मोबाइल फ्याँक्ने । नजिक होइन, सकेजति टाढा । फाल्नेहरू पनि एक, दुईजना होइनन्, दर्जनौँ । शनिबार अपराह्न सकेजति टाढा मोबाइल फ्याँक्नेहरूको भीड देखेर घाम ताप्न टुँडिखेलमा निस्किएकाहरू छक्क परे । ‘यस्तो पनि प्रतियोगिता हुँदो रहेछ,’ बदाम खाँदै घाम ताप्ने योजनासाथ टुँडिखेल पुगेका सूर्यप्रसाद खड्काले मोबाइल फ्याँक्ने प्रतियोगिता भइरहेको थाहा पाएपछि भने, ‘गजबको प्रतियोगिता पो देख्न पाइयो ।’
शनिबार काठमाडौंमा गजबकै प्रतियोगिता भयो मोबाइल फ्याँक्ने । प्रतिस्पर्धा गर्न दुईवटा सर्त थिए, कि नबिग्रिएको अवस्थाको मोबाइल चार्जरसहित आयोजकलाई बुझाउने या एक हजार रुपैयाँ । सर्त पूरा गरेपछि आयोजकले फ्याँक्ने मोबाइल उपलब्ध गराउने । नबिग्रिएको अवस्थामा चार्जरसहितको मोबाइल बुझाउने र हजार रुपैयाँ तिरेर प्रतिस्पर्धामा भाग लिनेहरूको संख्यामा कुनै कमी देखिएन ।
रोटरी क्लब अफ रुद्रमती र रोटरी क्लब रुद्रमती–बबरमहलले नेपालमा पहिलोपटक मोबाइल फ्याँक्ने प्रतियोगिता आयोजना गरेका हुन् । त्यसरी जम्मा भएका मोबाइल मुगुको हितबडा गाविसका महिलाहरूलाई नि:शुल्क रूपमा दिइने रोटरी क्लब अफ रुद्रमतीका अध्यक्ष विपन अधिकारीले जानकारी दिए ।
सबैभन्दा पहिले मोबाइल उद्योगमन्त्री महेश बस्नेतले फ्याँके, उद्घाटन गर्न । उनले ९४ फिट पर फ्याँके । तर, उनले फ्याँक्दा पत्रकारहरू नपुगेकाले ३० मिनेटजति पछि पुन: फ्याँक्न लगाइयो । ‘ल फ्याँकौँ न त फ्याँकौँ’ उनी तम्सिए । दोस्रोपटक उनले दुई फिट बढाउँदै ९६ फिट टाढा फ्याँके । उनीपछि फ्याँकेका राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष टेन्डी शेर्पाले एक सय २४ फिट टाढा फ्याँके ।
‘राखेपा उपाध्यक्षले मन्त्रीलाई हराउनुभयो,’ शेर्पाले फ्याँकेपछि समर्थकहरूले आवाज निकाले । पुरुष, महिला र १४ वर्षमुनिका गरी तीन समूहमा प्रतिस्पर्धा गराइएको प्रतियोगितामा पाण्डव पौडेलले सबैभन्दा पहिले फ्याँके । ‘क्या गजब रमाइलो भयो,’ एक सय १४ फिट टाढा फ्याँकेपछि पौडेल हर्षित बने, ‘मुगुका महिलालाई मोबाइल दिने भनेपछि मैले एउटा मोबाइल चार्जरसहित दिएर प्रतियोगी बनेँ । सहयोगका लागि भाग लिएको हुँ ।’
प्रतियोगिता सुरु भइसकेपछि पनि नाम दर्ता गर्ने क्रम चलिरह्यो । केही पुरुषहरूले फ्याँकेपछि पालो महिलाको आयो । सबैभन्दा अगाडि पालो सत्या श्रेष्ठको आयो । उनले ८५ फिट मात्र फ्याँकिन् । ‘रमाइलो भयो,’ उनले प्रतिक्रिया दिइन् ।
१४ वर्षमुनिका सबैभन्दा अगाडि फ्याँक्ने आठ वर्षीय सुजित बानिया बने । अपराह्न १२ बजे सुरु भएको मोबाइल फ्याँक्ने प्रतियोगिता ४ बजे मात्र सकियो । एक सय ५० जनाले मोबाइल दिएर फ्याँके । जुन आयोजकको लक्ष्यभन्दा बढी हो । ३५ जनाले एक हजार तिरेर प्रतियोगितामा भाग लिए ।
‘हाम्रो लक्ष्य एक सय मोबाइल कलेक्सन गर्ने हो । तर, एक सय ५० मोबाइल र ३५ हजार रुपैयाँ कलेक्सन भएको छ,’ आफूहरूको अभियानमा उत्साहित हुँदै अधिकारीले भने, ‘सोचेभन्दा निकै राम्रो भयो ।’
तीनवटै समूहमा पहिलो, दोस्रो र तेस्रो बनाएर नयाँ स्मार्टफोन उपलब्ध गराउने आयोजकको योजनाले पनि प्रतियोगीहरू बढे । ‘मोबाइल डोनेट गर्नका लागि प्रतियोगितामा भाग लिएको हुँ । तर, जितेपछि नयाँ स्मार्ट फोन पनि आउँछ,’ १४ वर्षमुनिका प्रतियोगी अनुप भट्टराईले भने ।
मोबाइल फ्याँक्ने प्रतियोगिता हेरिरहेका सुर्खेतका उपेन्द्र लामिछाने पनि दंग थिए । ‘काम विशेषले आएका वेला यो गजबको प्रतियोगिता हेर्न पाइयो,’ साथीहरूसहित टुँडिखेल पुगेका उनले भने, ‘यो राम्रो काम हो । उपत्यकाबाहिर पनि यस्ता प्रतियोगिता गर्नुपर्छ ।’
प्रतियोगितामा पुरुषतर्फ रमेश ठकुला पहिलो, बलराम शाह दोस्रो र दीपेन्द्र कुँवर तेस्रो भए । ठकुलाले दुई सय ४९, शाहले दुई सय २८ र कुँवरले दुई सय १६ फिट टाढा फ्याँकेका थिए । महिलातर्फ दुर्गा लम्साल पहिलो, वसन्ती शाही दोस्रो र सीता शाह तेस्रो भए । लम्सालले एक सय १८, शाहीले एक सय १५ र शाहले एक सय १४ फिट टाढा मोबाइल फ्याँके ।
त्यसैगरी १४ वर्षमुनितर्फ राकेश गिरी पहिलो, नवीनजंग कुँवर दोस्रो र प्रबल तेस्रो भए । गिरीले एक सय ६३, कुँवरले एक सय ६१ र प्रबलले एक सय ३८ फिट पर फ्याँके ।
तीनवटै समूहका विजेताहरूमा पहिलो हुनेले १५ हजार, दोस्रो हुनेले १० हजार र तेस्रो हुनेले सात हजार पर्ने इन्टेक्स मोबाइलको स्मार्टफोन पुरस्कारस्वरूप प्राप्त गरे । प्रतियोगिताको चौधरी गु्रप इन्टेक्स मोबाइलले मुख्य प्रायोजन गरेको थियो ।
अध्यक्ष अधिकारीले संकलित मोबाइल जेठ महिनामा मुगु पुगेर वितरण गरिने जानकारी दिए । ‘मुगुका जो महिलाहरू मोबाइल किन्न सक्दैनन्, उनीहरूका लागि एक घरका एक महिलालाई मोबाइल वितरण गर्ने प्रतियोगितामा मुख्य लक्ष्य हो,’ उनले भने, ‘हामीले हितबडा गाविसका महिलालाई वितरण गर्नेछौँ ।’
मोबाइल फ्याँक्ने प्रतियोगिता औपचारिक रूपमा सन् २०१० मा फिनल्यान्डबाट सुरु भएको थियो । अनौपचारिक रूपमा भने २००५ देखि युरोपका अन्य मुलुकमा सुरु भएको थियो । नयाँपत्रिकाबाट