प्रहरीको गोली लागेर सप्तरीमा दुई जनाको मृत्यु

123
  •  
  •  
  •  

काठमाडौं ६ मंसिर (ओएनएस) : सप्तरीमा मधेसी मोर्चाको आन्दोलन हिंसात्मक बनेपछि प्रहरीले गोली चलाएको छ । प्रहरीको गोली लागेर दुई आन्दोलनकारीको मृत्यु भएको छ। यात्रुबाहक बसको स्कर्टिङ रोक्न भेला भएका आन्दोलनकारीले प्रहरीमाथि आक्रमण गरेपछि प्रहरीले गोली चलाएको छ ।

गोली लागेर घाइते भएका गाढा ९ का वीरेन्द्र राम र जमुनी मध्यपुरमा ७ का नागेश्वर यादवको उपचारका क्रममा मृत्यु भएको सप्तरी प्रहरीले टेलिफोनमा जानकारी दिएको छ । भारदह र रुपनीमा मोर्चाका कार्यकर्ताले रातभर प्रदर्शन गरेका थिए । अन्य २० जनालाई गोली लागेको छ । घाइतेलाई उपचारका लागि धरान पठाइएको छ ।

सप्तरी र सिरहाका विभिन्न ठाउँमा बिहानै देखि टाइर बालेर प्रदर्शन भइरहेको छ।

स्थानिय प्रशासनले भारदह, रुपनी र राजविराज बजार क्षेत्रमा बिहान ६ बजेबाट लागू हुने गरि अनिश्चितकालिन कर्फ्यु आदेश जारी गरेको छ ।
कर्फ्युको उल्लंघन गर्दै अहिले पनि भारदह क्षेत्रमा प्रदर्शन भइरहेको छ । यसैबीच, आक्रोशित प्रदर्शनकारीहरुले आज बिहान रुपनीमा स.४प. ५३११ नम्बरको मोटरसाईकलमा आगजनी गरिदिएका छन् ।


  •  
  •  
  •