काठमाडौं १९ चैत ।
मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीभित्र पार्टी एकताको विषयलाई लिएर मतभेद देखिएको छ । कुपन्डोलस्थित दलको नेवा: राज्य समिति कार्यालयमा अघिल्लो शुक्रबारदेखि जारी केन्द्रीय समितिमा अध्यक्ष वैद्यको राजनीतिक प्रतिवेदनभन्दा भिन्न देखिनेगरी सचिवालय सदस्य रामबहादुर थापाले छुट्टै प्रस्ताव पेश गरेपछि मतभेद थप चुलिएको हो ।
थापाले एकीकृत माओवादीसहित सबै माओवादी विचारधारा राख्ने पार्टी र संगठनसँग विनाशर्त एकता गर्नुपर्ने भन्दै प्रस्ताव राखेका हुन् । उनले तीन पृष्ठ लामो आफ्नो मतलाई ‘पुरक प्रस्ताव’ संज्ञा दिए पनि यो फरक मतकै शैलीमा छ । यसअघि वैद्यको प्रतिवेदनमा राजनीतिक लाइन र सैद्धान्तिक प्रश्न हल नगरी एकता गर्नु उचित नहुने उल्लेख थियो ।
‘पार्टी एकता र विजयका नया सैद्धान्तिक, राजनीतिक तथा सांगठनिक आधार’ शीर्षक प्रस्तावमा थापाले साम्राज्यवादले कम्युनिष्ट एकता हुन नदिएको दाबीसमेत गरेका छन् । ‘उनीहरु (साम्राज्यवादी, प्रतिक्रियावादी) ले सजिलै देशभक्त, जनवादी तथा बामपन्थी शक्तिहरुको मोर्चा निर्माण गर्न दिने छैनन्,’ थापा प्रस्तावमा छ, ‘हाम्रो आफ्नै मनोगतवाद पनि एकताको मार्गमा बाधा बनेको छ ।’ बृहत कम्युनिस्ट एकताका लागि पार्टी नेतृत्वले साहस गर्न सक्नुपर्ने थापाको भनाई छ । सिद्धान्तका नाममा पूर्वाग्रह छाड्न र अनिर्णयको बन्दी हुनबाट बाहिर आउन उनले नेतृत्वलाई आह्वान समेत गरे ।
अर्का नेता सीपी गजुरेलले भने सिद्धान्तनिष्ठ एकतामा कम्युनिस्ट पार्टीले जोड दिनुपर्ने भन्दै एमाओवादीसग एकताको विषयलाई लिएर पहिले ‘आफ्नै दलभित्र एकता हुनुपर्ने’ व्यंग्य गरे । ‘एजेन्डा पार्टी एकताको छ, तर यसैमा दुई–तीन खाले मत छन्,’ उनले भने, ‘पार्टीभित्र छलफल हुनुपहिल्यै यी विषय बाहिर जानुभएन, पार्टीको कार्यदिशा अझै समृद्ध गर्नुपर्छ । त्यसका लागि पहिले राष्ट्रिय सम्मेलन हुनुपर्यो ।’ गजुरेल अब एमाओवादीसग एकता गर्नुको औचित्य नरहने मत राख्छन् ।
अध्यक्ष वैद्यको प्रस्तावमा एमाओवादीसग राखिएका एकताका लागि सातबुदे प्रस्ताव नै अहिले पनि सही रहेको उल्लेख छ । सचिवालय सदस्य थापाले भने निशर्त एकताबाटै माओवादी धारा अघि बढ्न सक्ने दाबी गरेका छन् । अर्का सचिवालय सदस्य कुलप्रसाद केसी ‘सोनाम’ले पनि सुझाव दर्ता गराएका छन् । केही महिनाअघि परि थापाको नेकपा एकीकृतसग पार्टी एकता गरेको वैद्य माओवादी बैठकको मूख्य एजेन्डा पार्टी एकता नै रहे पनि केन्द्रीय सदस्यहरुले बोल्ने क्रममा भिन्न मतहरु राखेका हुन् । १ सय ९९ सदस्यीय केन्द्रीय समितिका अधिकांश सदस्य एमाओवादीसग पार्टी एकताको पक्षमा छन् ।
एकता वैद्यको बाध्यता
यो भिन्न मतको शृंखलामा एमाओवादीबाट साढे तीन वर्षअघि छुटेर गएको पार्टीका अध्यक्ष मोहन वैद्यको भूमिका निर्णायक हुने ठानिएको छ । पहिलो संविधानसभा विना संविधान अवसान भएलगत्तै सोही वर्ष अर्थात् २०६९ असार ४ गते त्यस बेलाको पहिलो ठूलो दल एमाओवादीबाट फुटेर गएका वैद्यले आफ्नो नेतृत्वमा नेकपा (माओवादी) घोषणा गरेका थिए ।
दोस्रो संविधानसभा चुनाव बहिष्कार गर्दै उनको दल कतिपय ठाउँमा हिंसात्मक झडपहरुमा समेत सहभागी भयो । युद्धकालीन पृष्ठभूमिका थुप्रै कार्यकर्ता अलगथलग राखेर चुनावमा गएका एमाओवादी ठूलो मत अन्तरले तेस्रो स्थानमा खुम्चिन पुग्दा वैद्य माओवादीले मानसिक सन्तुष्टि लिएको नेताहरुका अभिव्यक्ति र ‘बडी ल्याङ्वेज’ बाट बुझिन्थ्यो । तर उनीहरु स्वयंले भने कुनै वैकल्पिक पहलकदमी लिन सकेनन् ।
कान्तिपुरबाट