मोदीको भ्रमणमा पिटिए र पिडिए दुवै हुने

120
  •  
  •  
  •  

काठमाडौं १७ साउन (ओएनएस) :
गामी आइतबार नेपाल आउन लागेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमण कार्यक्रम सरकारले औपचारिक रुपमा सार्वजनिक गरेको छ।

परराष्ट्र मन्त्रालयले शुक्रबार पत्रकार सम्मेलन गरी मोदी भ्रमण कार्यक्रम र समयतालिका सार्वजनिक गरेको हो। परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले मोदीको स्वागतका लागि सरकार पूर्ण रुपमा तयार रहेको र भ्रमणसम्बन्धी सबै प्रबन्ध मिलाइसकिएको जानकारी दिए।मोदीको भ्रमणकै बेला नेपाल र भारतबीच उर्जा व्यापार सम्झौता (पिटिए) र आयोजना विकास सम्झौता (पिडिए) दुवै हुने पाण्डेले बताए।

सत्र वर्षपछि हुन लागेको भारतीय प्रधानमन्त्री मोदीको भ्रमणलाई सरकारले विशेष सम्मान प्रदान गर्ने भएको छ।सरकारले नेपाल भ्रमणमा आउन लागेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई १९ तोपको विशेष सलामी दिने भएको छ।आइतबार बिहान साढे दस बजे विशेष विमानमा काठमाडौं आउने मोदीलाई स्वागत गर्न सुशील कोइराला विमानस्थलको अति विशिष्ट कक्षमा आफै जाने छन्। त्यहाँ उनलाई नेपाली सेनाले विशेष सम्मान गारत अर्पण गर्ने कार्यक्रम छ। विमानस्थलबाट मोदी सिधै बौद्धस्थित हायत होटलमा जाने कार्यक्रम छ।त्यहाँ केहीबेर आराम र ब्रिफिङपछि मोदी दिवाभोजमा सहभागी हुने कार्यक्रम छ। त्यसै दिन प्रधानमन्त्रीसँग भेटवार्ताको कार्यक्रम छ।

आइतबार अपरान्ह भारतीय प्रधानमन्त्री मोदीले संसद्लाई सम्बोधन गर्ने कार्यक्रम छ। आइतबार राति प्रधानमन्त्री सुशीलले मोदीमो सम्मानमा सोल्टीमा विशेष रात्रीभोजको आयोजना गरेका छन्।राष्ट्रपति र प्रधानमन्त्रीबाहेक सबैसँग होटलमै भेटघाटको प्रबन्ध मिलाइएको छ। सोमबार बिहान पशुपतिमा पूजाअर्चना गर्ने कार्यक्रम छ। त्यसका लागि मोदीसँगै केही पण्डितहरु काठमाडौं आउँदै छन्। त्यसपछि राष्ट्रपतिसँग भेटवार्ताको कार्यक्रम छ। त्यसैदिन दुई देशबीचमा औपचारिक केही समझदारी तथा सम्झौतामा हस्ताक्षर गर्ने कार्यक्रम राखिएको छ।

मोदीको भ्रमणका लागि भारतीय सेनाका दुईवटा विशेष विमान काठमाडौं ल्याइने छ। सुरक्षालाई ध्यानमा राखेर हतियार जडित बुलेट पु्रफ विशेष कार पनि भारतबाटै ल्याइएको छ। मोदीको भ्रमण दलका सत्तरीजनाभन्दा बढी भारतीय अधिकारी तथा सदस्य संलग्न रहने बताइएको छ।

भारतीय प्रधानमन्त्रीबाट सत्र वर्षपछि नेपालको भ्रमण हुन लागेको हो। तत्कालीन भारतीय प्रधानमन्त्री इन्द्रप्रसाद गुजरालको भ्रमणपछि भारतका कुनै पनि प्रधानमन्त्रीबाट नेपालको भ्रमण भएको छैन। सरकारको नेतृत्व लिएर दुई महिनापछि नेपालमा हुन लागेको मोदीको भ्रमणलाई निकै महत्व र चासोका साथ हेरिएको छ।

साउन १८ र १९ गतेको मोदीको नेपाल बसाइको कार्यक्रम र समयतालिकाबारे सरकारले सुरक्षा निकायलाई पनि जानकारी दिएर त्यहीअनुसारको तयारी र सतर्कता अपनाउन निर्देशन दिइसकिएको छ।मोदीको भ्रमणका लागि सेनाको कमाण्डमा विशेष सुरक्षा टोली सरकारले परिचालित गरेको छ।
अन्न्पूर्णपोष्टबाट


  •  
  •  
  •