जसले बनाए, उसैले भत्काए मञ्च

118
  •  
  •  
  •  

काठमाडौं ८ मंसिर ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नागरिक अभिनन्दनका लागि लुम्बिनीको मायादेवी मन्दिर परिसरमा आकर्षक मञ्च निर्माण गर्न २ दर्जनभन्दा धेरै मजदुर आइतबार बिहान ११ बजेसम्म असिनपसिन हुँदै खटिएका थिए । निर्माणमा जुटिरहेका मजदुरले १५ मिनेटपछि मञ्च भत्काउन थाले ।

मन्दिर दर्शनका लागि आएका सयौं दर्शनार्थी अचम्ममा परे । मोदीको लुम्बिनी भ्रमण स्थगित भएपछि मञ्च भत्काइएको थियो । ‘मोदीको भ्रमण रद्द भएको लुम्बिनी विकास कोषले भनेपछि मञ्च भत्काउन थालिएको हो,’ मञ्च निर्माणको जिम्मा लिएका भैरहवास्थित पटवा टेन्ट हाउसका सञ्चालक चन्द्रमोहन पटवाले भने, ‘मञ्चका लागि टेन्ट, सोफा र कार्पेट भारतको कानपुरबाट मगाएको थिएँ ।’ उनका अनुसार मञ्च सजावटका लागि फूलको खर्चमात्र उनले ३ लाख भुक्तानी गरिसकेका छन् ।

करिब १५ लाख खर्च हुने मञ्च निर्माणका लागि ५ दिनदेखि २५ मजदुर दिनरात खटिएर लागेका थिए । मञ्चको चारैतिर सीसी क्यामरा जडान भइसकेको थियो । मोदीको लुम्बिनी भ्रमणका लागि कोषले आवश्यक तयारी पूरा गरिसकेको थियो । ‘उहाँको लुम्बिनी भ्रमणका बेला दुवै मुलुकमा रहेका बौद्ध तीर्थस्थललाई समेटेर पर्यटन प्रवर्द्धन गर्ने विषयमा छलफल गर्ने योजनामा थिएँ,’ कोषका उपाध्यक्ष आचार्य कर्मा साङ्बो शेर्पाले भने, ‘त्यस योजनाबारे छलफल गर्ने अवसर नमिल्ने भएपछि सबैलाई दुःखी बनाएको छ ।’ शेर्पा नागरिक अभिनन्दन समारोह समिति संयोजक पनि हुन् ।

भ्रमण तत्कालका लागि रद्द भए पनि कुनै पनि बेला हुन सक्ने सम्भावना व्यक्त गर्दै शेर्पाले अहिले भ्रमण नभए पनि विश्वका अरबौं बौद्ध धर्मावलम्बी र अन्य धर्मावलम्बीका लागि लुम्बिनी उत्तिकै आस्थाको स्थल रहने बताए । ‘छिमेकी राष्ट्र प्रमुख लुम्बिनीमा आइदिँदा राम्रो अवश्य हुने थियो,’ शेर्पाले भने, ‘लुम्बिनीको भ्रमण गर्ने इच्छा

भएर पनि नपाउँदा हामीलाई भन्दा धेरै दुःख उहाँलाई लागेको हुनुपर्छ ।’ दुई मुलुकका बौद्ध स्थलबाहेक बृहत् लुम्बिनीको प्रवर्द्धन गर्नेबारे

पनि मोदीसँग छलफल गर्ने सोच आफूले राखेको उनले बताए ।

लुम्बिनीमा सरसफाइलगायत कार्य तीव्र थिए । गुरुयोजनाअनुरूप निर्माण गरिनुपर्ने सडक मोदीको भ्रमणलाई लक्षित गरेर तयार भएका थिए । भैरहवा क्षेत्रमा समेत धुलाम्मे सडक कालोपत्रे गरिँदा आम जनता लाभान्वित भएका थिए । कोष सदस्य सचिव आजितमान तामाङले मोदीको भ्रमण रद्द हुनुले लुम्बिनीका लागि गर्ने भनिएका ३ सम्झौता अन्योलमा भएको बताए । उनका अनुसार मोदीले लुम्बिनीस्थित मायादेवी मन्दिर परिसरमा स्थायी रूपमा प्रदर्शन गर्न लागिएको ‘लाइट एन्ड साउन्ड शो’ कार्यक्रम, करिब ३३ करोडको लागतमा निर्माण गर्ने योजना रहेको ‘उ थान्त अडेटेरियम हल’ को निर्माणबरे २ वटा सम्झौता हुने र लुम्बिनीको गुरुयोजनाअनुरूप निर्माण बाँकी रहेको कुनै कम्पोनेन्ट पूरा हुने गरी एकमुस्ट सहयोगबारे सम्झौता हुने अनुमान गरिएको थियो ।

भ्रमण रद्द हुनुले निजी क्षेत्र निराश

बनेका छन् । सिद्धार्थनगर उद्योग वाणिज्य संघ अध्यक्ष विष्णु शर्माले भ्रमणका बेला बुद्धिस्ट सर्किट जोड्ने सुरुवात, मोदीकै निर्वाचन क्षेत्र रहेको बनारसस्थित सारनाथ र लुम्बिनीबीच सीधै हवाई उडान सञ्चालन गर्ने र भैरहवादेखि ७ किमि दक्षिण भारतको नौतनवासम्म रहेको ब्रोडगेज रेल वे लाइनलाई भैरहवामा निर्मित विशेष आर्थिक क्षेत्र -सेज) सम्म जोडिदिनका लागि विशेष आग्रह गर्ने योजनामा संघ रहेको बताए ।
कान्तिपुरबाट


  •  
  •  
  •  

Comments are closed.