जातिवादी र मधेशवादीहरुको गठबन्धनले देश समस्यामा : मोहन बिक्रम

897
  •  
  •  
  •  

mohan_bikram_singhरूपन्देही, पुष २४(ओएनएस) : नेपाल कम्युनिष्ट पार्टी (मसाल)का महामन्त्री मोहनविक्रम सिंहले सत्तारुढ र प्रमुख प्रतिपक्ष राजनीतिक दलहरूले आवश्यक भूमिका निर्वाह गर्न नसक्दा माघ ८ मा संविधान नबन्ने बताएका छन् ।

आज एक विज्ञप्ती जारी गर्दै सिंहले अहिलेका सत्तारुढ र प्रतिपक्ष दलको व्यवहारले माघ ८ पछि पनि अनिश्चित समयसम्म संविधान निर्माण नहुने सम्भावना प्रबल भएको नेता सिंहले जनाएका छन् । उनले २०६२–०६३ को आन्दोलनका उपलब्धिहरू समाप्त हुने, गणतन्त्र र लोकतन्त्र संस्थागत हुन नसक्नुका साथै देशको भविष्यमा गम्भीर आँच पुग्ने सम्भावना रहेको बताएका छन् ।

देशको वर्तमान राजनीतिक परिस्थिति, सत्तामा सामेल र प्रतिपक्षमा रहेका दलहरुको गलत व्यवहारका घटनाक्रमलाई नेकपा मसालले गम्भीर रुपमा लिएको नेता मोहनविक्रम सिंहले विज्ञप्तीमार्फत उल्लेख गरेका छन् ।

नेपाली राजनीतिमा भविष्यवाणी गर्ने नेताका रूपमा परिचित सिंहले संविधानको अन्तरवस्तुलाई सत्तारुढ कांग्रेस, एमाले र एमाओवादीको नेतृत्वमा बनेको जातिवादी तथा मधेशवादीहरूको भिन्न-भिन्न गठबन्धनले देशमा भ्रम उत्पन्न गराएको आरोप लगाएका छन् ।

उनले अहिलेको संविधानसभाद्धारा बन्ने संविधान वा त्यसले स्थापित गर्ने गणतन्त्रका आधारमा जनताका आधारभूत समस्या समाधान नहुने बताएका छन् । जनताका आधारभुत समस्या समाधान गर्नका लागि लामो क्रान्तिकारी युद्धको सफलतापछि हुने जनसत्ता निर्माण र जनसंविधान निर्माण आवश्यक रहेको बताए । तर, अहिलेको राजनीतिक स्थिति, राजनीतिक सन्तुलन वा जनताको चेतना तथा संघर्षको स्तरमाथि समग्र रूपले विचार गर्दा अहिले नै त्यस प्रकारका उपलब्धिहरु प्राप्त गर्न सम्भव नभएको नेता सिंहद्धारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ । नेपाल विभिन्न जाति, भाषा र संस्कृति मिलेर बनेको देश भएकाले बहुराष्ट्रिय देश ठान्ने सोचाई देखा पर्नु गलत भएको बताए ।

एकात्मक केन्द्रिकृत शासन प्रणालीको ठाउँमा प्रजातान्त्रिक विकेन्द्रियता र स्थानीय स्वायत्त शासन प्रणाली माथि आधारित एकात्मक शासन प्रणाली अपनाउनुपर्ने विज्ञप्तीमार्फत सुझाव दिएका छन् । एकात्मक शासन प्रणाली पूरै नै सामन्ती र प्रतिक्रियावादी हो भन्ने सोचाई गलत भएको नेता सिंहले बताए । संवैधानिक राष्ट्रपति तथा संसदद्धारा निर्वाचित प्रधानमन्त्री कार्यकारी हुने प्रणालीप्रति नेकपा मसाल उभिएको उनले बताए । अहिलेसम्म अपनाइएको संसदीय प्रणालीको कारणले देशमा राजनीतिक अस्थिरताको स्थिति उत्पन्न भएको कुरा सत्य भएको नेता सिंहले बताए । नेता सिंहले राज्यको पुनर्संरचना गर्नुपर्ने तर संघीय शासनको अंगका रुपमा होइन, एकात्मक प्रणाली अन्तर्गतका प्रशासनिक इकाईहरुका रुपमा नै प्रदेशहरुको गठन गर्नुपर्ने बताए ।


  •  
  •  
  •