मोदीले गरे संविधान र नेपालको प्रशंसा

175
  •  
  •  
  •  

काठमाडौँ, ८ फागुन(ओएनएस) : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल र भारतको सम्बन्ध अब नयाँ उचाईमा अघि बढ्ने बताएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटपछि संयुक्त पत्रकार सम्मेलनमा भारतीय प्रधानमन्त्री मोदीले प्रधानमन्त्री ओलीसँगको भेटपछि नेपालको सम्बन्ध नयाँ उचाईका साथ अघि बढ्ने दावी गरेका छन् । मोदीले नेपालमा शान्ति, स्थिरता र आर्थिक विकास आफ्नो साझा उदेश भएको बताएका छन् ।

भारतीय प्रधानमन्त्री मोदीले संविधानसँग जोडिएका सबै मुद्दालाई सन्तोषजनक रूपमा निवारण गर्न आग्रह गरे । दुई देशबीच भएका सातवटा सम्झौताको हस्ताक्षर पछि आयोजित समारोहमा मोदीले संविधान घोषणालाई महत्वपूर्ण सफलता समेत भएको बताए ।

दशकौँको संघर्षपछि नेपालको संविधानको रचना र उसको घोषणा एक महत्वपूर्ण सफलता हो सम्बोधनका क्रममा मोदीको भनाई छ । उनले सम्बोधनमा अब नेपालसँग कुनै पनि अपेक्षा, विवाद र मनमुटाव छैन भन्ने संकेत देखिएको थियो ।

भारतीय प्रधानमन्त्री मोदीले नेपालको आर्थिक उन्नती, विकास तथा सम्पन्नतामा भारतको रूची रहेको बताएका छन् । पछिल्लो केही वर्षमा नेपालले लोकतन्त्र र संघीयताको बाटोमा प्रशंसनीय प्रगति हासिल गरेको बताउँदै मोदीले भारतमा बढिरहेको अतिवाद र आतंकवादबाट उत्पन्न खतरालाई दुवै देशले मिलेर लड्नुपर्ने बताएका छन् ।

उनले व्यापार र लगानी दुईदेशको आधार स्तम्भ भएको भन्दै यसलाई थप बलियो बनाउन प्रयास गरिनुपर्ने उल्लेख गरेका छन् । भारतको आर्थिक उन्नती पनि नेपालको सम्पनताको अर्को पाटो हुन सक्ने सम्भावना औल्याएका छन् ।

यस्तै, मोदीले नेपाल र भारत दुवै देश संस्कृति र परम्पराको साझा उत्तराधिकारी भएको बताएका छन् । उनले पत्रकार सम्मेलनमा आफ्नो भनाई राख्ने क्रममा नेपाली कांग्रेसका दिवंगत नेता सुशील कोइरालाप्रति ऋद्धाञ्जली व्यक्त गरेका थिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पनि नेपाललाई दिएको साथ र सहयोगले आभारी भएको बताए । विश्वको अर्थतन्त्रको पावर हाउसका रुपमा रहेका भारतबाट नेपालले धेरै सिक्नुपर्ने बताए । भेटवार्तामा नाकाबन्दीको कुरा गरेको बताइएपनि पत्रकार सम्मेलनका ओलीले नाकाबन्दीका विषयमा केही उल्लेख गरेनन् ।


  •  
  •  
  •