आम्दानी नगरी एकथोपा पानी खेर जान दिनुहुदैन :अर्थमन्त्री डा महत

157
  •  
  •  
  •  

काठमाडौं ,२९ कात्तिक (ओएनएस) : सरकारले उच्च आर्थिक बृद्वि हासिल गर्न काम गरिरहेको अर्थमन्त्री डा.रामशरण महतले बताए । लगानीको अनुकूल वातावरण बनाई बढी लगानी आकर्षित गर्ने काममा सरकार लागि परेको उनले जानकारी दिए ।

माइक्रोबायोलोजी सम्वन्धी पाँचौ सम्मेलनको उद्घाटन गर्दै महतले यस्तो बताएका हुन् । साथै निर्धारित समयमा संबिधान जारी हुनेमा विश्वस्त रहन आग्रह गरे ।

उनले अन्य मुलुकको तुलनामा नेपाल साधन र स्रोत भएर पनि पछि परेको बताए । साथै साधन र स्रोतको परिचालन गर्न सिर्जनशीलता, आविस्कार, नयाँपन, कडा मेहनत र स्पष्ट दृष्टिकोण चाहिने बताउदै  सबैले अव यस्तै व्यवहार र सोचलाई बढावा दिन आआफ्नो क्षेत्रबाट सहयोग गर्नुपर्नेमा जोड दिए ।

उनले बर्षेनी विश्वविद्यालयहरुबाट अध्ययन पूरा गरेर श्रम बजारमा प्रवेश गर्ने युवाहरुलाई रोजगारी दिन सक्ने ताकत कृषि र पर्यटन क्षेत्रमा रहेको जानकारी दिए ।

सरकारले बजेटमार्फत नयाँ नयाँ कार्यक्रमहरुको घोषणा गरी रोजगारी प्रवद्र्धनलाई जोड दिएको छ ।

महतले जलस्रोतको भण्डार भएपनि राजनीतिकरणले अगाडि बढ्न नसकेको बताए  ।

उनले भने  ‘जलबिद्युतको विकासका लागि विदेशी पुँजी र  बजार आवश्यक पर्छ  ।’
महतले पुँजी र बजारको लागि सम्झौताहरु गर्नासाथ देशै बेच्यो भनेर हल्ला गर्ने प्रबृत्तिलाई निरुत्साहित गर्नुपर्नेमा जोड दिए ।
उनले भने  ‘हामीले धेरै पानी पुँजी निर्माण नगरी बगाइसकेका छौं, अव एकथोपा पनि पानी पुँजी निर्माण नगरी बग्न दिनुहुँदैन । ’

उर्जाको प्रवद्र्धनका लागि सरकारले सामयिक निर्णयहरु गर्न थालेको जानकारी दिए ।
अहिले विश्वमा नै स्वच्छ उर्जाको बहस चलिरहेकोले त्यस्तो स्वच्छ उर्जा नेपालले दिन सक्ने प्रचूर संभावना भएको उनको दावी छ ।

महतले माइक्रोबायोलोजीका क्षेत्रमा काम गर्नेहरुले आफ्नो संभावनाको उजागर गर्नुपर्ने आवश्यकता औल्याउँदै नतिजामुखी आकर्षक प्रस्ताव ल्याएमा सरकार सहयोग गर्न तयार रहेको आश्वासन दिए ।

सो कार्यक्रममा नास्टका उपकुलपति प्रा डा जीवराज पोखरेलले विज्ञान र प्रविधिको क्षेत्रमा नेपालमा युवाहरुको आकर्षण बढ्दै गएको आवश्यक पर्ने जनशक्ति तयार रहेको बताए । त्यसैगरी कार्यक्रममा समाजका अध्यक्ष रजनी मल्लले सरकारले विज्ञान र प्रविधिको क्षेत्रमा हुने अनुसन्धानलाई सरकारले सहयोग गर्नुपर्नेमा जोड दिए ।


  •  
  •  
  •