नयाँ दिल्ली पुगेर मोदीले गरे नेपालको प्रशंसा

290
  •  
  •  
  •  

काठमाडौं, २० साउन (ओएनएस) : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले स्रोतसाधन, प्रतिभा र विविधताको धनी रहेको नेपाल चाँडै नै स्थिर, समावेशी र समृद्ध राष्ट्र बन्ने र त्यो दक्षिण एसियाकै लागि गर्व र बाँकी विश्वका लागि उत्पे्ररणा हुने बताएका छन् ।

दुई दिने नेपाल भ्रमणबाट सोमबार फर्किएलगत्तै नयाँदिल्लीमा जारी गरेको विज्ञप्तिमा प्रधानमन्त्री मोदीले नेपालसँगको आफ्नो व्यक्तिगत सम्बन्धमा भ्रमणले नयाँ आयाम थपेको उल्लेख गरेका छन् ।

नेपालको संविधानसभाका सदस्यहरुसँग साक्षात्कार गर्न पाउँदा आफू सम्मानित भएको र नेपालमा पाएको अद्वितीय माया र सद्भावले आफूलाई घरमै पुगेको जस्तो अनुभूति भएको मोदीले विज्ञप्तिमा उल्लेख गरेका छन् । उनले दुईदिने भ्रमणमा राजनीतिक स्थिरता र आर्थिक समृद्धिका लागि नेपालमा सबैको समान मत रहेकोे आफूले पाएको उल्लेख गरेका छन् ।

नेपाल र भारत मिलेर दुई देशबीचको सम्बन्धको नयाँ जग बसाउनुपर्नेमा जोड दिँदै मोदीले एक्काइसौँ शताब्दीका अवसर र चुनौतीहरुलाई सम्बोधन गर्न दुवै देशलाई सहयोग गर्ने विश्वास व्यक्त गरेका छन् । ‘दुई देशको दीर्घकालीन लक्ष्यलाई यथार्थतामा परिणत गर्न र प्रतिबद्धताहरूलाई व्यवहारमा उतार्न मैले कुनै कसर बाँकी राख्ने छैन,” विज्ञप्तिमा उल्लेख छ ।

आगामी सार्क सम्मेलनमा सहभागी हुन नेपाल पुनः फर्कन र काठमाडौँबाहेक नेपालका अन्य स्थानको पनि भ्रमण गर्न आफू आतुर रहेको पनि मोदीले जनाएका छन् । उनले नेपाल र भारतबीच राजनीतिक सम्बन्ध थप दिगो बनाउनुपर्नेमा जोड दिएका छन् । नेपाली जनताले आफूलाई न्यानो स्वागत गरेको स्मरण मोदीले विज्ञप्तिमार्फत राष्ट्रपति डा. रामवरण यादव, प्रधानमन्त्री सुशील कोइराला, नेपाल सरकार, राजनीतिक पार्टी, संघसंस्था, सुरक्षाकर्मीलगायत सबैलाई धन्यवाद दिएका छन् ।


  •  
  •  
  •