काठमाडौं, १८ साउन (ओएनएस): भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको संसदलाई संवोधन गर्दा कयौं पटक एकीकृत माओवादीलाई पेलेका छन् । ‘बुलेटमा विश्वास गर्ने शक्ति शास्त्र’मा विश्वास गर्न थालेको भन्दै मोदीले कयौं पटक माओवादी सशस्त्र जनयुद्धको औचित्य माथि प्रश्न उठाएका हुन । ‘नेपालको संविधानसभा सशस्त्र संघर्षमा विश्वास गर्ने शक्तिलाई रुपान्तरण गर्ने थलो हो, यो प्रयोग सफल भयो भने सशस्त्र संघर्षमा विश्वास गर्नेहरु पुर्नबिचार गर्नेछन’ मोदीले भने ।
‘बुलेटमा विश्वास गर्नेहरु ब्यालेटमा’ विश्वास गर्न थालेको भन्दैगर्दा कांग्रेस एमालेका सभासदहरुले ताली बजाएका थिए भने एमाओवादी सभासदको अनुहारमा खिन्नता देखिन्थ्यो । यस बिषयमा भारतीय पत्रकारहरुले माओवादी अध्यक्ष पुष्पकमल दाहालसँग प्रतिक्रिया मागेका थिए, जवाफमा दाहालले भने–‘नेपालको शान्ति प्रक्रियाको अप–डाउन बारे मोदी जानकार हुनुहुन्छ, यसबारे बृस्तृतमा भोली कुरा गर्छु ।’
नेपाली कांगे्रसका एकजना सभासदले मोदीले माओवादीलाई सबक सिकाएको प्रतिक्रिया जनाए । ‘लोकतन्त्रप्रति आस्था राख्ने विश्वका सबैको ध्यान नेपालको संविधानसभा प्रति छ, मोदीले भने–नेपालमा संविधान बने हिंसामा विश्वास गर्नेले पुर्नबिचार गर्नेछन् ।’ संविधान लेख्दा हुने सानो लापरवाही भोलीको दिनमा ‘बिष बृक्ष’को रुपमा मौलाउन सक्ने भन्दै सावधानी अपनाउन आग्रह गरे । मोदीले समावेशी संविधान निर्माणमा जोड दिएका छन । ‘संविधान सर्बजन हिताय र सर्बजन सुखाए हुनुपर्छ, उनले भने–पहाड वा तराई, पढलेख वा अनपढ, किसान सबैले अपनत्व गर्ने खालको हुनुपर्छ ।’