काठमाडौं २१ भदौ (ओएनएस) : आन्दोलनरत पक्षमा माग सम्वोधन गर्न एकीकृत नेकपा माओवादीले अग्रसरता लिने भएको छ । समयमा नै संविधान जारी गर्नुपर्ने निस्कर्ष सहित एमाओवादीले असन्तुष्ट पक्षका माग सम्वोधन गर्न नयाँ बाटो खोज्ने निणर्य गरेको छ । आज बसेको संसदीय बोर्डको बैठकले भदौ भित्रै नै संविधान जारी गर्नु पर्ने निर्णय गरेको हो ।
सम्भव भए संविधान विधेयकमाथि परेको संसोधन प्रस्तावबाट र सम्भव नभएपछि संसदबाट समस्या समाधान गर्न सकिने एमाओवादीले निस्कर्ष निकालेको प्रमुख सचेतक गिरीराजमणी पोखरेलले जानकारी दिए ।
अहिले संशोधन प्रस्ताव दर्ता गराएका मध्ये उचित प्रस्तावलाई पारित गराउनेमा एमाओवादी सकारात्मक रहेको उनले बताए । आजैबाट पहल थाल्ने पनि पोखरेलको भनाई छ । सहमतिको प्रयास गर्ने जिम्मा तीन नेतालाई दिइएको छ ।