माओवादीमा विवाद चुलिँदै, वैद्य चेपुवामा

101
  •  
  •  
  •  

काठमाडौं ५ असोज ।
केन्द्रीय सदस्य अनिल शर्मामाथि भएको कारबाही प्रकरणलाई लिएर नेकपा-माओवादीमा महासचिव रामबहादुर थापा ‘बादल’ र नेत्र विक्रम चन्द ‘विप्लव’ बीच सुरु भएको विवाद चुलिएको छ। थापा र चन्द एकले अर्कोलाई निषेध गर्ने अवस्थामा पुगेपछि अध्यक्ष मोहन वैद्य दुई नेताको चेपुवामा परेका छन्।

आन्तरिक रूपमा विवाद मिलाउने प्रयास असफल भएपछि वैद्यले असोज ८ गतेका लागि पोलिटब्युरो बैठक बोलाएका छन्। थापा दक्षिणपन्थी दिशामा अग्रसर हुँदै पार्टीलाई ध्वस्त बनाउन खोजेको आरोप चन्द पक्षले लगाएको छ भने चन्द पक्षले अराजकता मच्चाउँदै हिँडेको आरोप थापा पक्षको छ।

सर्वपक्षीय राजनीतिक सम्मेलनमा सहभागी हुनुपर्ने थापा पक्षको चाहना चन्द पक्षका कारण धुमिल भएको थियो। आन्तरिक विवादमा छलफल गर्न बैठक बोलाइएको स्रोतले जनाएको छ।

भारतको जीएमआर इनर्जी लिमिटेडसँग सरकारले गरेको माथिल्लो कर्णाली जलविद्युत् आयोजना विकास सम्झौता (पीडीए) को विरोधमा पनि वैद्य र चन्दले छुट्टाछुट्टै प्रेसवक्तव्य जारी गरेर फरक प्रकृतिका संघर्षका कार्यक्रम घोषणा गर्नुले पार्टीभित्रको अन्तरसंघर्ष चुलिँदै गएको विश्‍लेषण नेताहरूको छ।

एउटै इमेलबाट शनिबार आएको अध्यक्ष वैद्यको वक्तव्य शालीन छ भने चन्दको वक्तव्य आक्रामक छ। वैद्य थापासँग निकट मानिन्छन्। स्रोतका अनुसार दसैंका बेलामा बन्द गर्न नहुने थापाको अडानमा चित्त नबुझेपछि चन्दले आफ्नो कमान्ड क्षेत्रमा बन्द आह्वान गरेका छन्। चन्दले थापामार्फत वैद्यमाथि प्रहार गरेको स्रोतको दाबी छ।

वैद्यले पीडीएले जलस्रोतमाथि नेपालको सार्वभौम अधिकार हनन गरेको भन्दै असोज ७ गते मुलुकभर विरोध प्रदर्शन गर्ने घोषणा गरेका छन् भने चन्दले त्यसबाट राष्ट्रघात र जनघात भएको भन्दै सोही दिन पश्चिम कमान्डका भेरी-कर्णाली, सेती-महाकाली र थारुवान राज्यअन्तर्गतका जिल्ला बन्द आह्वान गरेका छन्।
भेरी-कर्णाली राज्य इन्चार्ज मायाप्रसाद शर्माले अन्‍नपूर्णसँग भने, ‘अध्यक्षले देशभरिको सापेक्षतामा संघर्षका कार्यक्रम गर्न सक्‍ने भन्‍नु र पश्‍चिम कमान्ड इन्चार्जले माथिल्लो कर्णाली जलविद्युत् आयोजनाबाट प्रभावित हुने जिल्ला बन्दको आह्वान गर्नु स्वाभाविक हो। बन्द हाम्रो रहर होइन, बाध्यता हो।’

सम्झौता खारेजीको विरोधमा पश्चिम कमान्डले बन्द आह्वान गरेको चन्दले जनाएका छन्।

माओवादीले राष्ट्रिय हितअनुरूपका प्रावधानसहित सर्वदलीय राष्ट्रिय सहमति कायम गरेर सम्झौता गरिनुपर्ने आवाज उठाउँदै आएको थियो। कांग्रेस र एमाले नेतृत्वको संयुक्त सरकारले त्यसको उपेक्षा गर्दै जबरजस्ती सम्झौता गरेको भन्दै वैद्यले विरोध जनाएका छन्।

नौ सय मेगावाट क्षमताको माथिल्लो कर्णाली जलविद्युत् परियोजनाबारे जीएमआर र लगानी बोर्डबीच सम्झौता हुनुले आफूसहित सम्पूर्ण देशभक्त नेपालीलाई स्तब्ध बनाएको वैद्यले बताएका छन्।
अन्नपूर्णपोष्टबाट


  •  
  •  
  •