मधेसी नेतालाई मोदीको मलम

232
  •  
  •  
  •  

काठमाडौं : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मधेसी नेताहरूलाई सकेसम्म लचकदार भएर संविधान निर्माणमा लाग्न सल्लाह दिएका छन्। उनले संविधान निर्माणका लागि अड्डी कसेर नबस्न र आफ्नो देशलाई चिन्न पनि मधेसी नेताहरूलाई सुझाएका छन्।
मधेस केन्द्रित राजनीतिक दलका नेतासँग मंगलबार साँझ सोल्टी होटेलमा भेट गर्दै मोदीले मधेसीका मुद्दा सम्बोधन नै नहोस् भन्न नखोजेको तर एउटा बटमलाइन बनाएर प्रस्तुत हुन सल्लाह दिएको बताएका थिए। उनले सत्तारूढ दलको प्रस्तावमा मधेसी दलहरूको निकटताको बिन्दु खोज्ने प्रयास गरेका थिए। उनले कांग्रेस र एमालेले प्रस्ताव गरेका संविधानका विवादित बुँदाबारेका अवधारणामा मधेसीको भिन्नताबारे प्रश्न गरेका थिए।
तराईमधेस लोकतान्त्रिक पार्टीका महामन्त्री सर्वेन्द्रनाथ शुक्लले भने, ‘सहमतिको संविधान चाँडो बनाउन अधिकतम लचकताका साथ प्रस्तुत हुन उहाँले सुझाव दिनुभयो।’

विकास निर्माणका माग मधेसी नेताहरूले राखेपछि उनले मधेसलाई जनकपुर आएर सार्वजनिक रूपमै सम्बोधन गर्ने आश्वासन दिए। भेटमा सहभागी सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले अन्नपूर्णसँग भने, ‘मधेसका लागि केके गर्नुपर्ने हो, म जनकपुर आएर सार्वजनिक रूपमै घोषणा गर्छु भनेर आश्वासन दिनुभएको छ।’
मोदीले नेपालमा संविधान आएपछिमात्रै मधेसको विकासको कुरा उठ्नुपर्ने सुझाव दिएको पनि महतोले बताए। ‘मैले रामनवमी वा संविधान घोषणाको दिन जनकपुर आइदिन आग्रह गरेको छु’, महतोले भने।
मधेसी जनाधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले आफूले मधेसको विकासका कुरा उठाएकोमा मोदीले जनकपुरमै आएर सम्बोधन गर्ने बताएको उल्लेख गर्दै अन्नपूर्णसँग भने, ‘उहाँले संविधान निर्माण छिटो होस् भन्नुभयो, मैले मधेसको विकासको कुरा गरें।’
मोदीले मधेसी नेताहरूले अघिल्लोपल्ट नेपाल आउँदा मधेसका विषयमा नबोलेको गुनासोमा मलम लगाउने प्रयास गरेका थिए। उनले भनेका थिए, ‘पहिलोपल्ट आउँदा पनि मेरो आसय त्यही थियो तर समग्रमा बोलेकाले तपाईंहरूलाई सम्बोधन गरेजस्तो नलागेकाले यसपटक मैंले स्पष्ट रूपले मधेसको कुरा बोलिदिएको छु।’
उनले हिमाल, पहाड र तराईले बनेको भूगोल बुझेर संविधान निर्माणमा अडान राख्नु उचित हुनेतर्फ मधेसी नेताहरूको ध्यानाकर्षण गराएका थिए। मधेसी नेताहरूले यसपल्ट मधेसबारे बोलिदिएकोमा धन्यवाद दिएका थिए।
भेटमा तमलोपाका अध्यक्ष महन्थ ठाकुरले राज्य पुनर्संरचनाको मुद्दामा सत्तारूढ दलहरूसँग धेरै फरक परेको भन्दै शासकीय स्वरूप, न्याय प्रणाली र निर्वाचन प्रणालीमा धेरै भिन्नता नभएको जानकारी दिएका थिए। कुराकानीका क्रममा मोदीले मधेसको जनसंख्याबारे प्रश्‍न गरे भने महन्थ ठाकुरले कुरा नसक्दै सद्भावनाका नेता महतोले मधेसको निर्वाचन क्षेत्रसहित पहाड र मधेसमा जनसंख्याको भिन्नताको तथ्यांक बताएका थिए।
नेता महतोका अनुसार उनले मोदीसँग जनकपुरलाई मोडेल सहर बनाउने प्रस्ताव राखेका थिए। मधेस प्रदेशको राजधानी जनकपुरलाई बनाउने सोचाइ भएकाले आफूले काठमाडौंमै जस्तो ट्रमा सेन्टरसहितको ठूलो अस्पताल बनाउन सहयोग गर्नुपर्ने प्रस्ताव गरेको उनले बताए।
फोरम नेपालका यादवले भारतले मधेसको विकासमा ध्यान नदिएको गुनासो गरेका थिए भने फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदारले ‘पहाडका जनजाति र मधेसमा हामीमाथि अन्याय भएकाले आन्दोलनको अवस्था आएको’ धारणा राखेका थिए। मोदीले भने आन्दोलनतिर नगई समस्या समाधान खोज्न सुझाएका थिए।

– See more at: http://annapurnapost.com/News.aspx/story/3123#sthash.cgz14PPJ.dpuf


  •  
  •  
  •