नेपालका राजनीतिक दललाई भारतीय प्रधानमन्त्री मोदीको सन्देश

94
  •  
  •  
  •  

काठमडौं ४ कात्तिक ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका राजनीतिक दलहरूले प्रतिबद्धता जनाएबमोजिम तोकिएकै समयमा लोकतान्त्रिक संविधान जारी हुने विश्वास व्यक्त गरेका छन् ।

‘लोकतन्त्रमा कानुनको शासन हुनुपर्छ । यसकारण पनि कानुन निर्माण गर्ने र संविधान लेख्ने काम छिटो हुनुपर्छ । जति ढिलो भयो, उति समस्या थपिएर जान सक्छ,’ सार्क शिखर सम्मेलन आयोजक राष्ट्रको हैसियतमा निम्तो दिन दिल्ली आइपुगेका परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेसँग सोमबार अपराह्न भेटवार्ता गर्दै प्रधानमन्त्री मोदीले भने । ७ रेसकोर्स रोडस्थित प्रधानमन्त्री निवासमा आयोजित भेटवार्तामा मोदीले आफू मंसिर १०-११ मा काठमाडौंमा हुन लागेको सार्क सम्मेलनमा सहभागी हुन उत्साहित रहेको बताएका थिए ।

‘सार्क भनेको हामी दक्षिण एसियाली मुलुक र नागरिकको साझा मञ्च हो । यसलाई बढी कार्यमुखी बनाउन र विगतमा पारित प्रस्तावहरूको कार्यान्वयनमा ध्यान दिन हामी केन्दि्रत हुनुपर्छ,’ प्रधानमन्त्री मोदीको भनाइ उद्धृत गर्दै मन्त्री पाण्डेले  भने । मोदीसँगको आधा घन्टा लामो भेटवार्तामा सहसचिव यज्ञ हमाल, कार्यवाहक राजदूत कृष्णप्रसाद ढकालसहितको उपस्थिति थियो ।

दिल्लीपछि अफगानिस्तान र पाकिस्तानमा सार्कको निम्तो दिन जाने मन्त्री पाण्डेले विदेशमन्त्री सुष्मा स्वराजसँग भने तीन महिनाअघि काठमाडौंमा सम्पन्न परराष्ट्र मन्त्रीस्तरीय संयन्त्र बैठकको उपलब्धि तथा मूल्यांकनबारे परामर्श गरेका थिए । जवाहरलाल नेहरू भवनमा आयोजित एक घन्टा लामो समीक्षा बैठकमा मन्त्री पाण्डेले द्विपक्षीय संयन्त्रको छलफलपछि तय भएका कार्ययोजना तय गर्न र प्रस्तावलाई कार्यान्वयनमा लैजान द्रुततर गतिमा काम भइरहेको बताएका थिए ।

‘उक्त बैठकपछि काठमाडौंमा पञ्चेश्वर परियोजनाको कार्यालय खुलेको छ, हुलाकी सडक निर्माणको प्रक्रियालाई गति दिन नयाँ कार्यसमिति गठन भएको छ, सीमा व्यवस्थापनका विषयमा द्विपक्षीय छलफल जारी छ,’ मन्त्री पाण्डेले भने, ‘यसबीचमा ऊर्जा विकास र व्यापारका दुई सम्झौता भएका छन् । भोलि (मंगलबार) काठमाडौंमा ऊर्जा सचिवस्तरीय बैठकमा ऊर्जा व्यापारसम्बन्धी सम्झौतामा हस्ताक्षर हुँदैछ ।’
कान्तिपुरबाट


  •  
  •  
  •