मोबाइल महाेत्सवमा विभिन्न याेजनामार्फत १ करोडसम्मकाे छुट

217
  •  
  •  
  •  

काठमाडौं, २६ चैत (ओएनएस) : नयाँ वर्षको अवसर पारेर मोबाइल हबको रुपमा चिनिएको पाको, न्यूरोड क्षेत्रमा नेपालको सबैभन्दा ठूलो र पहिलो मोबाइल कार्निभल यहि चैत २८ गतेदेखि आयोजना हुँदैछ ।
पाको यूथ क्लबको सहितको सहभागीतामा पहिलो पटक आयोजना हुन लागेको मोबाइल कार्निभल २०१५ पाको, न्यूरोड, ताम्राकार कम्प्लेक्स तथा पिपुल्स प्लाजाका सबै मोबाइल पसलहरुको सहभागिता हुनेछ । नेपालमा नै पहिलो पटक कार्निभलको रुपमा आयोजना गर्न लागिएको मोबाइल महोत्सवले पाको न्यूरोड क्षेत्रलाई मोबाइल हबको रुपमा स्थापित गर्न सहयोग पुर्याउने व्यवसायीहरुको अपेक्षा रहेको छ ।
बिहिबार कार्निभलको बारेमा आयोजित पत्रकार सम्मेलनमा टेलि टू प्रालिका अध्यक्ष पुरुषोत्तम बस्नेतले मोबाइल महोत्सवमा सबै व्यवसायीहरुको सहभागिता रहेको जानकारी दिए । उनले १ करोड रुपैंया भन्दा बढिको डिस्काउन्ट अफर गरिएको भन्दै यो कार्निभलमा व्यवसायका साथै सामाजिक सेवा पनि गरिने बताए । बस्नेतले ग्राहकहरुलाई मोबाइलको बारेमा सहि जानकारी दिने तथा उनिहरुलाई विभिन्न मोबाइल खरिदमा डिस्काउन्ट दिने बताए ।
महोत्सव अवधिभर कुल १ करोड रुपैंयासम्मको डिस्काउन्टको घोषणा गरिएको छ । यहि चैत २८ गतेदेखि १ गतेसम्म आयोजना हुने नेपालको सबैभन्दा ठूलो र पहिलो मोबाइल महोत्सवको अवधिभर मोबाइल खरिदकर्ताहरुलाई विभिन्न स्कीममार्फत कुल १ करोड रुपैंयासम्मको छुट दिईने छ ।
त्यसैगरी पाको यूथ क्लबका अध्यक्ष अमृत मानन्धरले नेपालमा नै पहिलो पटक नौलो किसिमले आयोजना गर्न लागिएको मोबाइल कार्निभल तथा महोत्सवमा खरिदकर्ताले आकर्षक छुटमा मोबाइल तथा एसेसरिज खरिद गरेर नयाँ वर्षको खुशीयाली आफ्ना साथीभाई तथा परिवारहरुसँग बाँड्न सक्ने बताए ।
कार्यक्रममा बोल्दै सामसुंग मोबाइल एण्ड इलेक्ट्रोनिक्सका गुरुदत्त शर्माले मोबाइल महोत्सवको अवधिभर पाको, न्यूरोड, ताम्राकार कम्प्लेक्स तथा पिपुल्स प्लाजा क्षेत्रमा मोबाइल खरिद गर्ने एस. एल. सी. दिएका विद्यार्थीहरुमध्ये १ जनाले ५० हजार रुपैंयासम्मको स्कलरशिप दिईने जानकारी दिए । एस. एल. सी. दिएर बसेका विद्यार्थीहरुलाई लक्की ड्रमार्फत मोबाइल खरिदमा विशेष उपहारसहित छुट पनि दिईने आयोजकले जानकारी दिएको छ ।
कार्निभल अवधिभर १० लाख उपभोक्ताहरुको सहभागिता हुने अनुमान गरिएको छ । आजसम्मकै सबैभन्दा बढि मोबाइल व्यवसायीहरुको सहभागीतामा आयोजना हुने यो मोबाइल कार्निभलमा मोबाइल म्यूजिकल कन्सर्ट, मोबाइल फुड फेस्टा, हेल्थ क्याम्प, बालबालिकाको गेमिंग जोन, गणेश पुजा तथा मोबाइल एक्सपो समाबेश गरिएको छ ।
त्यसैगरी कार्निभलको अवसरमा मोबाइल खरिदकर्तालाई विभिन्न किसिमका उपहार तथा स्कीमहरु राखिएका छन् । कार्निभल तथा नयाँ वर्षको अवसर पारेर ल्याईने विभिन्न स्कीमहरु भने वैशाख १५ गतेसम्म ग्राहकहरुले प्राप्त गर्न सक्नेछन् ।
कार्निभलमा मोबाइल खरिद गर्ने अन्य ग्राहकहरुलाई महोत्सव अवधिभर ५० वटा स्मार्टफोनहरु दिईनेछ । महोत्सवलाई आकर्षक बनाउन र
 अधिकतम ग्राहकहरुले फाईदा उठाउन भनेर महोत्सव अवधिभर ५० वटा स्मार्टफोनहरु ग्राहकहरुलाई उपहारमा दिन लागिएको हो ।
२०० भन्दा बढि मोबाइल पसल तथा शोरुमहरु रहेको पाको न्यूरोड तथा ताम्राकार कम्प्लेक्स क्षेत्रमा हाल २५ भन्दा बढि मोबाइल ब्राण्डका आधिकारीक सर्भिस सेन्टरहरु संचालनमा रहेका छन् ।
मुलुकमा नै पहिलो पटक नौलो किसिमले आयोजना गर्न लागिएको मोबाइल कार्निभल २०१५ मा सामसुंग, हुवावे, कलर्स, जियोनी, इन्टेक्स, डिटिसी, सोनी, माइक्रोम्याक्स, माइक्रोसफ्ट तथा नोकिया, एप्पल, एचटिसी, ब्ल्याकबेरी, पानासोनीक, लेनोभो, सेलकोन, लाभा, बिक्यू, जोलो, विनकम, फ्लाई, भिडियोकोन, बर्डलगायतका मोबाइल ब्राण्डहरुको सहभागीता रहेको छ ।
पाको न्यूरोड क्षेत्रमा आयोजना हुने मोबाइल कार्निभलमा मोबाइल एशोसियसन, पाको न्यूरोड मोबाइल व्यवसायी, ताम्राकार कम्प्लेक्स, पिपुल्स प्लाजा तथा यो क्षेत्रमा रहेका व्यापार संघहरुले सहभागिता जनाउने छन् ।


  •  
  •  
  •