निर्धारित मिति भन्दाअघि किन जादैँछन् माेदी चीन ?

चार वर्षमा मोदीकाे चौथो पटक चीन भ्रमण
346
  •  
  •  
  •  

काठमाडाैँ, १३ बैशाख (अाेएनएस) : निर्धारित मिति भन्दाअघि भारतीय प्रधानमन्त्री नरन्द्र मोदी किन जान लागेका छन् चीन भन्नेतिर सबैकाे ध्यान तानेकाे छ। आउँदो शुक्रबार र शनिबार दुर्इ दिन भारतीय प्रधानमन्त्री मोदीकाे चीन भ्रमणमा जादैँछन् ।

भारतीय सञ्चार माध्यमका अनुसार प्रधानमन्त्री मोदी चार वर्षमा चौथो पटक चीनको अनौपचारिक भ्रमण गर्न लागेका छन्।

भारतीय प्रधानमन्त्री मोदी चीन पुगेर चिनियाँ राष्ट्रपति सी जिनपिङसँग वुहान शहरमा ‘वान टु वान’ अर्थात एक्लाएक्लै भेटवार्ता गर्ने कार्यक्रम रहेकाे भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

कुनै विशेष एजेण्डा लिएर एक पक्षले अर्को पक्षलाई मनाउन वा अनौपचारिक रुपमा कुराकानी गरी सहमतिको खोजीका लागि ‘वान टु वान’ वार्ता गरिन्छ । त्यसैले यो भ्रमण गएको वर्ष चीन भारत र भुटानको सीमा क्षेत्र दोक्लाममा दुई देशबीच उत्पन्न तनावलाई सुल्झाउन र चीनलाई खुशी पार्न भारतले गरेको पहलका रुपमा बुझिएको अन्तर्राष्ट्रिय सम्बन्धका विश्लेषकहरुको भनाई छ ।

चीन र भारतबीच धेरै पहिलादेखि विभिन्न क्षेत्रमा प्रतिष्पर्धा तथा साझेदारी गर्दै अाएका छन्। जस्तै यी दुर्इ देशबीच सीमालगायत विषयमा मनमुटाव, विकास र आर्थिक वृद्धिमा प्रतिस्पर्धा अनि व्यापार र बजारमा साझेदारी लगायतका कुराहरु हुँदै अाएका हुन् ।

यी दुई महारथीबीचको सम्बन्ध भूगोल, राजनीतिक, आर्थिक र सामरिक हिसाबले पनि दक्षिण एसियाली अरु देशका लागि चासोको विषय पनि हुन्छ ।

खासगरी आफ्ना छिमेकी सबैजसो देशसँग भारतको हार्दिकतापूर्ण सम्बन्ध नरहेको अवस्थामा चीनले दक्षिण एसियामा आफ्नो उपस्थिती बढाउँदै लगेको छ । पाकिस्तानमा अर्बौँ डलरका योजना सञ्चालन गरिरहेको चीनले नेपाल तथा माल्दिभ्समा बढाएको सहयाेग तथा रुचीमा भारतको ध्यान केन्द्रित भएकाे विश्लेषकहरुले विभिन्न काेणबाट विश्लेषण गर्न थालेका छन्।

भारतीय स्राेतका अनुसार भारतीय प्रधानमन्त्री मोदी कुनै विशेष एजेण्डा तथा उद्देश्यबिना वा आफूलाईप्रत्यक्ष तथा अप्रत्यक्ष फाइदा नहुने हिसाबले विदेश भ्रमण गर्न रुचाउँदैनन् । त्यसैले आगामी जुन महिनामा सांघाई कोअपरेशन अर्गनाइजेशन सम्मेलनमा चीन जाने तालिका हुँदाहुँदै उनी त्यसअघि नै चीन पुग्न लागेका हुन् । यसमा केही विशेष उद्देश्य रहेको आँकलन हुन थालेकाे छ।

कुनै राष्ट्रप्रमुख बिना निमन्त्रणा अन्य देशको भ्रमण गर्नुलाई कुटनीतिक वृत्तमा आफ्नो तर्फबाट गल्ती भएको स्वीकार्दै आपसी तिक्तता साम्य पार्न पहल गरिएको कदमका रुपमा बुझिने गरिएकाे परराष्ट्रविद्हरुकाे भनार्इ छ।

भारतले चीनसँगको सम्बन्ध सुधार गर्न चाहेको संकेत गएको मार्चमा दलाइ लामाको र्यालीमा रोक लगाएर पनि गरिसकेको थियो । दलाई लामाले गएको मार्चमा दिल्लीमा निर्वासनको ६० वर्षको अवसरमा आयोजना गर्न लागेको र्‍याली निषेध गरेको थियो ।

 


  •  
  •  
  •