मोदीलाई जनकपुरमा अभिनन्दन

131
  •  
  •  
  •  

काठमाडौं २६ कात्तिक ।
दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) शिखर सम्मेलनमा सहभागी हुन आउन लागेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई जनकपुर र लुम्बिनीमा नागरिक अभिनन्दन गरिने भएको छ । उनले दुवै स्थानमा त्यहाँको महत्वबारे प्रवचन दिने गरी अभिनन्दनको तयारी भएको जानकारी आएको परराष्ट्र अधिकारीले बताए । रामजानकी मन्दिरमा विवाह पंचमीको अवसरसमेत परेकोले त्यहाँको पुजा आरधनाछि त्यस्तो कार्यक्रम गर्न लागिएको हो । लुम्बिनीमा पनि जनकपुरकै जस्तो कार्यक्रम राखिएको ती अधिकारीले बताए । तर दुवै कार्यक्रमबारे दूतावासले अहिलेसम्म लिखित जानकारी भने गराएको छैन । यसले सरकारी पक्षको दुविधा बढाएको छ ।

भारतीय प्रधानमन्त्री मोदी भारतको पटनाबाट भित्तामोड हुदै गाडीमा महोत्तरीस्थित नेपाली सेनाको शेरगण पर्काउली ब्यारेजमा मंसिर ९ को बिहान आइपुग्uने कार्यक्रम छ । उनलाई नेपाली सेनाको क्याम्पबाट सेनाकै हेलिकोप्टरले जनकपुरको १२ विघाको प्राङगणमा पुर्‍याउने छ । १२ बिघाबाट मन्दिर परिसर सात सय मिटर टाढा रहेकाले त्यहाँसम्म उनलाई पुनः गाडीमा नै लगिने छ ।

सरकारले जनकपुरमा मोदीको स्वागतदेखि अन्य ब्यवस्थापनका लागि भौतिक पूर्वाधार तथा यातयात मन्त्री विमलेन्द्र निधीलाई जिम्मेवारी तोकेको छ । उनले त्यहाँका स्थानीयसंगको समन्वयमा सबै ब्यवस्थापन गरिरहेको जानकारी प्रधानमन्त्रीलाई मंगलबार दिएका छन् । उनले जनताहरुले अभिनन्दन गर्न चाहेकोले कसरी ब्यवस्थापन गर्ने भनेर समेत छलफल गरेका छन् ।

त्यहाँका राजनीतिक दल र स्थानीयहरुको तयारीलाई सुरक्षा निकायको विशिष्ट टोलीले अवलोकन गरेको छ । सुरक्षाको दृष्टिकोणबाट कुनै असहज नहुने जानकारी गृहलाई दिइएको छ । मन्दिरमा पुजा गरिसकेपछि र्फकने क्रममा उनलाई १२ विघाको प्राङ्गढमा अभिनन्दन गर्न लागिएको एक अधिकारीले बताए । त्यहाँ उनको उपस्थितीमा भारतीय सरकारको सहयोगमा आएका केही साइकलहरु समेत बाड्ने कार्यक्रम रहेको छ । साथै थप सहयोगको घोषणा समेत गर्नेछन् ।

त्यहाँको विकास र जनकपुरको महत्वबारे मोदीले बोल्ने कार्यक्रम छ । जनकपुरमा मंसिर आठदेखि रामको जन्ती आउने र बैवाहिक प्रक्रिया अघि बढ्ने हुनाले पनि मोदीले सोही जन्तीमा समेत हुनसक्ने एक अधिकारीले बताए । भारतीय जनता पार्टीका एक नेताको नेतृत्वमा यसपटक ठूलो जन्ती ल्याउने तयारी छ ।

यसको सबै सुरक्षा ब्यवस्थाको अनुगमन सरकारले गरिसकेको छ । गाडीमा मोदी आउदा बाटोमा उनी झरेर त्यहाँको समुदायलाई समेत भेट्न सक्ने हुनाले त्यहीअनुरुपको सुरक्षा ब्यवस्था मिलाइएको एक अधिकारीले बताए । सुरक्षाको ब्यवस्था निरीक्षण गर्न नेपाली सेनाका बलाधिकृत रथी पवनबहादुर पाण्डेको नेतृत्वमा एक विशेष टोली मंगलबार तिनै क्षेत्रको अध्ययन गरेर फर्केको छ । उक्त टोलीले मुक्तिनाथ, लुम्बिनी र जनकपुरको निरीक्षण गरेको हो । भारतीयले खोजेको सम्मानसहित नै सुरक्षा प्रवर्द्धन गर्न सकिने उनीहरुको निश्कर्ष छ ।

लुम्बिनी र मुक्तिनाथमाभन्दा पनि जनकपुरमा मोदीको कार्यक्रम विशेष रहेको टोलीका एक अधिकारीले कान्तिपुरसंग भने । मोदी धनुषाबाट काठमाडौ आउनेछन भने उनले सोही दिन काठमाडौंमा रहेको ट्रमा सेन्टरको उद्घाटन समेत गर्नेछन । त्यसपछि उनी राजनीतिक भेटघाटमा सक्रिय हुनेछन । उनी १० मा शिखर सम्मेलनमा सहभागी हुनेछन । शिखर सम्मेलनको क्रममा धुलिखेल पनि जाने कार्यक्रम छ । शिखर सम्मेलनपछि उनी मुक्तिनाथ जानेछन ।

हेलिकोप्टरमा मुक्तिनाथ पुगेपछि उनी २० मिनेट हिडेर मन्दिरमा पुग्ने र पुजा अर्चना गर्ने कार्यक्रम छ । त्यसपछि भारतीय सहयोगमा निर्माण गर्न लागिएको खानेपानी परियोजनाको शिलान्यास गरेर यस क्षेत्रको विकासमा भारतको सहयोग रहने सन्देश दिने कार्यक्रम छ ।

करिव एकघण्टा मोदी त्यही रहने छन । त्यसपछि उनी लुम्बिनी आउने कार्यक्रम छ । लुम्बिनीको मायावती परिसरमा नै हेलिप्याड तयार गरिएको छ । त्यहा उनले मायावतीको मन्दिर परिसर घुम्ने र बोधि बृक्ष लगाउने कार्यक्रम तय छ । यसरी बृक्षारोपणपछि त्यहाको मोनास्टिहरु पनि घुम्नेछन । त्यहा उनी लामो समय रहने हुनाले सबै कार्यक्रम अझै स्पष्ट हुन नसकेको एक अधिकारीले बताए । तर उनले त्यहा पनि स्थानीय अधिकारी, राजनीतिकर्मी, भिक्षुहरुसामु लुम्बिनीको महत्वबारे धारणा ब्यक्त गर्नेछन । उनी काठमाडौं फर्केर दिल्ली प्रस्थान गर्ने वा त्यहीबाट जाने भन्ने अझै टुंगो नभएको पनि ती अधिकारीले जानकारी दिए ।

भारतीय प्रधानमन्त्री मोदीको भ्रमणलाई सम्मानजनक बनाउन सरकार लागि परेको एक मन्त्रीले जानकारी दिए । अतिथिको चाहना पुरा गर्न सरकारले कसुर बाकी नराख्ने गरी काम अघि बढेको एक मन्त्रीले बताए । भारतीय दूतावासबाट प्रस्तावित विषयमा अझै टुंगो नलागेकोले यही कार्यक्रम भनेर भन्न नसकिने परराष्ट्र मन्त्रालयका प्रवक्ता खगनाथ अधिकारीले कान्तिपुरलाई बताए । उनले भने, ‘हामी हाम्रा विशिष्ट अतिथिको चाहना राष्ट्रको सर्वोपरि हित हुनेगरि पुरा गर्न कुनै कसुर राख्ने छैनौ ।’

यसैबीच मंगलबार नै प्रधानमन्त्री सुशील कोइरालाको अध्यक्षतामा सिंहदरबारमा बसेको सार्क शिखर सम्मेलन तयारी मूल समितिको बैठकमा प्रधानमन्त्रीले शिखर सम्मेलन मुलुकको प्रतिष्ठासंग जोडिएको विषय भएकोले यसमा कहि कतै कमजोरी हुन नदिन निर्देशन दिएका छन । प्रधानमन्त्रीले सार्कको आयोजनापछि बिमस्टेकको शिखर सम्मेलन आयोजना गर्नुपर्ने भएकोले सुरक्षासहित कुनै पनि क्षेत्रमा कमजोरी हुन नहुने बताए ।

उक्त बैठकमा गृहमन्त्री बामदेव गौतमले सुरक्षाको विषयमा कुनै समस्या नभएको र अहिले आएका सबै प्रस्ताव अनुरुप काम अघि बढाउन सकिने धारणा राखेकेा एक सहभागीले बताए । उनले सुरक्षा निकायबाट भएको तयारी स्पष्ट पारेका थिए । श्रीलंकाका राष्ट्रपति महिन्दा राजापाक्ष र मोदी उपत्यका बाहिर जाने भएका छन । अन्य भने धुलिखेलमा र यहाको अन्य धरोहर हेर्नेमा सीमित हुने जानकारी मुल समारोह समितिलाई दिइको छ ।

बैठकमा परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले क्रममा परराष्ट्र मन्त्रालयको तयारी सुनाए । अतिविशिष्ट अतिथिहरुको आगमन, बसोबास, रिटि्रट, सार्क सम्मेलनका अवसरमा गरिने सहमति र संझौता लगायतका विषयमा प्रधानमन्त्रीलाई जानकारी गराएका थिए ।

सार्वजनिक बिदाबारे छलफल

विद्यालयहरु चार दिन बन्द गर्न सरकारको निर्देशन गएको छ भने मंसिर छ देखि १२ सम्म निजी तथा भाडाका सवारी साधनहरु जोर विजोरका तवरले संचालनमा ल्याउन गृहको सुझाव रहेको छ । त्यस्तै सेवाग्राहीलाई सहजता र सुरक्षाको दृष्टिकोणले मुख्य सम्मेलन हुने दिन १० र ११ गते सार्वजनिक बिदा घोषणा गर्न पनि गृहमन्त्रालयले प्रस्ताव गरेको उपप्रधानमन्त्री गौतमका सहयोगी विश्वमणी सुवेदीले बताए ।
कान्तिपुरबट


  •  
  •  
  •