मोदी ड्यासमै बस्ने

237
  •  
  •  
  •  

काठमाडौं, १६ साउन (ओएनएस) : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी यही १८ गते संसद बैठकलाई सम्बोधन गर्दैछन् । उनलाई कसरी संसद भवनमा प्रवेश गराउने भन्ने विषयमा छलफल हुँदा ड्यासमै राख्ने निर्णय भएको छ । रोष्टम नजिकै नयाँ सिट बनाएर ड्यासमै राख्ने शुक्रबार भएको कार्यव्यवस्था समितिको बैठकले निर्णय गरेको हो । यसअघि मोदीलाई ड्याममा राख्दा प्रधानमन्त्री भने तल सभासदहरुसँगै अगाडिको लहरमा हुने भएकाले प्रोटोकल नमिल्ने हो कि भन्ने चर्चा चलेको थियो ।

दुई दिने नेपाल भ्रमणका क्रममा आइतबार बिहान काठमाडौं आउने मोदीले अपराहृन ४० मीनेट संसदलाई सम्बोधन गर्नेछन् । नेपालको संसदमा विदेशी सरकार तथा राष्ट्रप्रमुखले रोष्टममै उभिएर सम्बोधन गर्न लागेको यो पहिलो घटना हो ।

भारतीय प्रधानमन्त्री मोदीलाई संसदको गेटमा पुग्दा सभामुख नेम्वाङले स्वागत गर्नेछन् । मोदीलाई रातो कार्पेटबाट सभामुखको चेम्बरमा लगिनेछ, जहाँ भेटका लागि कार्यकक्षलाई सजाउने कार्य भइरहेको छ ।

भारतीय प्रधानमन्त्री मोदी र सभामुख नेम्वाङबीच २५ मिनेट वार्ता हुनेछ । यो वार्ताका क्रममा नेम्वाङले मोदीलाई विशेष इलामे चियाले स्वागत गर्नेछन् ।
सभामुखसँगको भेटपछि मोदीले संसदमा गएर सम्बोधन गर्नेछन् । मोदीलाई बाहिरिनुअघि सभामुखले धन्यवाद प्रस्ताव पारित गर्दै संसदको बैठक आधा घण्टाका लागि स्थगित गर्नेछन् ।


  •  
  •  
  •