काठमाडौ, २३ मंसिर(एजेन्सी) : टाइम म्यागाजिनले हरेक वर्ष छान्ने ‘टाइम पर्सन अफ दी इयर’को सूचीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी अटाउन सकेनन् । उनी रिडर्सको भोटका आधारमा मात्र टाइम पर्सन अफ दी इयर बन्न सफल भए तर, टाइम एडिटर्स प्यानलले अन्तिम आठमा मोदीलाई नराखेपछि मोदीको टाइम पर्सन अफ दी इयर बन्ने सम्भावना टुङ्गिएको हो ।
एडिटर्स प्यानलले आठ जना व्यक्तिको नाम छानेको छ र तीनै आठमध्येबाट एक यस वर्षको टाइम पर्सन अफ दी इयर हुनेछ । मोदीले यो उपाधी जितेको अवस्थामा उनी दोस्रो भारतीय नागरिक हुन सक्थे तर, उनी त्यसमा सफल हुन सकेनन् । यसअघि सन् १९३० मा महात्मा गान्धीलाई उक्त उपाधी दिइएको थियो । ‘टाइम अफ दी इयर’को उपाधीको घोषणा बुधबार हुनेछ ।
रीडर्स पोलको शीर्ष १० मा रहेका तीनले मात्र अन्तिम आठमा पर्न सफल भएका छन् । अमेरिकी राष्ट्रपति बाराक ओबामा रीडर्स पोलमा ११ औ नम्बरमा झरेका थिए ।
टाइमको अनलाईन रिडर्स पोल शनिबार आधी रातसम्म खुलेको थियो । यसमा करिब ५० लाख भोट खसेको थियो । मोदीले उक्त भोटमध्ये ८.१० लाख भोट पाएका थिए । अमेरिकाबाट १८.५० लाख मानिसले भोट गरेका थिए, जबकी भारतबाट ८.५० लाख मानिसले भोट गरेका थिए । पोलमा हङकङका छात्र जोशूआ वोङग र नोबेल पुरस्कार विजेता मलाला युसुफजाई पनि शीर्ष १० स्थानमा थिए । तर, एडिटर्स प्यानलले दुवैलाई अन्तिम आठमा पारेन ।
यस वर्ष टाइम पर्सन अफ दी इयर हुनका लागि छानिएका अन्तिम ८ मा को-को छन्
– ज्याक मा, अलिबाबाका प्रमुख
– इबोला नर्सिङ्ग स्टाफ
– भ्लादिमिर पुटिन, रूसी राष्ट्रपति
– टिम कुक, एप्पल सिईओ
– फर्ग्युसनका प्रदर्शनकारी
– टेलर स्विफ्ट, गायीका
– रोजर गुडेल, एनएफएल कमिश्नर
– मसूद बरजानी, कुर्दिश नेता