‘…त्यही भएर हामी सम्मेलनमा सहभागि नभएको हो भनेर भन्नुस्’

98
  •  
  •  
  •  

शान्ति र संविधानका पक्षमा सहयोगी भूमिका खेल्न चाहिरहेका छौँ: बैद्य
‘हामी अझै पनि सर्वपक्षीय सम्मेलनमा जान तयार नै छौं’
सर्वपक्षीय राजनीतिक सम्मेलन भाँडिएको विषयमा यतिबेला चर्चा परिचर्चाको विषय बनेको छ । सम्मेलनको प्रमुख माग राख्ने नेकपा– माओवादी सम्मेलनको अन्तिम समयमा सहभागि भएन । सरकारले आयोजना गरेको सम्मेलन नगएपछि संविधानसभाभित्र रहेका मुख्य दल र नेकपा–माओवादीबीच आरोप प्रत्यारोप समेत गरेका छन् । यसै विषयमा ओएनएस न्यूजले नेकपा–माओवादीका अध्यक्ष मोहन बैद्य ‘किरण’सँग गरेको संक्षिप्त कुराकानी :

तपाईंहरु आफ्नै मागबाट किन पछाडि हट्नु भयो ?

हाम्रो माग अहिले पनि जस्ताको त्यस्तै छ । हामीले भनेको गोलमेच सम्मेलन र गर्न खोजिएको गोलमेच सम्मेलनमा कुरा मिलेन । सम्मेलनको कार्यसूची एउटा तर, उद्देश्य अर्को भएपछि कसरी भाग लिने ? कार्यसूची क्षेत्राधिकारलगायतका विषयमा सत्तारुढ दलहरु सहमत हुन सकेनन् ।यदि हाम्रो माग अनुसार गोलमेच हुन लागको हो भने हाम्रा एजेण्डा हुनुपर्छ कि पर्दैन भन्नुहोस त ?

तपाईहरुका एजेण्डा त तपाईहरुले सम्मेलनका क्रममा राखे हुन्नथ्यो ?

सम्मेलनमा राख्नुअघि के विषयमा छलफल गर्ने भन्ने विषयमा तय हुनुपर्छ । हामीले उठाउँदै आएको कुरा संविधानसँग मात्रै सम्बन्धित छैन । सर्वदलीय सम्मेलनलाई संविधानको विषयबस्तुमा मात्र सीमित राख्ने, त्यसमा पनि दलहरुबाट राय सल्लाह र सुझाव लिने प्रकृतिको बनाउने, सम्मेलनबाट कुनै पनि राजनीतिक निर्णयहरु लिन नसक्ने भएपछि कसरी हुन्छ ?

तपाईहरुसँग भएको सहमति र सम्मेलनको निस्कर्ष अनुसार संविधान बनाउछौ भनेका छन् नी हैन र ?

सम्मलेनको पूर्वतयारी, कार्यसूची र मोडालिटीबारे चार दलको बीचमा कुनै पनि लिखित सहमति पनि गर्न नसकिने भएपछि त्यसलाई कसरी विश्वास गर्ने ? त्यसो भए पहिला सम्मेलनका निणर्य र निष्कर्ष कार्यान्वयनबारे लिखित सहमति गरौन त भन्दा किन नमानेको त ? हामीले नयाँ संविधान निर्माण, शान्ति प्रक्रियाका कार्यहरु र दूरगामी प्रभाव पर्ने राष्ट्रिय राजनीतिक महत्वका विषयबारे सर्वपक्षीय सहमति कायम गरौं भन्दै आएका छौं । तर, ती विषय सम्मेलनको एजेण्डा नै नबनाइने हो भने हामी कसरी सहभागि हुने भन्नुहोस् त ? हो त्यही भएर हामी सम्मेलनमा सहभागि नभएको भनेर भन्नोस् ।

त्यसो भए तपाईहरुका माग पुरा गछौ भन्ने विषयमा पहिले नै लिखित सहमति भए सम्मेलनमा छलफल गर्नुको अर्थ के त ?
हामीले पहिल्यै माग पुरा गर्नुपर्छ भनेका छैनौं । तपाईले यहाँनेर कुरा बुझ्नु भएन । हामीले के मात्रै भनेका हौँ भने दलहरुबीच वार्ता र संवाद जारी राखौँ अनि सम्मेलनको कार्यसूची, सहमतिले निर्णय गर्न सक्ने क्षेत्राधिकार र सम्मलेनबाट सम्बोधन गर्न नसकिने विषयमा कसरी जाने भन्नेमा सहमति गराँै भनेका हौँ । हाम्रो त खाली प्रक्रिया र एजेण्डाको कुरा मात्रै न हो । असहमति रहेका विषयमा सहमति कायम गर्ने वैकल्पिक उपायहरुबारे लिखित सहमति नहुँदासम्म सर्वदलीय सम्मेलनको औचित्य के रहन्छ ?

तपाईहरु त सम्मेलनमा गए भएको आफ्नो साख पनि सकिने भयो भन्ने निष्कर्षमा पुग्नुभयो पो भन्छन् त ?

कसले भन्छ त्यस्तो ? त्यो वाइवात कुरा हो हेर्नुहोस् । हाम्रो त शान्ति र संविधानका पक्षमा सहयोगी भूमिका खेल्न चाहिरहेका छौँ । तर, मुखले एउटा भन्ने व्यवबहारले अर्कै देखाउने हो भने कसरी हुन्छ सहमति भन्नोस त ?

त्यसो भए अब सर्वपक्षीय सम्मेलनको औचित्य सकियो ?

सकिएको छैन । हामी अझै पनि सर्वपक्षीय सम्मेलनमा जान तयार नै छौँ । तर हामीले भनेका विषयमा नीतिगत मार्गचित्रबारे लिखित सहमति कायम गरेर मात्र सर्वदलीय सम्मेलन आयोजना गर्नु पर्छ भन्ने हाम्रो भनाई हो । त्यसो भयो भने भोलि नै सम्मेलन हुनुसक्छ । अन्यथा जालझेल गरेर हुने सम्मेलनमा हामी सहभागि हुनुको कुनै अर्थ छैन भनेर भन्नोस् ।


  •  
  •  
  •