प्रचण्डले भने– पार्टी एकताको संवाद सुरु भइसक्यो

167
  •  
  •  
  •  

prachand

बुटवल, २५ साउन (ओएनएस) : नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओबादीबाट फुटेर गएका शक्तिहरुसंग पार्टी एकताको संवाद सुरु भइसकेको बताएका छन् ।

पार्टीको ५ नम्बर प्रदेशस्तरीय कार्यकर्ता प्रशिक्षणका क्रममा बुटवल पुगेका अध्यक्ष प्रचण्डले सञ्चारकर्मीहरुसंग कुरा गर्दै पार्टी एकताको पहल सुरु भइसकेको बताएका हुन् । उनले मोहन बैद्य, बाबुराम भट्टराई र नेत्रविक्रम चन्दसंग एकताको संवाद सुरु भएको दावी गर्दै छिट्टै सकारात्मक परिणाम आउने दाबी गरे ।

संगठन अस्तव्यस्त हुँदा स्थानीय तह निर्वाचनमा माओवादीले असफलता ब्यहोरेको बताउँदै प्रचण्डले माओवादीलाई सुदृढ बनाउन संगठन, संगठन र संगठन मात्रको नीति पार्टीले अख्तियार गरेको बताए ।

सोही अवसरमा प्रचण्डले अहिलेको निर्वाचन प्रणाली फेर्न अति आवश्यक रहेको बताएका छन् । उनले यो प्रणाली फेर्न नसके मुलुक तस्कर र भ्रष्टाचारीको हातमा जाने बताए । संचारकर्मीसँग कुरा गर्दै भने, ‘गरीब र मध्यमवर्गले अहिलेको निर्वाचन प्रणाली अनुसार चुनाव लड्नै नसक्ने अवस्था आयो ।’ 

उनले पश्चिमा संसदीय परिपाटीले मुलुकमा अस्थिरतामा मात्र ल्याएको बताउँदै प्रत्यक्ष राष्ट्रपति प्रणाली नआउँदासम्म देशमा राजनीतिक स्थिरता नआउने दाबी गरे । त्यस्तै, उनले राजनीतिक परिवर्तनलाई संस्थागत गर्न प्रदेश र संघको चुनाव एकै पटक गर्न सकिने बताएका छन् ।


  •  
  •  
  •