काठमाडौं, ७ पुस (ओएनएस) : प्रमुख विपक्षी दल एमाओवादी नेतृत्वको ३० दलीय संयुक्त मोर्चाले संविधान निर्माणका लागि दवाब दिने भन्दै नेपाल बन्दसहित चरणबद्ध आन्दोलनमा जाने घोषणा गरेको छ ।
मोर्चा सोमबार बसेको बैठकले पुस १९ गते ७५ वटै जिल्लामा प्रदर्शन, पुस २५–२९ गतेसम्म माओवादीले भन्ने गरेको राज्यहरुमा फरक–फरक दिनमा आमहड्ताल गर्ने निर्णय गरेको हो ।
सोमबार साँझ बसेको बैठकपछि ओएनएससँग कुरा गर्दै सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले सत्तापक्षले सहमति गर्ने संकेत नदेखाएकाले आन्दोलनको कार्यक्रम घोषणा गरिएको जानकारी दिए ।
आन्दोलनको कार्यक्रममा पुस १९ गते ७५ वटै जिल्लामा प्रदर्शनसहित आमसभा गर्ने, पुस २५ मा खप्तड र खसानमा आम हड्ताल गर्ने, पुस २७ गते खम्बुवान, लिम्बुवान, तमुवान र मगरात प्रदेशमा हड्ताल गर्ने, २८ गते थरुहट र पुर्वदेखि पश्चिमसम्मको पुरै मधेशमा बन्द गर्ने, २९ गते नेवा र ताम्सालिङ बन्द गर्ने र माघ ५ गते आमहड्तालसहित नेपाल बन्दको कार्यक्रम सार्वजनिक गरेको छ ।
सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेसँग संविधान निर्माणको मूलभूत बिषयमा विवाद बढ्दै जादा एमाओवादी नेतृत्वको विपक्षी दलहरु आन्दोलनमा जाने भएका हुन् । सत्तारुढ दलले प्रक्रियामा गएर संविधान जारी गर्ने बताएपछि रुष्ट भएका विपक्षीले संविधान निर्माणको लागि दाबाब दिन आन्दोलन गर्ने धम्की दिदै आएका थिए ।
संविधान निर्माणको लागि सत्तापक्ष बाधक भएको भन्दै एमाओवादीको नेतृत्वमा संविधानसभामा प्रतिनिधित्व गर्ने ३० को मोर्चा पनि गठन गरिएको छ । यसअघि १९ दलीय मोर्चाले प्रस्तुत गरेको प्रतिवदेनको आधारमा आन्दोलनको कार्यक्रम घोषणा गरिएको हो ।
दलहरुबीच राज्य पुनसंरचना, शासकीय स्वरुप, न्याय प्रणाली लागयतका विषयमा सहमति हुन नसक्दा पछिल्लो समय अरोप प्रत्यारोप चल्दै आएको छ । जसले गर्दा संविधान निर्माण गर्ने अन्तिम मिति माघ ८ नजिकिदै गर्दा संविधान आउने संभावना अनश्चित बन्दै गएको छ ।