नागरिकबाट


  •  
  •  
  •