मोदीको कारकेड एक्कासि रोकिँदा

161
  •  
  •  
  •  

काठमाडौं २१ साउन (ओएनएस) :
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी चढेको गाडी नयाँबानेश्वर चोकभन्दा दुई सय मिटरवरै एक्कासि रोकियो। सुरक्षा दृष्टिमा कारकेडमा रहेको भिभिआइपीको गाडी बिनासूचना रोकिनु विपतको संकेत थियो।

कारकेड अगाडि रहेका सुरक्षकर्मीले त भिभिआइपी गाडी रोकिएको पत्तै पाएनन्। उनीहरू तोकिएको रुटअनुसार संविधानसभा भवनको गेटसम्मै पुगे। हवाई गस्तीमा खटिएका दुई हेलिकप्टरसमेत संविधानसभा भवन वरपर पुगिसकेका थिए। पछाडिका सुरक्षाकर्मी भने एक्कासि भिभिआइपी गाडी रोकिएपछि आत्तिएर दौडँदै अगाडि गए। उनीहरू नजिक पुग्दा मोदी कारबाट निस्किएर सडक किनारमा उभिएका सर्वसाधारणतिर हात हल्लाइरहेका थिए। त्यो देखेपछि बल्ल सुरक्षाकर्मीहरू ढुक्क भए।

‘कारकेड रोकिँदा छाती ढक्क फुल्यो, हात कम्मरमा रहेको पेस्तोलमा पुग्यो,’ मोदीको सुरक्षामा खटिएका एक सुरक्षाकर्मीले मंगलबार नागरिकसँग भने, ‘पेस्तोलको पिन अन गरेर भिभिआइपी गाडीतिर दौडँदा उहाँ (मोदी) सवारीभन्दा बाहिर उभिएर हात हल्लाइरहनुभएको देखेपछि बल्ल मन हल्का भयो।’
त्यसपछि बल्लबल्ल हात समातेर मोदीलाई गोलो सुरक्षा घेरा बनाउँदा एक मिनेट समय कटिसकेको थियो। मोदीको सुरक्षा जोखिम विश्लेषण गर्दै नेपाल सरकारले सेनाको कमान्डमा ६ तहको सुरक्षा घेरा कार्यान्वयनमा ल्याएको थियो। भारतीय ब्ल्याक कमान्डो, नेपाली सेना, नेपाल प्रहरीका तालिमप्राप्त सुरक्षाकर्मीसँगै हवाई सुरक्षामा दुई हेलिकप्टर खटिएका थिए।
कारकेड निस्किएको समयभन्दा आधा घन्टाअगाडि नै सडक रित्तो पारिएको थियो। सडक किनारको प्रत्येक ५० मिटरमा प्रहरी तैनाथ थिए। अग्ला भवनमा हाइप्वाइन्टको सुरक्षार्थ सेना र सशस्त्र प्रहरीका सुरक्षाकर्मी खटिएका थिए।

स्रोतका अनुसार मोदीको कार्यतालिका र सुरक्षा रणनीतिमा भिभिआइपी र सर्वसाधारण आमनेसामने हुने कुनै विन्दु थिएन। तर, कार्यतालिका र मोदीको व्यवहारबीच तालमेल हुन सकेन। दुईदिने नेपाल भ्रमण क्रममा मोदी आफैंले पटकपटक सुरक्षा घेरा आफैंले तोडे, त्यो पनि बिनाजानकारी। आइतबार व्यवस्थापिका संसदलाई सम्बोधन गरेर ह्यात होटल फर्कने क्रममा उनले नयाँबानेश्वरमा जे गरे, भोलिपल्ट त्यही दोहोर्या्ए गौशाला चोक र चाबहिलमा।

सरकारले मोदी आउनु दुई घन्टाअघि नै पशुपति मन्दिरमा दर्शनार्थीको प्रवेश रोकेको थियो। साढे ७ बजेबाट रोकिएका दर्शनार्थीले मोदी फर्किएपछि साढे १० बजे मात्रै मन्दिरमा प्रवेश पाएका थिए। साउने सोमबारको घडीमा मोदीको सुरक्षा हेरेर सरकारले यस्तो सतर्कता अपनाए पनि मोदी आफैं भने सुरक्षा घेरा तोडेर पशुपतिमा उभिएका दर्शनार्थीमाझ गए।
बेलायतका प्रधानमन्त्री डेभिड क्यामरुनले पनि भारत भ्रमण क्रममा बीच सडकमा आफ्नो कारकेड रोकेर पावभाजी खाएर चर्चा कमाएका थिए। तर, बेलायती दूतावासले पहिल्यै यसको निम्ति सबै बन्दोबस्त गरेको खुलेको थियो।
अनुभवी पूर्व एआइजी नवराज ढकाल मोदी सर्वसाधारणमाझ जानु पनि ‘नियोजित’ हुनसक्ने बताउँछन्। ‘जनताबाट अनुमोदित नेताले नागरिकमैत्री छवि बनाउन यस्ता गतिविधि गर्ने गरेका छन्,’ उनले नागरिकसँग भने, ‘यस्ता घटना प्रायः नियोजित हुन्छन्।’

उनका अनुसार बाक्लो सुरक्षा घेराबीच कारकेडमा मात्रै हिँड्दा सर्वसाधारणसँग आत्मीयता बढ्दैन। भिभिआइपीहरूले आफूनिकट सुरक्षा विश्लेषकसँग सुरक्षा खतराबारे परामर्श गरी अतिगोप्य ढंगमा यस्तो गतिविधि गर्ने गरेको पूर्वएआइजी ढकालको विश्लेषण छ।
‘यस्तो काममा पहिल्यै ठाउँ चयन गरेर सर्वसाधारणको भेषमा सुरक्षाकर्मी खटाइएको हुन्छ, भिभिआइपीले भने आकस्मिकझैं देखाउँछन्,’ ढकालले भने, ‘योजना चुहिँदा उद्देश्य पूरा नहुने भएकाले अति गोप्य राखिन्छ, भिभिआइपीकै सुरक्षामा खटिएकाले समेत चाल पाउँदैनन्।’ मोदी पूर्व तयारीबिनै आफ्नो कारकेड रोकेर भिडमाझ गएको हो भने त्यो गम्भीर सुरक्षा लापरबाही भएको उनको भनाइ छ।

पूर्व एआइजी राजेन्द्रबहादुर सिंहले भने राजनीतिक व्यक्तिमा भिड देखेपछि आकर्षित हुने स्वभाव भएकाले भारतीय प्रधानमन्त्री मोदी सडकमा उभिएका सर्वसाधारणप्रति आकर्षित भएको हुनसक्ने बताए। माओवादी द्वन्द्वको समयमा सुर्खेत लाटोकोइली भ्रमणमा जाँदा तत्कालीन राजा वीरेन्द्रले गाडीबाट ओर्लिएर सर्वसाधारणसँग हात मिलाएको घटना सम्झँदै सिंहले भने, ‘सुरक्षा दृष्टिले यस्ता गतिविधि त्रुटिपूर्ण हो, यसले दुर्घटनाको सम्भावना बढाउँछ, तर नेताको आँट पनि देखाउँछ।’
मोदीको भ्रमण क्रममा तोकिएका सरकारी अधिकारीबाहेक अन्यबाट भिभिआइपीलाई माला लगाउन रोक लगाउने, उपहार दिन नदिने, तोकिएका सरकारी अधिकारी र भेटघाटका लागि अनुमति पाएका व्यक्तिबाहेक अन्यको दुरी न्युनतम ५० मिटर राख्ने भनिए पनि यी कुनै कार्यान्वयनमा नआएको स्रोतले बतायो। स्रोतका अनुसार मोदी विमानस्थलबाट ओर्लिएर ह्यात होटल पुग्दा खादा र माला लगाउनेहरूलाई सुरक्षा घेरामा बसेका सुरक्षाकर्मीले न रोक्न भ्याए न परिचय पहिल्याउनै सके।
पशुपति भ्रमण क्रममा एक युवती हुत्तिँदै मोदीको खुट्टामै पुगेपछि मात्रै सुरक्षाकर्मीले चाल पाएर पछाडि धकेलेका थिए। पशुपति दर्शन गरेर फर्कने क्रममा उपहार दिन खोज्ने अपरिचितको उपहार नियन्त्रणमा लिनुको साटो सुरक्षाकर्मीले फुटाइदिएका थिए।
स्रोतका अनुसार भ्रमणका लागि भारतबाट ल्याइएको फ्रिक्वेन्सी जामरले समेत सुरक्षा समन्वय बिथोल्यो। सवारी बेला भिभिआइपी कुन ठाउँमा आइपुगे भनेर निरन्तर जानकारी दिनुपर्ने भए पनि कारकेडको घेरामा रहेका सुरक्षकर्मीको सञ्चार वाकिटकी र मोबाइल दुवैको फ्रिक्वेन्सी जाम भएको थियो। दोस्रो दिन सुरक्षाकर्मीको सञ्चार सेटको फ्रिक्वेन्सी खुलाउने प्राविधिकको प्रयास असफल भएपछि सञ्चार समन्वयका लागि प्रहरीको भ्यान कारकेडको सुरक्षा दुरीभन्दा सय मिटर पर गुडाइएको थियो। नागरिकबाट


  •  
  •  
  •