ढाका बुनेर मालामाल (तस्विरसहित)

624
  •  
  •  
  •  

dakha-clothओखलढुंगा, १२ माघ(ओएनएस) : ‘सीप नहुँदा श्रीमान् विदेशिएपछि कसरी पेट पाल्ने भन्ने चिन्ता थियो’ सिद्धिचरण नगरपालिका ४ गोरूमारे भञ्ज्याङ्गकी कमला विश्वकर्माले पुराना दिन सम्झदै भनिन् । ‘सीप सिकेपछि थालेको व्यवसायले अरू तीन जनालाई रोजगार दिएको छ ।’

तीन वर्ष अघि ढाका बुन्ने तालिम लिएकी विश्वकर्मा लगनशीलताले नै अहिले सफल उद्यमी बनेकी छन् । ढाका बुनाइ तालिम लिएपछि पुजा एण्ड प्रज्वला ढाका कपडा उद्योग स्थापना गरेर विश्वकर्माले अहिले तीन जनालाई रोजगारी दिन सफल भइन् ।

dakha-cloth1श्रीमान् विदेश गएपछि आफूले पनि केहि गर्नुपर्छ भनेर उद्योग स्थापना गरेको उनले बताइन् । तीन जना स्टाफलाई पारिश्रमिक दिएर उनले ढाका बुनाइबाट मासिक १५ हजार मुनाफा कमाउँछिन् । ‘सीप सिकेर मेहनत गरे विदेशिनु पर्दैन’ उनी भन्छिन्– ‘स्वेदेशमै केही गरेर नाम र दाम कमाउन सकिन्छ ।’

जिल्लामा विश्वकर्माको एक मात्र ढाका उद्योग संचालनमा रहेको छ । ढाका बुनेर उनले परिवार मात्र पालेकी छैनन् छोराछोरीलाई बोर्डिङ स्कुलमा पढाएकी छिन् । ढाका उद्यमबाटै ०७१ असारमा उनी उद्योग मन्त्रालायले प्रदान गर्ने उत्कृष्ट महिला उद्यमीको रूपमा सम्मानीत पनि भईन् । सम्मानित भएपछि काम गर्न हौसला बढेको उनले बताइन् । उनको प्रगती देखेर अन्य महिलाहरु पनि ढाका बुनाइमा आकर्षित हुन थालेका छन् ।

dakha-cloth2छर छिमेकमा पति विदेशिएपछि पत्नी बरालिन्छन् भनेर लाग्ने आरोप उनले उद्यमी बनेर खण्डन गरेकी छिन् । विदेशमा रहेका उनका पतिले उद्योग स्थापनाका लागि पूर्वाधार बनाउन पैसा पनि पठाएका छन् । ‘श्रीमानले दुई लाख जति लगानी गरिदिनु भएको छ’ उनले भनिन् ।

जिल्लामा ढाका कपडाका माग र बजार भए पनि तान बनाउन आधुनिक उपकरण नहुँदा समस्या भएको उनको गुनासो छ । घरेलु तथा साना उद्योग विकास समितिले महिला उद्यमीहरुलाई तालिम वर्षेनी दिए पनि विश्वकर्मा मात्र सफल उद्यमी बनेको छिन् । समितिसँग फलामे तान बनाउने उपकरण माग गरे पनि जिल्लामा नभएकाले दिन नसकिएको कामु उद्योग अधिकृत कपिल अधिकारीले बताए । उद्यमी महिलाहरुलाई कार्यालयले सहयोग गर्ने उनले जानकारी दिए ।


  •  
  •  
  •