काठमाडौं ७ असोज ।
संविधानलाई लिएर तराई–मधेसमा चर्केको आन्दोलनलाई सम्बोधन गर्न प्रमुख तीन दलले पहलकदमी नलिएको र अध्यक्ष पुष्पकमल दाहालले समेत बेवास्ता गरेको भन्दै एमाओवादीभित्र असन्तुष्टि चर्केको छ । एमाओवादी वरिष्ठ नेता बाबुराम भट्टराई, उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, मधेसी–थारू सभासद तथा नेताहरू असन्तुष्ट बनेका हुन् ।
वरिष्ठ नेता भट्टराईले बुधबार बानेश्वरमा बुद्धिजीवी, पेसाकर्मीको अनौपचारिक भेला गरी तराई–मधेसको मुद्दा सम्बोधन गर्न प्रमुख दलको गम्भीर ध्यानाकर्षण गराउँदै विज्ञप्तिसमेत जारी गराए । भेलामा एमाओवादीका उपाध्यक्ष श्रेष्ठ, नेताहरू रामचन्द्र झा, गंगा श्रेष्ठलगायतको समेत उपस्थिति थियो । भेलाले संविधान सबैका लागि स्वीकार्य बनाउनुपर्ने माग गर्दै विज्ञप्ति जारी गरेको छ ।
भट्टराईले पार्टीका मधेसी–थारू सभासद र नेतालाई पनि आन्दोलनमा सहभागिता जनाउन निर्देशन दिएका छन् । तर अहिले आन्दोलनरत दलसँगै मिसिएर आन्दोलन गर्ने कि फरक ढंगले गर्ने भन्ने तय भइसकेको छैन । झा, प्रभु साह, रामकुमार शर्मालगायत नेता आन्दोलनको वातावरण बनाउन तराई क्षेत्रमा बिहीबारैदेखि खटिने भएका छन् ।
नेता भट्टराई स्वयं शुक्रबार जनकपुर जाने तयारीमा छन् । उनी शनिबार फर्कनेछन् । उनले आन्दोलनरत मधेसी दलका नेतालाई समेत भेटी समस्या समाधानबारे छलफल गर्नेछन् । भट्टराईको भ्रमणको व्यवस्था मिलाउन पोलिटब्युरो सदस्य झा बिहीबारै जनकपुर जाने भएका छन् । भट्टराईको यसबीच आन्दोलनरत मधेसी दलका नेतासँग निरन्तर टेलिफोन संवाद भइरहेको छ । भट्टराईले बुधबारै संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवसँग समेत छलफल गरे ।
मधेसको मुद्दालाई लिएर छिमेकी भारतले समेत गम्भीर चासो व्यक्त गर्दै नाकाबन्दीसम्म गर्न सक्ने आशयको विज्ञप्ति जारी गरेपछि आन्दोलनको स्वरूप झनै कडा बन्ने भएकाले छिट्टै वार्तामार्फत समस्या समाधान गर्न एमाओवादीको एउटा तप्काले नेतृत्वलाई दबाब दिने भएको हो । त्यसका लागि मधेसका मुद्दामा आन्दोलनमै उत्रिने तयारी उनीहरूले थालेका हुन् । एमाओवादीका जनजाति सभासद पनि असन्तुष्ट छन् । मगर, गुरुङ बहुल क्षेत्रलाई तीनवटा प्रदेशमा विभाजित गरिएकामा उनीहरू असन्तुष्ट बनेका हुन् ।
यसैबीच एमाओवादीको पदाधिकारी बैठकले आगामी असोज १० गतेका लागि केन्द्रीय कमिटीको बैठक बोलाएको छ । बैठकमा सल्लाहकारहरू पनि सहभागी हुनेछन् । संविधान निर्माण प्रक्रिया र संविधान जारी भएपछिका घटनाक्रमबारे बैठकमा छलफल हुने प्रवक्ता दीनानाथ शर्माले जानकारी दिए । शर्माका अनुसार संविधान जारी भएकोमा पार्टीका तर्फबाट स्वागत गर्दै औपचारिक वक्तव्य जारी गर्ने निर्णय भएको छ । विभिन्न आन्दोलनमा उठेका मुद्दा के कति संविधानमा सुनिश्चित भए र पार्टीका फरक मत के हुन् भनेर एउटा पुस्तिकासमेत निकाल्ने निर्णय भएको छ ।
‘संविधानसभाबाट संविधान बन्न नदिने र प्राप्त उपलब्धि समाप्त गर्ने कुनै पनि शक्ति, प्रवृत्ति र षड्यन्त्रसँग सम्झौता नगर्ने दृढताका साथ सबै प्रकारका चुनौतीलाई चिर्दै संविधान निर्माण प्रक्रियालाई घोषणाको यो विन्दुसम्म पुर्याउन नेतृत्वदायी भूमिका खेल्ने हाम्रो पार्टी सम्पूर्ण नेपाली जनता र नेपालको हित चाहने सबैका लागि यो हर्ष र प्रसन्नताको विषय हो,’ पदाधिकारी बैठकको निर्णयअनुरूप संविधानको स्वागतमा अध्यक्ष दाहालले बुधबार जारी गरेको वक्तव्यमा छ ।
कान्तिपुरबाट