एमाओवादीको संगठनात्मक संरचना भंग हुने

36
  •  
  •  
  •  

काठमाडौं १२ भदौ ।आन्तरिक विवाद चुलिएपछि एमाओवादी तीन महिनाअघि विराटनगर सम्मेलनबाट चयन भएको केन्द्रीय समिति भंग गर्दै विशेष महाधिवेशनमा जाने सम्भावना बढेको छ। अध्यक्ष पुष्पकमल दाहाल र नेता बाबुराम भट्टराई पक्ष बीचको विवादका कारण पार्टी कमजोर बन्न थालेपछि शीर्ष नेताहरूले विशेष महाधिवेशनमा जाने मनस्थिति बनाएका हुन्।

विशेष महाधिवेशनमा जाने टुंगो लागे हालको केन्द्रीय समिति भंग गरी महाधिवेशन आयोजक समिति बन्नेछ। त्यसको टुंगो आगामी केन्द्रीय समिति बैठकले गर्नेछ। बैठक असोज १ का लागि बोलाइएको छ। आवश्यक परे केन्द्रीय परिषद् बैठकसमेत डाक्ने तयारी छ।

‘विशेष महाधिवेशनलगायत विषयमा छलफल भएको छ,’ प्रवक्ता दीनानाथ शर्माले संवाददाताहरूसँग भने, ‘आगामी केन्द्रीय समितिका कार्यसूचीबारे हाम्रो छलफल केन्द्रित हुनेछ।’ आन्तरिक विवाद समाधानका लागि अध्यक्ष दाहालले बुधबार पूर्वपोलिटब्युरो सदस्यहरूको अनौपचारिक बैठक बोलाएका थिए। उक्त बैठकमा दाहालले पार्टीभित्रको आन्तरिक एकतालाई जोड दिँदै त्यसका लागि विभिन्न विकल्पमा जान सकिने धारणा राखेका थिए। उनले विवाद समाधानका लागि विशेष महाधिवेशनमा जान सकिने/नसकिने विषयमा नेताहरूको राय मागेका छन्। उनले पार्टी नयाँ ढंगले अघि नबढे झन् समस्या बढ्दै जाने उल्लेख गर्दै त्यसका लागि आफूलगायत सबै नेताहरूको पहल आवश्यक रहेको बताएका थिए। ‘संकटका बेला निराशा आए पनि सम्हालिएर अघि बढ्नुपर्छ, पार्टी एकताका लागि सबैले छाती चौडा बनाउनुपर्छ,’ दाहाललाई उद्धृत गर्दै बैठकमा सहभागी एक नेताले भने, ‘पार्टी कार्यकर्तालाई निराश नबनाउन एकताको विकल्प छैन।’ उनले बृहत्तर पार्टी एकताका लागि लाग्न सबैलाई आग्रह गरे। आन्तरिक एकता कमजोर हुँदा पार्टीले उठाउँदै आएका मुद्दा पनि खस्किँदै गएकाले यसलाई बुझेर अघि बढ्न दाहालले आग्रह गरेका थिए।

पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकको पहिलो सत्रमा अध्यक्ष दाहाल, नेताहरू बाबुराम भट्टराई, नारायणकाजी श्रेष्ठ र पोस्टबहादुर बोगटीले बोलेका थिए। संस्थापनसँग असन्तुष्ट नेता भट्टराईले आफ्नो उद्देश्य पनि पार्टीको बृहत्तर एकता नै भएको स्पष्ट पारेका थिए। उनले पार्टी विभाजनको उद्देश्य नरहेको उल्लेख गर्दै नयाँ सोच र कार्ययोजनासहित अघि बढ्नुपर्नेमा जोड दिए। नेता श्रेष्ठले पार्टीभित्रका समस्या समाधान र नयाँ गति प्रदान गर्न ठोस योजनासहित अघि बढ्नुपर्ने बताएका थिए।

गत जेठको विराटनगर सम्मेलनकै विषयमा एमाओवादीमा अध्यक्ष दाहाल र नेता भट्टराई पक्षबीच विवाद भएको थियो। भट्टराईले पहिला पार्टीका वैचारिक विवाद टुंग्याएर त्यसपछि सांगठनिक विषयको टुंगो लगाउनुपर्ने कुरा उठाएका थिए। दाहाल वैचारिकभन्दा पनि सांगठनिक विषयको टुंगो लगाउने अडानमा रहे पनि विराटनगरमा सम्मेलन भएको थियो। विराटनगर सम्मेलनमा आफ्ना कुराको सुनुवाइ नभएको भन्दै भट्टराईले सम्मेलन नै छाडेर हिँडेका थिए। पछि भट्टराई पक्षको असहमति हुँदाहुँदै संस्थापनले स्थायी समिति चयन गरेको थियो।

संस्थापन पक्षको निर्णयप्रति असन्तुष्ट भट्टराई पक्ष हालसम्म स्थायी समिति, पोलिटब्युरो लगायत बैठकहरूमा गएको छैन। त्यसैले अध्यक्ष दाहालले बुधबारको पूर्वपोलिटब्युरोको बैठक बोलाएका हुन्। पूर्वपोलिटब्युरो भनेर बोलाएका कारण भट्टराई समूह पनि बुधबारको बैठकमा सामेल भएको हो। अन्य विकल्पबाट समस्या समाधान नहुने भएपछि विशेष महाधिवेशनको विकल्पमाथि बहस प्रारम्भ भएको हो। ‘हामीले विराटनगर सम्मेलन नै नगरौं, त्यहाँबाट पार्टीभित्रको गाँठो फुक्दैन भनेका थियौं,’ भट्टराई पक्षका नेता गंगा श्रेष्ठले भने, ‘सम्मेलनबाट यहाँसम्म आइसक्दा झन् समस्या बढेका छन्, त्यसैले अब कुनै समाधान दिन नसक्ने केन्द्रीय समिति विघटन गरेर विशेष महाधिवेशन आयोजक समिति बनाउने कुरामा नेताहरू सकारात्मक हुनुभएको हो।’
कान्तिपुरबाट


  •  
  •  
  •