सरकारको शैलीप्रति एमाओवादीमा आक्रोश

128
  •  
  •  
  •  

काठमाडौं १० फागुन ।
सत्तारूढ एमाओवादीभित्र सरकारको कार्यशैलीलाई लिएर तीव्र आलोचना सुरु भएको छ । शुक्रबारदेखि राजधानीमा सुरु पार्टी स्थायी समिति बैठकमा अधिकांश सदस्यले सरकारको समग्र कार्यशैली, सत्ता साझेदार दलहरूसँग सरकारको सम्बन्ध र आफ्नो दलबाट गएका मन्त्रीको भूमिकाबारे आलोचना गरेका हुन् ।

एमाओवादी अध्यक्ष पुष्पकमल दाहालको लाजिम्पाट निवासमा आइतबार पनि बसेको स्थायी समिति बैठकमा सरकारको समग्र ‘पर्फर्मेन्स’ प्रति पार्टीभित्र असन्तुष्टि व्यक्त भएको उपाध्यक्ष नारायणकाजी श्रेष्ठले खुलाए । ‘सत्ता–सहकार्य गर्ने दलसँग सरकारको व्यवहारप्रति त हाम्रो असन्तुष्टि छ नै,’ उपाध्यक्ष श्रेष्ठले भने, ‘सरकारमा प्रतिनिधित्व गर्ने हाम्रै साथीहरूको प्रस्तुतिबारे पनि सन्तुष्ट छैनौं । बैठकमा यसबारे छलफल भइरहेको छ, भोलि पनि हुन्छ ।’

उपप्रधानमन्त्रीसमेत रहेका पार्टी सचिव टोपबहादुर रायमाझीले काम गर्दै जाने क्रममा त्रुटिहरू हुन सक्ने भन्दै अहिल्यै सम्पूर्ण समीक्षा गर्ने बेला भइनसकेको जवाफ दिएका थिए । ‘हामीलाई पार्टीले छानेर पठाएको हो, केही कमजोरी या राम्रो काम भएको भए पार्टीले नै मूल्यांकन गर्न सक्छ,’ रायमाझीलाई उद्धृत गर्दै बैठक स्रोतले भन्यो, ‘तर अहिल्यै सबैथोक बिग्रियो भनेर मूल्यांकन गरियो भने त्यो समग्र र न्यायोचित विश्लेषण हुँदैन ।’ सोमबार पनि स्थायी समिति बस्ने भएकाले अध्यक्ष दाहालले यसबारे अन्तिममा आफ्नो धारणा राख्नेछन् ।

एमाओवादी स्थायी समिति बैठकमा संविधान निर्माणपछि आन्तरिक संगठनको पछिल्लो स्थितिबारे समेत रिपोर्टसहित सातै संघीय प्रदेशका इन्चार्जसमेत थपिएका छन् । प्रदेश इन्चार्जहरूले आ–आफ्नो क्षेत्रको विवरण पेस गर्दै संगठनमा शिथिलता देखिएको बताए । कतिपय कार्यकर्ता पलायन हुन थालेको भन्दै नेतृत्वले पुनर्ताजगी कार्यक्रम दिनुपर्ने उनीहरूलाई उद्धृत गर्दै बैठक स्रोतले भन्यो ।

‘संविधान निर्माणपछि राजनीतिक माहोल सकारात्मक बन्दै छ भन्ने रिपोर्ट प्रदेशहरूबाट आएको छ, तर सरकारले जनअपेक्षाअनुरूप काम गर्न नसकेको गुनासो पनि छ,’ वनमन्त्रीसमेत रहेका नेता अग्निप्रसाद सापकोटाले बैठकपछि भने, ‘संगठनका लागि थप काम गर्ने बैठकले छलफल गरेको छ ।’

बैठकमा स्कुल विभाग प्रमुख विश्वभक्त दुलाल आहुति, सम्पादक मण्डल संयोजक गोपाल किराती र उत्पादन विभाग प्रमुख लोकेन्द्र विष्टमगरले आ–आफ्नो विभागको प्रगति विवरण पेस गरेका थिए । राजनीतिक र वैचारिक कामलाई गति दिने, संविधानका प्रगतिशील अन्तर्वस्तु बोकेर ग्रामीण भेकमा जाने स्थायी समितिको ठहर छ । आन्तरिक असन्तुष्टि व्यवस्थापन गर्दै संगठन निर्माणमा लाग्ने आइतबारको बैठकमा नेताहरूले बताए । ‘सरकारमा नगएका साथीहरूले केही काम भएन भनिरहनुभएको छ, सरकारमा भएका साथीहरूले कोसिस गर्दै छौं भन्नुभयो,’ स्कुल विभाग प्रमुख दुलालले ठटयौलीमा भने, ‘प्रदेश इन्चार्ज साथीहरूमा भने अब बल्ल पार्टी बन्न सुरु भयो भन्ने सन्देश गएको छ । मुख्य कुरा वैचारिक कामलाई व्यवस्थित गर्ने भन्ने हो । त्यसमा भोलि पनि छलफल हुन्छ ।’
कान्तिपुरबाट


  •  
  •  
  •