एमाओवादीका संगठन लथालिंग

154
  •  
  •  
  •  

काठमाडौं ७ कात्तिक ।
एमाओवादीको केन्द्रीय समितिले कार्यक्रम दिन नसक्दा पार्टीका स्थानीय समितिहरू लथालिंग अवस्थामा पुगेका छन् । स्थानीय नेता/कार्यकर्ताहरू काम नपाएर पलायन हुने अवस्थामा पुगेका छन् । केन्द्रमा नेताहरू पार्टीको कामभन्दा ‘संविधान निर्माण’ को काममा लागेकाले संगठनमा ध्यान दिन भ्याएका छैनन् । संविधानसभामा नभएका नेताहरू जिल्ला दौडाहामा भए पनि बढी गुटका बैठकमा केन्दि्रत हुन्छन् । केन्द्रदेखि स्थानीय तहसम्म गुटबन्दीले भाँजो हालेको छ ।

गत निर्वाचनमा सक्रिय भएका स्थानीय समितिहरू त्यसपछि भने सक्रिय हुने वातावरण बनेको छैन । केन्द्रको कलहको रोग स्थानीय समितिलाई सरेको छ । केन्द्रमा अध्यक्ष पुष्पकमल दाहाल र नेता बाबुराम भट्टराईबीच केही समयका लागि द्वन्द्वविराम भए पनि नेता तथा कार्यकर्तालाई काम दिन उनीहरूले सकेका छैनन् ।

केन्द्रीय समिति बैठक गरी पार्टी पुनर्निर्माणको योजना बनाउने दुई नेताबीच समझदारी बने पनि उक्त बैठक सरेको सर्‍यै छ । तिहारलगत्तै बैठक गरी योजना तय गर्ने नेताहरूले दाबी छ । त्यो निश्चित हुन नसक्नुको कारण आगामी दिनमा कसरी जाने अन्योल नेताहरूमा छ । यसअघि केन्द्रीय समिति बैठक दुईपटक स्थगित भइसकेको छ । विशेष महाधिवेशन छिटो गर्ने कि नगर्ने विवाद टुंगिसकेका छैन । केन्द्रदेखि स्थानीय तहसम्मका समितिहरू लथालिंग अवस्थामा छैनन् । पार्टीका पूर्णकालीन कार्यकर्ता कोही निष्त्रिmय अवस्थामा छन् भने धेरै पलायन भइसकेका छन् ।

‘कार्यकर्ताले काम पाएका छैनन्, उनीहरू ठोस योजनको प्रतीक्षामा छन्,’ कोषाध्यक्ष हरिबोल गजुरेलको भनाइ छ, ‘स्थानीय नेता तथा कार्यकर्तामा के गर्ने भन्ने अन्योल छ, अब त्यो छिट्टै हटाउनुपर्छ ।’

दाहाल र भट्टराई पक्षका विवादका कारण देशभर प्रशिक्षण स्थगित भएका छन् । भ्रातृ संगठका राष्ट्रिय सम्मेलन हुन सकेका छैनन् । नेता तथा कार्यकर्तामा के गर्ने भन्ने चरम निराशा भएको नेताहरू स्विकार्छन् । ‘हाल सबै पार्टीका सबै कार्यक्रम स्थगित छन्,’ अर्का नेता देवेन्द्र पौडेलको भनाइ छ, ‘संगठन बिगि्रएको छ, अब सम्हाल्नुपर्छ भन्ने महसुस भएको छ ।’

गत निर्वाचनमा एमाओवादीको ठूलो पराजय भएपछि निराश भएका नेता तथा कार्यकर्तामा जागर पलाउन सकेको छैन । गत वैशाख तेस्रो साता विराटनगरको राष्ट्रिय सम्मेलनमा नेताहरूबीच चर्को विवाद भएपछि कार्यकर्तामाथि झनै निराशा थपेको थियो । जसका कारण स्थानीय तहका पूर्णकालीन कार्यकर्ता लाखापाखा लाग्न थालेका छन् । केहीले सानोतिनो व्यवसाय सुरु गरेका छन् भनेर ठूलो संख्यामा विदेश पलायन भइसकेका छन् ।

‘हाल पूर्णकालीन कार्यकर्ता कम छन्, उनीहरू पनि सानोतिनो व्यवसायमा लागेका छन्,’ पौडेलले भने, ‘कार्यकर्ता निराश हुनु भनेको पार्टीका लागि घातक हुन्छ ।’ स्थानीय तहका टाढाबाठा कार्यकर्ताहरू भने हाल पनि सर्वदलीय बैठकमा उपस्थित हुनु ठूलो कुरा ठान्छन् । त्यसबाहेक उनीहरूलाई जनताको समस्यामा खासै चासो छैन । ‘पार्टी पुनर्गठन नगरी बन्ने अवस्था छैन, नयाँ योजना र कार्यशैलीसहित अघि जानुपर्छ,’ पौडेलले भने, ‘यसबारेमा शीर्ष तहमा धेरैपटक कुरा भए पनि कार्यान्वयन हुन सकेको छैन ।’

एमाओवादीमा एउटा फरक धार छ, जसको नेतृत्व उपाध्यक्ष नारायणकाजी श्रेष्ठले गरेका छन् । दाहाल र भट्टराईका कारण पार्टी कमजोर हँुदै गएको उक्त पक्षको निष्कर्ष छ । ‘दुई नेताका स्वार्थका कारण पार्टी अकर्मण्यतामा फसेको छ,’ उक्त पक्षका एक नेताको भनाइ छ ।

विराटनगर राष्ट्रिय सम्मेलनपछि भट्टराई पक्ष केन्द्रीय समितिमा आउन निकै ढिला भयो । केन्द्रीय समितिमा आइसकेपछि पदाधिकारी, स्थायी समिति र पोलिटब्युरोमा आउन मानेनन् । जसका कारण केन्द्रीय समितिले सांगठनिक कार्यक्रम बनाउन दाहालले

चाहेनन् । एकपक्षीय ढंगले संस्थापन अघि बढेको भन्दै भट्टराई पक्षले दर्जन बढी जिल्लामा समानान्तर समिति गठन गरेको थियो । दुई नेताको सहमतिले हाल त्यो रोकिए पनि दुई पक्षका नेताहरू स्थानीय तहमा सहकार्य हुन सकेको छैन ।

पछिल्लो समय एमाओवादीले मधेसी, जनजाति दलसँग सहकार्य गरी विरोध सभा सुरु गरेपछि भने कार्यकर्ताले केही काम पाएका छन् । ‘आन्दोलनका कारण कार्यकर्तामा केही उत्साह आएको छ, तर केन्द्रबाट ठोस कार्यक्रम बनेको छैन,’ कोषाध्यक्ष गजुरेल भन्छन्, ‘तिहारपछि केन्द्रीय समिति बैठक गरी ठोस योजना गर्ने तयारी छ ।’

एमाओवादी र नेकपा-माओवादीबीच एकताको प्रयासले पनि योजना बनाउन सकेको छैन । एमाओवादी अध्यक्ष दाहाल र नेकपा-माओवादी अध्यक्ष मोहन वैद्यबीच एकताका लागि निरन्तर छलफल भइरहेकाले एउटै विशेष महाधिवेशन गर्ने प्रस्तावमा छलफल हँुदै छ । दुवै माओवादीले विशेष महाधिवेशनबाट पार्टी एकता गर्ने छलफल भए पनि टुंगो लागिसकेको छैन ।
कान्तिपुरबाट


  •  
  •  
  •