माओवादी विस्तारित बैठक आजदेखि

196
  •  
  •  
  •  

काठमाडौं ७ मंसिर ।
नेकपा-माओवादीको संस्थापन पक्ष स्पष्टीकरण लिने निर्णय फिर्ता लिन सहमत भएपछि सचिव नेत्रविक्रम चन्द समूह आइतबारदेखि हुने पार्टीर्को पूर्ण कमिटी बैठकमा सहभागी हुने भएको छ । हिजो स्थगित विस्तारित बैठक आजदेखि सुरु हुँदैछ ।  शनिबार साँझ पार्टी कार्यालय बुद्धनगरमा अध्यक्ष मोहन बैद्य, महासचिव रामबहादुर थापा, सचिव चन्दबीच भएको वार्तामा स्पष्टीकरण लिने निर्णय फिर्ता लिने सहमति भएको हो ।

चन्द पक्षीय पोलिटब्युरो सदस्य खडगबहादुर विश्वकर्माले स्पष्टीकरण फिर्ता लिने सहमति भएको उल्लेख गर्दै आइतबारदेखि हुने पूर्ण कमिटि बैठकमा आफूहरू सहभागि हुने जानकारी दिए । ‘स्पष्टिकरण र कारवाही फिर्ता लिने सहमति भयो, हामी बैठकमा सहभागि हुन्छौं’ उनले भने । पोलिटव्युरो, केन्द्रीय समिति बैठक बहिस्कार गरी चन्द पक्षले केही दिनअघि कपिलबस्तुको शिवनगर जंगलमा छुट्टै भेला बोलाएपछि संस्थापन पक्षले स्पष्टीकरण लिने निर्णय गरेको थियो ।

स्पष्टीकरण लिने निर्णयको विरोधमा चन्द समूहले शनिबारदेखि हुने भनिएको पूर्ण बैठक वहिस्कार गरेको हो । केही मध्यमार्गी केन्द्रीय सदस्यले चन्द समूहलाई समेत समेटेर अघि बढ्नुपर्ने भन्दै अध्यक्ष बैद्य र महासचिव रामबहादुर थापालाई दवाव दिएपछि शनिबारको बैठक स्थगित भएको थियो । त्यसको नेतृत्व पोलिव्युरो सदस्य धर्मेन्द्र वास्तोला गरेका थिए ।

‘मुलुकको संकटकपूर्ण अवस्थामा फुटेर होइन, जुटेर जानुपर्छ भन्ने साथीहरुको चाहना हो’ वास्तोलाले भने, ‘विप्लवको पनि पार्टी फुटाउनुपर्छ भन्ने होइन, फरक विचार सुन्ने साहस गर्नुपर्छ, त्यो नेतृत्वले पनि सुन्नुपर्छ ।’ चन्द पक्ष भने आफ्नो फरक मत बैठकमा राखेर त्यहीबाट अन्तिम निर्णय लिने मनस्थितिमा पुगेको कान्तिपुले लखेको छ ।

पोलिटब्युरो सदस्य विश्वकर्माले पार्टीको कार्यदिशा र रणनीतिको विषयमा छलफल हुने बताए । ‘अलि स्पष्ट ढंगले अघि बढौं भन्ने हाम्राे माग हो, अब फरक मत राख्दैमा साथीहरु कारवाही गर्ने भन्छन’ उनले भने, ‘ हामीले राष्ट्रिय सम्मेलनको पनि माग गरेका छौं ।’

तर, राष्ट्रिय सम्मेलन गर्ने/नगर्ने विषयमा भने संस्थापन पक्षले सहमति जनाइनसकेको उनले बताए । पार्टीको विधि विधान विपरीत चलेको भन्दै महासचिव थापालगायतका नेताले अध्यक्ष बैद्यसमक्ष चन्दमाथि कारवाही गर्नुपर्ने अडान राख्दै आएका थिए । तर, अध्यक्ष बैद्य भने तत्काल कारवाही गर्न नहुने अडानमा थिए । शनिबार पनि बैठक गर्ने/ नगर्ने विषयमा संस्थापन पक्षभित्रै निकैबेर विवाद भएको थियो ।


  •  
  •  
  •