काठमाडौं १३ साउन (ओएनएस) :
छिमेकी मुलुक भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको आसन्न नेपाल भ्रमण राजकीयस्तरको हुने भएको छ । प्रधानमन्त्री सुशील कोइरालाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा मोदीलाई स्वागत गर्नेछन् ।
मोदीको स्वागत तथा सम्मानमा नेपाली सेनाको विशेष टुकडीले प्रधानमन्त्रीस्तरको सलामी ‘विशेष सम्मान गारत’ दिनेछ । ‘भारतीय पक्षले प्रस्तावअनुरूप प्राविधिक रूपमा औपचारिक भ्रमण भनिए पनि यो राजकीय भ्रमण नै हो,’ एक अधिकारीले भने । परराष्ट्र मन्त्रालय, नेपाली सेना, नेपाल प्रहरी, गृह मन्त्रालयलगायत निकायबीच भ्रमण तयारीबारे छलफल भइरहेको छ ।
परराष्ट्र मन्त्रालयसँगको सहकार्यमा भारतीय दूतावास तथा भारतबाटै आएको तयारी विशेष टोलीले कार्यसूचीलगायत विषयमा परामर्श गरिरहेको अधिकारीहरूले बताए । ‘१७ वर्षपछि हुन लागेको भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमण राजकीय हो । सरकारले त्यसै हिसाबले तयारी अघि बढाएको छ । मोदीलाई कोइराला स्वयंले विमानस्थलमा स्वागत गर्नुहुनेछ,’ प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार दिनेश भट्टराईले कान्तिपुरसित भने । भ्रमणको कार्यसूची परराष्ट्र मन्त्रालयले तयार गरिरहेको छ ।
भेटघाट तथा अन्य व्यवस्थापनको अन्तिम निर्णय शुक्रबार साँझ मात्र निश्चित हुने परराष्ट्र मन्त्रालयका निमित्त सचिव शंकरदास बैरागीले बताए ।
‘विभिन्न चरणमा छलफल भइरहेको छ । अहिले नै यो या त्यो हुन्छ भन्न सकिने अवस्था छैन । छोटो समयमा धेरै कार्यक्रम मिलाउनुपर्ने हुन्छ,’ उनले भने ।
यस्तो छ कार्यक्रम
अहिलेसम्मको तयारीअनुसार आइतबार बिहान १०ः२५ मा मोदी राजधानी आइपुग्ने छन् । उनलाई बौद्धस्थित हायात होटलमा बस्ने व्यवस्था छ । भारतीय सुरक्षा अधिकारीसहितको टोलीले भेटघाट, पशुपति दर्शनलगायत कार्यक्रम हेरेर होटल हायात रिजेन्सी छानेको हो ।
प्रधानमन्त्री कोइरालाले स्वागत गरिसकेपछि मोदी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सीधै होटलतर्फ लाग्नेछन् । त्यहाँ उनलाई परराष्ट्रमन्त्रीसहितको टोलीले भ्रमण कार्यक्रम विवरण सुनाउने छन् । उनी त्यही दिन दूतावासले आयोजना गर्ने दिवाभोजमा सरिक हुनेछन् । लगत्तै भेटवार्तामा सक्रिय हुने र अपराह्न संसद्लाई सम्बोधन गर्ने कार्यक्रम छ । उनी राष्ट्रपति डा. रामवरण यादव र प्रधानमन्त्री कोइरालालाई भेट्न बाहिर निस्कने छन् । अन्य सबै भेटघाट होटलमै मिलाइने जानकार स्रोतहरूले बताए ।
प्रधानमन्त्री कोइरालाले मोदीको सम्मानमा होटल सोल्टीमा त्यही दिन रात्रिभोज दिनेछन् । सरकारसँग रात्रिभोज गर्ने उपयुक्त बेंकेट हलसमेत नहुँदा होटलमा दिन परेको परराष्ट्र अधिकारीहरूले बताए ।
मोदीले सोमबार बिहान पशुपतिमा पूजाअर्चना गर्नेछन् । पूजापछि दुईपक्षीय उच्चस्तरीय वार्ता हुने र केही सम्झौतासमेत हुने तयारी छ । लगत्तै उनको सम्मानमा राष्ट्रपतिले दिवाभोज आयोजना गर्नेछन् ।
मोदीले लुम्बिनी र जनकपुर जाने इच्छा व्यक्त गरे पनि त्यहाँका विमानस्थलमा उनी आउने विशेष विमान अवतरण हुन नसक्ने, उनी चढ्ने गाडीको व्यवस्थापन तथा सुरक्षाका कारण समस्या पर्ने भन्दै अझै निर्णय भइनसकेको अधिकारीले जानकारी दिए । बुधबार साँझसम्म त्यसबारे निर्णय हुनेछ । तयारीमा आएको एक टोली यहाँको सबै विवरण लिएर फर्केको छ । उक्त टोलीले पुनः बुधबार फर्केर अन्तिम निर्णय गर्नेछ ।
विशेष के हुँदैछ ?
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले स्वदेश र्फकनुअघि प्रधानमन्त्री कोइरालासँग बसेर कुनै ठूलो आयोजना निर्माणको घोषणा गर्ने सम्भावना छ । उनीहरूको उपस्थितिमा भारतीय सहयोगकै हुलाकी मार्ग फेज २, बुद्धिस्ट सर्किटको योजना, रेल लिंक र अध्यागमन केन्द्र निर्माणलगायतमा सम्झौता हुने तयारी छ । राजनीतिक दलहरूमा सहमति भए विद्युत् व्यापार सम्झौतामा हस्ताक्षर हुन सक्ने एक अधिकारीले उल्लेख गरे । अन्यथा यो भ्रमण दुईपक्षीय राजनीतिक सम्पर्क र विश्वास आर्जनमा मात्र केन्द्रित हुने एक अधिकारीले बताए ।
दुई विशेष विमान, गाडी पनि भारतबाटै
मोदी केही मन्त्री, आफ्ना दलका नेता तथा सरकारी उच्च अधिकारी, पशुपतिमा पूजा गर्ने पण्डितसहित दुई विमान लिएर आउने छन् । एक विमानमा भ्रमण दलमा सामेल कर्मचारी र अन्य सदस्य रहने छन् । अर्कोमा उनी स्वयं र ‘कोर टिम’ रहनेछन् । उनी लुम्बिनी वा जनकपुर जाने भएको खण्डमा सानो चोपर विमान पनि ल्याउने सम्भावना रहेको एक अधिकारीले बताए ।
भुटान जाँदा मोदीले जुन गाडी प्रयोग गरेका थिए, त्यही लिएर यहाँ आउन लागेको एक अधिकारीले जानकारी दिए । प्रधानमन्त्रीलाई विशेष बुलेटप्रुफ कार उपलब्ध हुन्छ भनेर सोध्दा नेपाली परराष्ट्र अधिकारी अलमलमा परेपछि भारतीय टोलीले त्यस्तो निर्णय लिएको हो । सुरक्षाको विषय भएकाले सरकारले कार ल्याउन स्वीकृत गरेको हो । प्रधानमन्त्री कार्यालयसँग दुई बुलेटप्रुफ आर्मर कार भए पनि मोदीका लागि त्यो प्रयोग नहुने भएको छ ।
कान्तिपुरबाट