यसरी गरे मोदीले पशुपतिमा विशेष पूजा

388
  •  
  •  
  •  

काठमाडौँ, १९ साउन (ओएनएस) : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पशुपतिनाथमा सोमबार बिहान करिब एक घण्टा समय लगाएर रुद्राभिषेक पूजाअर्चना गरेका छन् । दुईदिने नेपालको औपचारिक भ्रमणको क्रममा आएका उनले विशेष पूजाको अवसरमा पञ्चामृत स्नानसमेत गरे । उनले असाध्यै धैर्य र शालिनापूर्वक सबै विधि पु¥याएर पूजाअर्चना गरेको पशुपति क्षेत्र विकास कोषले जानकारी दिएको छ ।

modi at pashupatinath

मोदीले पूजाको क्रममा पशुपतिनाथको दक्षिण दिशामा बसेर तीन पूजारीका साथ र मूलभट्टले पूजा लगाएका थिए । पूजाअर्चनाको क्रममा खुसि देखिएका मोदीले संक्षिप्त कुरा गर्दै नेपालमा आएर पशुपतिनाथको दर्शन गर्न पाएकोमा हर्षित भएको प्रतिक्रिया दिएको कोषले जनाएको छ ।

विशेष पूजाका क्रममा वेद विद्याश्रम वनकालीमा अध्ययनरत १०८ बटुकले स्वस्तिवाचन गरेका थिए । आश्रमकै शिक्षक माधव ढङ्गेललगायतको समूहले रुद्री पाठ गरेको थियो । सो क्रममा मोदीले भारतबाट ल्याइएको करिब तीन करोड रुपैयाँ मूल्य बराबरको चन्दन कोषलाई हस्तान्तरण गरे ।  हिन्दु धर्मालम्बीका लागि साउने सोमबारका अवसरमा पशुपतिनाथमा गरिने पूजाअर्चनालाई विशेष मानिन्छ ।

प्रधानमन्त्री मोदीको सवारीलाई सहज बनाउन पशुपतिनाथ मन्दिर परिसरमा बिहान ८ बजेदेखि नै सर्वसाधारणलाई प्रवेशमा रोक लगाइएको थियो भने उनले ९ः३० देखि १०ः३० सम्म विशेष पूजाअर्चना गरेका थिए । विशेष पूजाका लागि उनी पशुपति क्षेत्रमा प्रवेश गर्दा स्थानीय नेवारी धिमे बाजा र भक्तजनको तालीले स्वागत गरेका थिए । यस्तै पञ्चेबाजा बजाएर वातावरणलाई थप रौनक बनाइएको थियो ।

मोदीको स्वागतका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भीम आचार्य पशुपति क्षेत्रमा पुगेका थिए । यसैगरी सवारी मन्त्रीका रुपमा तोकिएका सूचना तथा सञ्चार मन्त्री डा मीनेन्द्र रिजाल प्रधानमन्त्री मोदीका साथ मन्दिर आएका थिए ।


  •  
  •  
  •