काठमाडौं २४ माघ । सहरका बाँदर जंक फुडले दुब्लाउन थालेका छन्। हट्टाकट्टा र हृष्टपुष्ट देखिने पशुपतिनाथ र स्वयम्भूका बाँदरको तौल मानिससँगको बढी सम्पर्क र कृत्रिम खानाकै कारण घटिरहेको अध्ययनले देखाएको छ। हलक्क देखिए पनि कतिपय बाँदर फोक्से मासुले अटसपटस भएका छन्।
चालीस वर्षदेखि बाँदरको निरन्तर अध्ययन गरिरहेका डा. मुकेशकुमार चालिसेका अनुसार राता बाँदरको तौल औसत १२ केजीभन्दा बढी हुनुपर्ने हो। तर सहरका बाँदर १० किलोभन्दा बढीका छैनन्। ‘हेर्दा मोटो देखिएका बाँदरमा पनि फोक्से मासु छ, ती रोगी छन्’, चालिसे भन्छन्।
चालिसे समूहको अनुसन्धानअनुसार काठमाडौं उपत्यकाका राता बाँदर १० वर्षभन्दा कममात्र बाँच्न थालेका छन्। बाँदरको आयु १५ वर्ष रहेको उनी बताउँछन्।
अध्ययनअनुसार मठमन्दिरवरिपिर घुम्ने बाँदर जंक फुडको सिकार भएका छन्। मानिससँगको संगतले बाँदर रोगी हुन थालेको वैज्ञानिक निष्कर्ष छ। बाँदरमै विद्यावारिधि गरेका प्राध्यापक चालिसे भन्छन्, ‘कृत्रिम खानाले बाँदर रोगी भए, रोगैरोगले थला परेका छन्।’
मानिसको संगतले बिस्कुट, चाउचाउ तथा अन्य कृत्रिम खानामा बढी रुचि देखाउँछन् बाँदर, जसले शारीरिक विकासमै असर गर्नुका साथै कमजोर बनाएको छ।
‘भर्खर जन्मिएका बच्चा पनि सन्तुलित खाना अभावमा कमजोर छन्’, काठमाडौंका बाँदरबारे रुचि राख्ने अमेरिकाको वासिङ्टन विश्वविद्यालयका प्राध्यापक डा. रान्डल सी केस भन्छन्।
खानेकुराकै कारण बाँदर छिट्टै बढ्ने र गर्भाधान गर्ने गरेको अनुसन्धानले देखाएको छ। उपत्यकाका बाँदरमा यो समस्या झन् धेरै छ। किशोर अवस्थामै गर्भाधान गर्दा माउ र जन्मिएको बच्चासमेत शारीरिक रूपमा कमजोर भएका छन्।
पशुपतिनाथमा चार सय र स्वयम्भूनाथमा चार सय राता बाँदर छन्। नीलबाराहीमा सय, गोकर्णमा ७५, साँखु बज्रयोगिनीमा एक सय २५ र थापाथलीस्थिल ब्लुस्टार मल आसपास ४० बाँदर बस्छन्।
डा. चालिसेले पहिलोपटक ४० वर्षअघि गनेको बाँदरको संख्यामा अहिलेसम्म धेरै फरक छैन। सन्तान उत्पादन गर्ने बेलामा बाँदरको संख्या बढेको देखिए पनि केही महिनाभित्रै पुन: पुरानै संख्यामा झर्ने कारण पनि अप्राकृतिक खाना भएको उनको अनुभव छ।
राता बाँदरको यतिबेला बच्चा जन्माउने मुख्य समय हो। अहिले संख्या बढेजस्तो देखिएपछि साउन-भदौमा संख्या घट्छ। कारण रोगका कारण बूढाबूढी बाँदर मर्नु।
वन्यजन्तु मर्ने र बच्चा पाउने सामान्य सिद्धान्तविपरीत काठमाडौंका बाँदर भने मर्ने र जम्मिने अनुपात उस्तै छ। यसैले बर्सेनि बच्चा पाउँदा पनि बाँदर बढेका छैनन्। ‘जन्मिने धेरै मर्ने कम अनुपातमा हुनुपर्ने हो तर त्यस्तो छैन’, चालिस भन्छन्।
गाउँघरमा बस्ने बाँदरले भने दुईतीन वर्षमा मात्रै एकपटक बच्चा जन्माउँछन्। बर्सेनि बच्चा जन्माउनुमा पनि जंक फुड दोषी भएको वैज्ञानिकहरूको निष्कर्ष छ। हलक्कै बढ्ने तर शारीरिक रूपमा तयार नभई छिट्टै बच्चा जन्माइहाल्ने समस्या बाँदरमा छ।
पशुपतिमा चार सय, स्वयम्भूमा चार सय, नीलबाराहीमा सय, गोकर्णमा ७५, साँखु बज्रयोगिनीमा एक सय २५ र थापाथलीस्थिल ब्लुस्टार मल आसपास ४० बाँदर बस्छन्।चाहेका बेला यौनसम्पर्क गर्न नपाए बाँदरले कृत्रिम मैथुन गर्छ तर बलात्कार कहिल्यै गर्दैन। बाँदरले आफ्नो वंशमा यौनस पर्क पनि गर्दैन।बाँदरमा सबैभन्दा धेरै खोकी, ट्युमर, झाडापखाला, कुपोषण र निमोनियाको समस्या।
परीक्षणका क्रममा मान्छेमा लाग्ने अधिकांश रोग भेटिएको छ बाँदरमा। सबैभन्दा धेरै खोकी, ट्युमर, झाडापखाला, कुपोषण र निमोनियाको समस्या देखिएको छ। बूढाबूढी र बच्चा बाँदर सबैभन्दा धेरै मरिरहेका छन्।
पछिल्लो समयमा धेरै बाँदर पेटको जुकाका कारण पीडित भेटिएका छन्। ‘मठमन्दिरमा त्यही कारण बाँदरले छेर्दै हिँडेको देखिन्छ’, चालिसे भन्छन्।
मानिससँग सम्पर्कमा आउने कारण धेरै रोग बाँदरलाई सरेको पनि अध्ययनका क्रममा पुष्टि भएको छ। ‘बाँदरमा छालाको रोग पनि देखिन्छ। हेर्दै थकित र निरास बढी छन्’, स्वयम्भूनाथका बाँदरमाथि अनुसन्धान गरिरहेका डा. रान्डलले भने।
विज्ञहरूले काठमाडौं उपत्यकाभित्रका बाँदरमा विभिन्न प्रकारका डरलाग्दा रोग भएकाले तिनलाई नछुन पनि आग्रह गरेका छन्। बाँदरमा देखिएको धनुष्टंकारजस्तो रोग (हर्पिस बी) सरे दुई तीन घन्टामै मान्छेको मृत्यु हुन्छ।
काठमाडौंका बाँदरमा अहिलेसम्म यो रोग भेटिएको छैन। रान्डल भन्छन्, ‘बाँदर र मान्छे नजिक नभएकै बेस। थाहै नपाई डरलाग्दा रोग सर्न सक्छ, मठमन्दिरका बाँदर नछोएकै बेस।’
बाँदर अत्यन्तै चलाख जन्तु हो। यसले जिस्किन, वाँइ खान, स्वाङ पार्न र झुक्याउन जान्दछ। बाँदरविद् चालिसेका अनुसार भाले बाँदरसँग विपरीत लिंगीप्रति आकर्षित हुने र बढी उत्तेजित बनाउन सक्ने कला हुन्छ।
चाहेको बेला यौनसम्पर्क गर्न नपाए भाले बाँदरले कृत्रिम मैथुनसमेत गर्छ। अध्ययनअनुसार बाँदरले बलात्कार भने कहिल्यै गर्दैन। आफ्नो वंशबारे राम्रो ध्यान राख्ने बाँदरले वंशभित्र यौनस पर्क गर्दैन।
वयस्क भएपछि भाले बाँदर अर्कै समूहमा मिसिन जान्छन्। वंशअनुसार विभिन्न समूहमा उनीहरू छुट्टिएर बस्छन्। अध्ययनअनुसार स्वयम्भूमा सात, पशुपतिनाथमा नौ, साँखु, नीलबाराही, ब्लुस्टार मलमा बाँदरका दुईदुई समूह छन्।
पोथी बाँदरले भने समूह छोड्दैन। ‘पशुपतिनाथ र स्वयम्भूका बाँदर युवती देख्दा जिस्क्याउन अघि सर्छन्। यो उनीहरूको यौन रुचि अभिव्यक्त भएको हो’, चालिसे भन्छन्। पोथी बाँदर ठूला र शक्तिशाली भालेतिर आकर्षित हुन्छन्।
अन्न्पूर्णपोष्टबाट
अन्न्पूर्णपोष्टबाट