मोदीको सुरक्षाका लागि संयुक्त ‘रेकी’ सुरु

59
  •  
  •  
  •  

काठमाडौं १६ साउन (ओएनएस) :
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणमा चुस्त सुरक्षा मिलाउन सुरक्षा अधिकारीहरूको टोलीले बिहीबार राष्ट्रपतिभवन शीतल निवासदेखि बौद्धस्थित हायात रिजेन्सी होटेलसम्मको रेकी (भ्रमणस्थल निगरानी) गरेको छ।

नेपाली सेनाका भीभीआई सुरक्षा प्रमुख, नेपाल प्रहरी र सशस्त्र प्रहरीका डीआईजी तहका अधिकृतसहित मोदीका निजी सुरक्षाकर्मी सामेल रेकी टोलीले भीभीआईपी हिँड्ने बाटो, बस्ने आसन र द्विपक्षीय वार्ता हुने बैठक कक्षको समेत अध्ययन गरेको हो। यस क्रममा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँबानेश्वरस्थित संसद् भवन र त्यसवरपरको सुरक्षा अवस्थाबारे पनि अध्ययन गरियो।

टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि सोल्टी होटेलसम्मको सुरक्षा अवस्थाको पनि स्थलगत अध्ययन गर्ने भएको छ। गृह मन्त्रालय स्रोतका अनुसार त्रुटिरहित सुरक्षा व्यवस्थाका लागि रेकी कार्य दोहो:याइनेछ।

भ्रमण अवधिभरको सुरक्षाको जिम्मेवारी नेपाली सेनाले र प्रारम्भिक सूचना प्राप्त भएअनुसार मोदीको भ्रमण दलमा सहभागी हुने सात मन्त्री तथा उच्चपदस्थ अधिकारीको सुरक्षाको जिम्मेवारी नेपाल प्रहरीले पाएको छ। महानगरीय प्रहरी आयुक्तको नेतृत्वमा भ्रमण दलका सबैको सुरक्षा व्यवस्था मिलाउने भनिए पनि खतरा मूल्यांकन समितिको रिपोर्टका आधारमा काम विभाजन गरिएको उच्च स्रोतले बतायो।

गृहसचिव सूर्य सिलवालको नेतृत्वमा सबै सुरक्षा प्रमुख र नेपाली सेनाका प्रतिनिधिबीच सुरक्षा व्यवस्थापनबारे बिहीबार नै तीन घन्टा लामो छलफल पनि भएको थियो। गृह मन्त्रालयका प्रवक्ता लक्ष्मीप्रसाद ढकालले भारतीय प्रधानमन्त्रीको भ्रमणको सुरक्षा प्रवन्धबारे छलफल भएको बताए। छलफलमा मोदीका लागि विशेष विमानमा भारतबाट ल्याइएका बुलेटप्रुफ गाडी, सञ्चार उपकरण र तिनको प्रयोगका बारेमा समेत छलफल भएको थियो।

भारत सरकारले नेपाल सरकारको अनुमतिमा बिहीबार बिहानै दुईवटा स्कोडा र एउटा टाटा कम्पनीको बुलेटप्रुफ गाडी मोदीको यात्राका लागि पठाएको छ। भारतीय वायुसेनाको के ३०१३ कलसाइनको जहाजमा यी सामानका साथै २२ सुरक्षाकर्मीसमेत आएका छन्। नेपाली सुरक्षाकर्मीको सहयोगमा ती गाडी र सुरक्षाकर्मीलाई भारतीय दूतावास लैनचौर पुर्‍याइएको थियो।

सुरक्षा बैठकमा भारतको जोगबनी नाका हुँदै विराटनगरबाट काठमाडौं आएको २० सदस्यीय भारतीय सुरक्षा अधिकारीको टोलीबारे पनि छलफल भएको स्रोतले बतायो। नेपालस्थित भारतीय दूतावासमा काम गरिसकेका अधिकृत पुरुषोत्तमकुमार सालियाको नेतृत्वमा रहेको उक्त टोली बुधबार काठमाडौं आएको हो।

सुरक्षा बैठकमा आआफ्नो जिम्मेवारीबारे ब्रिफिङ गरिएको थियो भने मिडिया र ट्राफिक व्यवस्थापनबारे पनि छलफल भएको थियो।-अन्नपूर्णपोष्ट


  •  
  •  
  •