पशुपतिको आगन्तुक पुस्तिकामा के लेखे मोदीले ?

330
  •  
  •  
  •  

काठमाडौ, १९ साउन (एजेन्सी) : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार बिहान पशुपतिनाथको दर्शन गरेका छन् । बिहान साढे ९ बजे पशुपतिनाथ मन्दिर पुगेर करिब ५० मिनेट विशेष पुजाआजा गरेका थिए ।

मोदीले पशुपतिनाथको दर्शनका क्रममा पशुपतिनाथमा रहेको आगन्तुक पुस्तिकामा आफूलाई लागेको केही शब्दहरू लेखेका छन् । उनले करिब १४ लाईनमा करिब ६० शब्दमा पशुपतिनाथको गुनगान गाएका छन् । उनले पशुपतिनाथलाई आस्था तथा विश्वासको अद्धितीय केन्द्र भएको लेखेका छन् । उनले काशीमा रहेको विश्वनाथ र पशुपतिनाथ एकै भएको जनाएका छन् । यस्तै, आफूले साउनको सोमबार पशुपतिनाथ दर्शन गर्न पाउँदा आफू भावविभोर भएको समेत उनले उल्लेख गरेका छन् । प्रधानमन्त्री मोदीले पशुपतिनाथले दुवै देशका जनतालाई जोड्ने विश्वास समेत उक्त आगन्तुक पुस्तिकामा लेखेका छन् ।

उनले आफ्नो हस्ताक्षर गर्दै नाम, पद र मिति समेत लेखेका छन् । उनले नाम तथा ठेगानाको ठाऊँमा समेत आफ्नो नाम लेखेका छन् भने प्रधानमन्त्री, भारत भन्ने समेत जनाएका छन् ।


  •  
  •  
  •