मोदी भ्रमणमै ‘पिटिए’

130
  •  
  •  
  •  

काठमाडौं १४ साउन (ओएनएस) :
प्रमुख तीन राजनीतिक दलले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आसन्न नेपाल भ्रमण क्रममै विद्युत व्यापार सम्झौता (पिटिए) गर्ने सहमति गरेको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार साँझ बसेको नेपाली कांग्रेस, नेकपा एमाले र एकीकृत माओवादीका शीर्ष नेताहरूको बैठकले भारतीय प्रधानमन्त्रीको भ्रमण क्रममा पिटिए गर्ने सहमत जुटाएको हो। यसबाहेक, ७ सय ६५ केभी क्षमताको प्रसारण लाइन निर्माण, ९ सय मेगावाटको माथिल्लो कर्णाली आयोजनाका लागि आयोजना विकास सम्झौता (पिडिए), मध्यपहाडी लोकमार्गअन्तर्गत पूर्वी पहाडका ३ सय किलोमिटर सडक चार लेनको बनाउने प्रस्ताव, हुलाकी राजमार्गको काम निश्चित समयभित्र पूरा गरिदिन आग्रह गर्नेमा पनि प्रमुख दलहरू सहमत भएका छन्।

मोदी साउन १८ र १९ गते नेपालको औपचारिक भ्रमणमा आउँदैछन्। ‘यो भ्रमणबाट ऊर्जा र जलस्रोतका क्षेत्रमा उपलब्धि हासिल गर्ने अवसर हामीले गुमाउनु हुँदैन,’ कांग्रेस महामन्त्री कृष्णप्रसाद सिटौलाले बैठकपछि भने, ‘यही मौकामा भारतसँग पिटिएलगायत ऊर्जा क्षेत्रका अन्य विषयमा सहमति गर्नुपर्छ भन्ने निष्कर्षमा हामी पुगेका छौं।’
शीर्षनेताहरूले भारतसँग गर्न खोजिएको पिटिएको मोटामोटी ढाँचा सुझाएका छन्। जसअनुसार राष्ट्रिय हितका लागि विद्युत उत्पादन र विद्युत व्यापारको विषय एकअर्काबाट छुट्ट्याउनुपर्ने उनीहरूको निष्कर्ष छ। सम्झौता गर्दा नेपालको जलविद्युत क्षेत्रमा भारतले मात्र लगानी गर्न पाउने खालको प्रावधान नराखी अन्य मुलुकलाई पनि खुला गरिनुपर्ने बैठकको ठहर छ। उत्पादित बिजुली बिक्री गर्दा पनि भारतलगायत जुनसुकै मुलुकलाई बेच्न सकिने व्यवस्था हुनुपर्नेमा बैठकले सचेत गराएको छ।

एमाले नेता तथा परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले विद्युत व्यापार सम्झौता र विद्युत विकास सम्झौतालाई छुट्ट्याएर हेर्न प्रमुख तीन दल सहमत भएको जानकारी दिए।
‘दुवै सम्झौता गर्दा भारतले मात्रै नभई अन्य मुलुकले पनि नेपालमा ऊर्जामा लगानी गर्न र भारतसहित जुनसुकै मुलुकलाई विद्युत बेच्न सकिने गरी सम्झौता हुनुपर्नेमा दलहरू एकमत छन्,’ पाण्डेले बैठकपछि भने।

पिटिएलगायत भारतसँग गरिने अन्य सन्धि–सम्झौतामा दलीय सहमति जुटाउन तीन सदस्यीय कार्यदलसमेत गठन गरिएको छ। कार्यदलमा कांग्रेस नेता एवं अर्थमन्त्री रामशरण महत, एमाले उपाध्यक्ष भीमबहादुर रावल र एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ छन्। कार्यदलले विभिन्न राजनीतिक दल, विज्ञ समूहका साथै सम्बन्धित मन्त्रालयसँग समन्वय र छलफल गरी सहमति जुटाउनेछ। उक्त सहमतिलाई राजनीतिक दलको बैठकमा पेस गरिनेछ। त्यसपछि बैठकले त्यसमा सहमति कायम गरेर भारतीय प्रधानमन्त्रीसमक्ष औपचारिक प्रस्तावका रूपमा अघि सार्नेछ।

‘दुई देशको हित हुने गरी भारतीय प्रधानमन्त्रीको भ्रमणअघि नै सम्झौताको खाका बनाउन आवश्यक गृहकार्य गर्नेछौं,’ माओवादी उपाध्यक्ष श्रेष्ठले भने।
कैलालीको लम्कीदेखि भारतको बरेली वा सुर्खेतदेखि बरेलीसम्म ७ सय ६५ केभी क्षमताको प्रसारण लाइन निर्माणसम्बन्धी प्रस्ताव पनि मोदी भ्रमण क्रममा उठाइनेछ। तीनदलीय बैठकले यसमा सहमति जनाएको छ। मध्य तथा सुदूरपश्चिम क्षेत्रमा बन्ने जलविद्युत आयोजनाको बिजुली भारत निर्यात गर्ने लक्ष्यका साथ यो प्रसारण लाइन प्रस्ताव गर्न लागिएको हो।

मध्य तथा सुदूरपश्चिममा १० हजार ८ सय मेगावाटको कर्णाली चिसापानी, ९ सय मेगावाटको माथिल्लो कर्णाली, ७ सय ५० मेगावाटको जलाशययुक्त पश्चिम सेती, ४ सय मेगावटको चैनपुर सेतीलगायत आयोजनाको अध्ययन पूरा भइसकेको छ। माथिल्लो कर्णाली र पश्चिम सेती निर्माणकै तयारीमा छन्। यसबाहेक थुप्रै आयोजना पाइपलाइनमा छन्। त्यस क्षेत्रमा उत्पादित हजारौं मेगावाट बिजुलीको बजार विस्तार गर्न अन्तरदेशीय प्रसारण लाइन अपरिहार्य रहेको ऊर्जा मन्त्रालयका अधिकारी बताउँछन्।
प्रमुख तीन दलको बैठकले ९ सय मेगावाटको माथिल्लो कर्णाली आयोजनालाई राष्ट्रिय हित हुने गरी आयोजना विकास सम्झौता (पिडिए) गर्ने सहमति पनि गरेको छ। भारतीय कम्पनी जिएमआरले माथिल्लो कर्णालीको विस्तृत सम्भाव्यता अध्ययन गरे पनि आयोजना विकास सम्झौैता भएको छैन।

बैठकमा पञ्चेश्वर, कर्णाली चिसापानी र अरुण तेस्रोमा भएको प्रगति विवरणबारे ऊर्जामन्त्रीसहित सम्बन्धित मन्त्रालयका अधिकारीले नेताहरूलाई जानकारी गराएका थिए।
भारतीय प्रधानमन्त्रीसँग उपहारस्वरुप कुन परियोजना बनाउन प्रस्ताव गर्ने भन्नेमा तीन दल टुंगोमा पुगेका छैनन्। नेपाल भ्रमण क्रममा मोदीले उपहारस्वरुप कुनै जलविद्युत आयोजना निर्माणमा सहयोग गर्ने अपेक्षा गरिँदै आएको छ।

त्यस्तै, मध्यपहाडी लोकमार्गअर्न्तगत पूर्वी पहाडका तीन सय किलोमिटर सडक चारलेनको बनाउन प्रस्ताव गर्ने विषयमा प्रमुख दलका शीर्षनेताबीच सहमति भएको छ। निर्माणाधीन मध्यपहाडी लोकमार्ग राष्ट्रिय गौरवको आयोजना हो।

लामो समय बित्दा पनि निर्माण पूरा नभएको हुलाकी राजमार्गको काम निश्चित समयसीमाभित्र पूरा गरिदिन भारत सरकारसँग आग्रह गर्ने निर्णय पनि बैठकले गरेको छ। भारत सरकारले नेपालको विकासमा पुर्याकउँदै आएको आर्थिक सहयोग र साना परियाजना नेपाल सरकारमातहत सञ्चालनका लागि पनि आग्रह गर्ने तीनदलीय सहमति छ।
बैठकले भारतीय प्रधानमन्त्री मोदीको भ्रमणलाई उच्च प्राथमिकतामा राख्दै त्यसलाई सफल बनाउन सबै पक्ष गम्भीरतापूर्वक लाग्ने सहमति गरेको छ।
यसअघि मंगलबारै बसेको कांग्रेस पदाधिकारी बैठकले मोदीको नेपाल भ्रमणलाई राष्ट्रिय हितमा अधिकतम उपयोग गर्न प्रधानमन्त्री तथा पार्टी सभापति सुशील कोइरालालाई आग्रह गरेको थियो। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पदाधिकारी बैठकले मोदीको भ्रमण क्रममा भारत सरकारलाई ऊर्जा, अन्तर्राष्ट्रिय प्रसारण लाइनको निर्माणसहित बृहत परियोजना सञ्चालनमा सहयोगका लागि आग्रह गर्न सरकारलाई सुझाव दिएको छ।

बैठकमा प्रधानमन्त्री एवं सभापति कोइरालाका साथै मन्त्रीहरूले मोदीको भ्रमणका विषयमा सरकारले गरेको तयारीबारे जानकारी गराएका थिए। कांग्रेस प्रवक्ता दिलेन्द्रप्रसाद बडुले भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमणलाई प्रभावकारी बनाउने विषयमा छलफल भएको बताए।
बैठकले संविधानसभा र त्यसअन्तर्गतका विभिन्न समितिमा संविधान निर्माणमा भएको प्रगतिका साथै व्यवस्थापिका संसद समितिका सभापतिहरूको टुंगो दलीय सहमतिका आधारमा लगाउने पनि निष्कर्ष निकालेको छ।

‘लामो समयदेखि थाती रहेका संविधानसभाका समितिका सभापतिको चयनका लागि अन्य पार्टीसँग बसेर छिट्टै निर्णयमा पुग्ने विषयमा छलफल भयो,’ बडुले भने।
सरकारले हालै घोÈणा गरेका नया” नगरपालिकाहरूमा पार्टीको सांगठनिक संरचना तत्काल बनाउन नेताहरू सहमत भए पनि कसरी बनाउने भन्नेमा सहमति जुट्न सकेन। सभापति कोइराला पक्ष नयाँ बनेका नगरपालिकामा निर्वाचनमार्फत नेतृत्व चयन गर्ने पक्षमा उभिएको छ भने वरिष्ठ नेता शेरबहादुर देउवा पक्ष सहमतिबाट टुंगो लगाउनुपर्नेमा छ।
नागरिकबाट


  •  
  •  
  •