सभासदहरुलाई प्रश्न सोध्दै मोही किसानहरु

334
  •  
  •  
  •  

काठमाडौं १९ कात्तिक (ओएनएस) : आफ्ना समस्या सुनाउन देशभरीका मोही किसानहरु काठमाडौमा आएका छन् । आफ्ना अधिकार स्थापित गराउन दलका नेतादेखि संविधानसभाका सदस्यहरुसँग भेटघाट सुरु गरेका छन् । उनीहरुले संसद्मा पेश भएको भूमिसम्बन्धी छैठौं संशोधन विधेयकमा जोताहा किसानलाई मोहियानी हक दिने व्यवस्था गर्न अनुरोध गरेका छन् ।
मोही किसानसँगको छलफलपछि नेकपा एमालेका प्रमुख सचेतक अग्नी खरेलले संविधान सभाको कृषि तथा जलस्रोत समितिअन्र्तगत समस्या अध्ययन गर्न उपसमिति बनाउन पहल लिइने बताए ।
मोही किसानले सभासद्हरू रविन कोइराला (झापा), दलबहादुर सुनार (बाँके), जीतु गौतम (झापा), जनार्दन ढकाल (रसुवा), नरेश खरेल (झापा) र छोवाङतेन्जिन तामाङ(रसुवा)लाई भेटी समस्या बताए । बाँकेका ७१ वर्षिय मोही किसान सलारु वागवानले आफूले वृद्धा अवस्था हुँदा समेत मोही हक पाउन नसकेको दुःखेसो पोखे ।

९ वर्षदेखि भूमि सुधार कार्यालयमा तारेक धाइरहेका छौं, तारेकबाट उन्मुक्ति पाउन सकिएन जमिनको हक कहिले पाउँछौं ? वागवानले सभासद्हरुसँग सोधे । सबै दलको मुख्य सचेतक र तीन दलका शिर्ष नेताहरूलाई भूमि अधिकार मञ्चले भेटेर समस्या राख्न सुझाएका छन् । सभासद् छोवाङ्तेन्जिन तामाङले कृषि तथा जलस्रोत समितिमा भूमि सुधार, बिर्ता र गुठी सवाल उठाइरहेको जानकारी गराऐ । उनले कृषि तथा जलस्रोत समितिका सबै सदस्यहरूसँग छलफल गरी माग पत्र समेत बुझाउनु पर्ने बताए ।


  •  
  •  
  •