मोदी भ्रमण तालिकाबारे नेपाली दुतावासलाई जानकारी छैन्

203
  •  
  •  
  •  

काठमाडौं १७ साउन (ओएनएस) :
निकटस्थ छिमेकीसँग सक्दो मैत्री र सद्भावको सम्बन्ध राख्ने नीतिअनुसार प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भ्रमण गर्न लागेको भारतीय विदेश मन्त्रालयले जनाएको छ ।

भारतीय विदेश मन्त्रालयले शुक्रबार अपरान्ह गरेको ‘ब्रिफिङ’ मा प्रवक्ता साइद अकरुवद्धिन र नेपाल मामला हेर्ने सहसचिव (जेएस–नर्थ) अभय ठाकुरले प्रधानमन्त्री मोदीको ‘इच्छा र प्राथमिकतामा छिमेकी राष्ट्रको भ्रमण’ सम्भव भइरहेको बताए । संयुक्त लोकतान्त्रिक गठबन्धन(एनडीए) गठबन्धन सरकार आएको दुइ महिनामैं प्रधानमन्त्री मोदीले भुटान भ्रमण गरेका छन् भने आइतबारबाट दुइ दिने नेपाल भ्रमणमा निस्कँदैछन् ।

‘१७ बर्षअघि तत्कालिन प्रधानमन्त्री आइके गुजरालले द्वैपक्षीय तहमा नेपाल भ्रमण गर्नुभएको थियो,’ प्रवक्ता अकरुद्धिनले भने, ‘यस बीचमा नेपालबाट राष्ट्र प्रमुख हैसियतमा ६ पटक र प्रधानमन्त्रीले ९ पटक भारतको भ्रमण गर्नुभएको छ ।’

सहसचिव ठाकुरका अनुसार प्रधानमन्त्री मोदीले एमाले अध्यक्ष केपी शर्मा ओली, एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल, मधेशी मोर्चासम्बद्ध नेता, नेपाली कांग्रेसको पार्टीगत तह र उद्योगी–व्यवसायीको समुहमा पनि भेटघाट गर्ने जानकारी दिए । यस्तै, संविधानसभामा सम्बोधन गर्ने र पशुपतिनाथमा बिशेष पुजाआजा गर्ने प्रधानमन्त्री मोदीको कार्यक्रमबारे पनि ब्रिफिङमा जानकारी गराइयो । प्रवक्ताले प्रधानमन्त्रीको भ्रमण ‘काठमाडौं केन्द्रित’ हुने जानकारी गराए ।

तर मोदीको भ्रमण तालिकाबारे शुक्रबार अपरान्हसम्म पनि दिल्लीस्थित नेपाली दुतावासलाई जानकारी गराइएको छैन । भ्रमणमा दुतावासका तर्फबाट ‘ब्रिफिङ’ गर्न कार्यबाहक राजदूत कृष्णप्रसाद ढकाल पनि शनिबार काठमाडौं जाँदैछन् ।
कान्तिपुरबाट


  •  
  •  
  •